२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

किसानलाई दुधको भुक्तानी तत्काल दिन सांसदहरुको माग

ADV
मध्यान्ह
२०८१ असार ५ गते १४:५०
किसानलाई दुधको भुक्तानी तत्काल दिन सांसदहरुको माग

काठमाडौँ : प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानलाई दुधको भुक्तानी तत्काल दिन माग गरेका छन् । किसानका  समस्या सरकारले तत्काल वार्तामार्फत सम्बोधन गर्नुपर्ने उनले उल्लेख गरे । 

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले किसानले दुधको भुक्तानीको माग गर्दै आन्दोलन गरेको लामो समय भएकाले सरकारले तत्काल समस्या समाधान गर्नुपर्नेमा जोड दिए । धर्नामा बसेका ४५ किसानलाई पक्राउ गर्नु दुःखद भएको उनको भनाइ थियो ।

“किसानको माग न्यायोचित छ, ६ लाख किसानले करिब रु ६ अर्ब भुक्तानी पाउन बाँकी छ”, प्रमुख सचेतक बर्तौलाले भने– “किसानले बैँकबाट ऋण लिएका छन्, तिर्ने अवस्था छैन ।” उनले किसानको समस्याको विषयमा कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै दुधको भुक्तानीको बक्यौता अविलम्ब उपलब्ध गराउनुपर्नेमा जोड दिए । 

नेपाली कांग्रेसकी सांसद नागिना यादवले किसानको जीविकोपार्जनको मुख्य आधार कृषि भएकाले किसानको जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन् । “आन्दोलनरत किसानको माग तत्काल सम्बोधन गर्नुपर्छ”, उनले भनिन्  । 

नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणी चौधरीले कानुनसम्मत् दर्ता भएका क्रसर र खानी उद्योगको नवीकरण गर्नुपर्ने बताए  । क्रसर व्यवसायीबाट रु ६ अर्ब राजस्व प्राप्त भइरहेको उनको भनाइ थियो । 

स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले आन्दोलनरत कवाड व्यवसायीमाथि लाठीचार्ज हुनु दुःखद भएको बताए । आन्दोलनका क्रममा घाइते भएकाको उपचार निःशुल्क गर्न उनले माग गरे ।

नेकपा (एमाले) का सांसद एकनाथ ढकालले गोरखाको  भिमसेन थापा गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी जोड्ने झोलुङ्गे पुल हालसम्म मर्मत हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।   

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले शान्तिपूर्ण आन्दोलनमा रहेका कवाड व्यवसायीमाथि लाठीप्रहारको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए । 

नेकपा (एमाले) का सांसद मानवीर राईले लामो  समयदेखि लुक्लास्थित तेन्जीङ हिलारी विमानस्थल अवरुद्ध हुँदा पर्यटकले सास्ती खेप्नुपरेको उल्लेख गरे । उक्त विमानस्थलसँगै सडकसमेत अवरुद्ध हुँदा बिरामीलाई समस्या भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise