२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

‘एक पालिका, एक खेल मैदान’ योजनामै सीमित

ADV
रासस
२०८१ मंसिर ६ गते १०:४६
‘एक पालिका, एक खेल मैदान’ योजनामै सीमित

बागलुङ : बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन ।

स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को अवधारणा ल्याए पनि कार्यान्वयन भएको छैन । खेलाडी पूर्वाधारबिना खेल खेल्न बाध्य छन् ।

बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनेको एक दशक बित्न लागेको छ । तर यहाँ तारबार मात्र हालेको छ । नगरपालिका र संघीय संरकारले बिनियोजन गरेको आठ करोड बजेट फिर्ता गएको छ ।

यस्तै बागलुङ नगरपालिका–९ स्थित तित्याङको आलेखर्क खेल मैदान पनि डिपिआरमै सिमिति भएको छ । बागलुङका अन्य स्थानीय तहले अघि सारेका खेल पूर्वाधार पनि बन्न सकेका छैनन् । तमान रंगशाला र काठेखोला गाउँपालिकाको रेशको खेल मैदान निर्माणले पनि गति लिन सकेको छैन ।

रंगशालाको डिपिआर स्थानीय तहको सहयोगमा तयार भए पनि खेल मैदान बन्न नसकेको बागलुङ–९ तित्याङका वडाध्यक्ष राजु थापाले बताए ।

बागलुङमा वषौँदेखि बजेट अभावमा खेल मैदान बन्न नसकेका खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । बाङ्गेचौर खेल मैदानमा रहेका सल्लाका बोट हटाउन नसक्दा बजेट फ्रिज भएको छ ।

‘खेल क्षेत्रमा राज्यले लगानी बढाउन सकेको छैन, खेलकुद गतिविधि ठप्प जस्तै छन्’, उनले भने, ‘बाङ्गेचौर खेलमैदान बनाउन ३० करोड लाग्ने गरी डिपिआर बनाइएको थियो, अहिले लागत बढेर ५० करोड पुगेको छ ।’

बागलुङ-९ तित्याङमा बजेट अभावले मैदान बनाउन नसकेको वडाध्यक्ष राजु थापाले बताए । बागलुङ बजारबाट नजिकै रहेको तित्याङस्थित आलेखर्क खेल मैदानलाई विस्तार गरी बाङ्गेचौर खेल मैदानको विकल्पका रुपमा अगाडि बढाइएको हो ।

झण्डै २० रोपनी जग्गामा फैलिएको आलेखर्क खेल मैदानलाई बहुउदेश्यीय रङ्गशाला निर्माण गर्न  सकिने भएपनि बजेट अभावले रोकिएको छ । यसमा झण्डै ६ करोड खर्च लाग्ने देखिन्छ ।

तमानखोला गाउँपालिकाले तमानगाउँमा निर्माण गर्ने रङ्गाशाला समेत अधुरै छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेको छ । त्यो पर्याप्त नहुँदा संघीय र प्रदेश सरकारको मुख ताक्नुपरेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । ‘पालिकाको बजेटले रंगशाला बनाउन असम्भव छ’, उनले भने, ‘यसका लागि कम्तिमा रु १० करोड बजेट चाहिन्छ ।’

ADVADV

सम्बन्धित खबर

Advertise