सिरहा : जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको सखुवानन्कारकटी गाउँपालिका वडा नं.१ कटैयामा आफ्नो आधारभूत संगठन निर्माण अभियान शुरु गरेको छ । पार्टीको संगठन सुदृढीकरण र जनतालाई पार्टीसँग जोड्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा सांसद् राजकुमार गुप्ता, केन्द्रीय अभियन्ता र प्रदेश सांसद ललिता दास र प्रदेश सदस्य दीपेश यादवले गरेका थिए । कार्यक्रममा स्थानीय कार्यकर्ताहरू, जसपा समर्थक र सर्वसाधारण जनताले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।
कार्यक्रमको दौरान, प्रमुख वक्ताहरूले जसपा नेपालको राजनीतिक दृष्टिकोण, जनताको हक अधिकारको संरक्षण र स्थानीय विकासका मुद्दामा व्यापक छलफल गरेका थिए । सांसद राजकुमार गुप्ताले जसपा नेपालको समृद्ध र समान समाज निर्माणको दृष्टिकोण साझा गर्दै जनताको हक र अधिकार सुनिश्चित गर्न पार्टीको प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश सांसद ललिता दासले जसपा नेपालको संगठन सुदृढीकरण अभियानलाई अझ प्रभावकारी बनाउने कुरामा जोड दिँदै स्थानीय जनतालाई पार्टीका उद्देश्य र कार्य योजनामा सहभागी गराउने बताए । प्रदेश सदस्य दीपेश यादवले स्थानीय विकास र समृद्धिका लागि जसपाको भूमिका र नेतृत्व आवश्यक रहेको बताए ।
कार्यक्रममा जसपाले आफ्नो संगठनलाई स्थायीत्वका आधारमा विस्तार गर्ने र आगामी दिनमा जनतालाई पार्टीसँग जोड्न नयाँ रणनीति अपनाउने घोषणा गरिएको थियो । जसपाको आधारभूत संगठन निर्माण अभियानले स्थानीय तहदेखि केन्द्रीय तहसम्म पार्टीको प्रभाव र पहुँचलाई मजबुद बनाउने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रमको समापनपछि, स्थानीय नेताहरूले आगामी दिनमा पार्टीका उद्देश्यलाई जनतासम्म पुर्याउने र पार्टीको सन्देशलाई जनमानसमा फैलाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । जसपा नेपालले सिरहा क्षेत्रको विकास र समृद्धिका लागि स्थानीय जनतासँगको साझेदारीलाई अझ प्रगाढ बनाउने उद्देश्य लिएको छ ।