२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रुपन्देहीका १२ ट्राभल एजेन्सी कारबाहीमा

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार ४ गते २२:२१
रुपन्देहीका १२ ट्राभल एजेन्सी कारबाहीमा

रुपन्देही : रुपन्देहीको सीमा क्षेत्रमा दर्ताबिना नै सञ्चालनमा रहेका ट्राभल एजेन्सीहरुलाई कारबाही गरिएको छ । जिल्ला अनुगमन समितिले जरिवानासहित कारबाही अगाडि बढाएको हो । समितिले कारबाही शुरु गरेपछि अहिले एजेन्सीहरु धमाधम दर्ता प्रक्रियामा जान थालेका छन् । 

सिद्धार्थनगर नगरपालिका–१, बेलहियामा ३  र  बुटवल ९ इँटाभट्टिमा नौ वटा ट्राभल, इजाजतपत्र विना सञ्चालनमा रहेका तीनवटा ट्राभल एजेन्सीलाई कारबाही गरेपछि अन्य एजेन्सीहरु कानूनी प्रक्रियामा आएको  पर्यटन डिभिजन कार्यालय भैरहवाका प्रमुख उपसचिव गिता आचार्यले जानकारी दिइन् । 

रुपन्देहीको सिद्धार्थनगर लगायत विभिन्न ठाउँहरुमा रहेका ट्राभलहरुको अनुगमन गरेको समितिले कुनै पनि सरकारी निकायबाट दर्ता इजाजतपत्र नलिइ बेलहियामा सञ्चालनमा रहेको ग्रिन ल्याण्ड टुर्स प्रा.लि, सी एण्ड के ट्राभल र ओम ट्रयूली नेपाल ट्राभल्स एण्ड टुर्ससहित १२ वटालाई  जरिवानासहित कारबाही गरेपछि अन्य प्रक्रिया पूरा नगरेका ट्राभलहरु धमाधम प्रक्रियामा जान शुरु गरेका हुन् । कारबाहीमा परेका १२ वटै ट्राभल एजेन्सीलाई कारबाही स्वरुप जनही २० हजारका दरले  २ लाख ४० रुपैयाँ जरिवाना अनुगमनका बेला तिराएपछि अहिले अन्य ट्राभलहरु सचेत भएको उपसचिव आचार्यको भनाइ छ ।

प्रदेश पर्यटन ऐन, २०७६ तथा नियमावली, २०७९ को परिच्छेद ३ को दफा ११ मा ट्राभल एजेन्सी वा ट्रेकिङ एजेन्सी खोल्नुपूर्व अनुमती लिनपर्ने व्यवस्था रहेकोमा केही कम्पनीले आफुखुसी दर्ता बिना सञ्चालन भएको भेटिएको र अनुमती बिना नै सञ्चालनमा ल्याए २० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था अनुसार नगद जरिवाना गरिएको उपसचिव गिता  आचर्यले दावी गरिन्  । 

आचर्यले भनिन्, ‘अहिले हामिले अनुगमनसँगै दर्ताविना नै सञ्चालनमा रहेका ट्राभल एजेन्सीलाई जरिवानासहित कारबाही गर्ने प्रकिया अगाडि बढाएका छौं ।’ अझैँ अटेर गरेमा नियम कानून अनुसार उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ट) ले जिल्ला प्रशासनलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था गरेको उनले उल्लेख गरिन् ।

कार्यालय प्रमुख आचार्यका अनुसार अहिले बजारमा आर्थिक शिथिलता देखिएको र व्यवसायी समस्या परेकाले उपभोक्ता हित संरक्षण ऐनअनुसार कारबाही नगरी प्रदेश पर्यटन ऐन अनुसार जरिवाना गरिएको छ । ‘हामीले तीनवटा ट्राभललाई तत्काल बन्द गर्न लगाइ सबै निकायबाट इजाजत लिएपछि मात्रै सञ्चालन गर्न निर्देशन गरेका छौं’, आचर्यले  भनिन्,  ‘दर्ता भए÷भएनन् भन्नेबारे पुनः अनुगमन गर्नेछौं ।’

उनका अनुसार सीमा क्षेत्रमा ट्राभल खोल्ने तर सरकारी निकायबाट इजाजत नलिने गरेकाबारे गुनासाहरु आएका थिए । 

आचार्यले भनिन्,‘त्यस्ता ट्राभलले एकातर्फ दर्ताविनै काम गर्दा जिम्मेवारीलाई ध्यान दिँदैनन्, भने पर्यटक लगायत अन्य व्यक्ति ठग्न सक्छन्, यसैले हामीले अनुगमनलाई कडाई गरेका छौं ।’ उनले दर्ता तथा नविकरण गरेर कानूनको अधिनमा रही व्यवसाय गर्ने सबैलाई सरकारले संरक्षण गर्ने तर गैरकानूनी तरिकाबाट सञ्चालितलाई कारबाही गरिने जनाइन् ।

पर्यटन डिभिजन कार्यालय भैरहवाले रुपन्देही पाल्पा गुल्मी कपिलवस्तु अर्घाखाँची लगायतका धेरै जिल्लामा विभिन्न खालका सीपमूलक आयआर्जन मूलक आत्मनिर्भर बनाउने, बेरोजगारी समस्या समाधान गर्ने र खास गरी पर्यटनको क्षेत्रमा महत्वपूर्ण मानिने र पर्यटकहरु जिल्लाहरुमा भित्र्याउने  खालका कार्यक्रमहरु गर्दै आएको छ । उपसचिव आचार्यले  सबै जिल्लामा आफँै पुगेर अनुगमन गर्ने, सीप सिकेका कुरालाई व्यवहारमा उतार्न प्रोत्साहन गर्ने खालका कामहरु गर्दै आएको बताइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise