२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

मनसुनजन्य घटनाका समयमा समन्वय र सहकार्य गरी काम गर्नुस् : मन्त्री शर्मा

Nada
२०८१ असार ५ गते १६:५२
Shares
मनसुनजन्य घटनाका समयमा समन्वय र सहकार्य गरी काम गर्नुस् : मन्त्री शर्मा

काठमाडौं :  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी मनसुनजन्य घटना बाढीपहिरो, डुवान र चट्याङबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न मातहतका निकायलाई सम्पर्क, समन्वय र सहकार्य गरी कार्य गर्न निर्देशन दिएकी छन् । मनसुनजन्य घटनाबाट हुनसक्ने जनधनको क्षतिबाट जोगिन र समयमै जनचेतना प्रदान गर्न मातहतका निकायबाट भइरहेका आवश्यक पूर्वतयारीबारे जानकारी लिँदै उनले विपद्का समयमा तत्काल सम्पर्क गर्ने र सूचना प्रवाह गर्ने कार्यलाई प्रभावकारी तुल्याउन सुझाव दिइन् ।

ncell

मन्त्री शर्माले भनिन्, “मनसुनको पूर्वसूचना दिने, विपद्का  घटनाको तत्काल सही सूचना प्रवाह गरी राहत र उद्धार कार्यमा सबैको सहयोग र समन्वय हुन आवश्यक छ ।” कल्पना नै नगरेको ठाउँमा बाढीपहिरो र डुवानका घटना भएका प्रशस्त उदाहरण रहेकाले राहत र उद्धारका लागि गर्नुपर्ने पूर्व तयारीको पाटोलाई विशेष ध्यान दिन सुझाव दिँदै मन्त्री शर्माले वर्षातकाकरण अवरुद्ध हुनसक्ने सञ्चार सम्पर्कलाई नियमित तुल्याउनेतर्फ प्रभावकारी तयारी व्यवस्थापनको खाँचो औँल्याइन् ।

विपद्जन्य घटनाकारण इन्टरनेट सेवा प्रवाह र दूरसञ्चार सेवामा प्रवाहमा पर्न क्षतिको आँकलन गरी तत्काल सुचारु तुल्याउने समयन्त्र निर्माण गर्न सुझाव दिँदै उनले पूर्व सूचना संकलन र विपद्बाट बच्न अपनाउनुपर्ने सचेतना समयमै प्रवाह गर्न सुझाव दिइन् ।

यसअघि मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले मन्त्रालय र मातहतका निकायले आगामी मनसुनजन्य घटनाका सम्बन्धमा आ–आफना मन्त्रालयबाट भएका तयारी र आगामी दिनको रणनीतिबारे जानकारी लिन कार्यक्रम आयोजना गरिएको बताए ।

सो अवसरमा विज्ञापन बोर्ड अध्यक्ष लक्ष्मण हुमागाईं, नेपाल टेलिभिजनका अध्यक्ष समीरजङग शाह, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, नेपाल टेलिकमका उपमहाप्रबन्धक संगीता पहाडी अर्यालले आ–आफ्ना संस्थाबाट मनसुनजन्य घटनामा हुने जनधनको क्षति न्यूनीकरण र सेवा प्रवाहको निरन्तरताका लागि चाल्नुपर्ने कदम र कार्यक्रमबारे जानकारी गराए ।

ताजा खबर

सम्बन्धित खबर