काठमाडौं : कांग्रेस र एमालेको सरकार बनेपछि देश नै प्रदर्शनमय बनेको छ । हरेक दिन कुनै न कुनै प्रकारको प्रदर्शन भइरहेको छ ।
सरकारको नेतृत्व गरिरहेको एमालेले शुक्रबार काठमाडौंमा जागरणसभा गर्दै छ । यो सभामा १ लाख जनता उतार्ने एमालेको तयारी छ । जनसभाबाट एमालेको वास्तविक शक्ति देखाइने नेताहरू बताउँछन् । प्रधानमन्त्रीविरुद्ध भइरहेको प्रदर्शनकै प्रतिवाद गर्ने योजनाअन्तर्गत एमालेले जागरण सभा गर्न लागेको हो ।
सडक प्रदर्शनमा एमाले एक्लै भने छैन । विपक्षी दल पनि सरकारविरुद्ध सडकमै छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्ना सभापति रवि लामिछानेविरुद्ध गत २ कात्तिकदेखि चरणबद्ध आन्दोलनमा छ ।
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले १० कात्तिकमा काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गरेको थियो । विपक्षमा रहेका दलहरू मात्र होइन, विभिन्न पक्ष पनि सडक प्रदर्शनमा छन् ।
विपक्षी दलहरू सडकबाट सरकारलाई कस्ने उपक्रम गरिरहेका बेला सडकमा एकपछि अर्को प्रदर्शन भइरहेको छ ।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको ठूलो लगानी रहेको भन्ने विवादास्पद भिडियो सामग्री प्रसारण गर्ने व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेपछि उनका समर्थकहरू पनि प्रदर्शनमा उत्रिएका छन् । उनीहरू काठमाडौं केन्द्रित आन्दोलनको तयारीमा पनि छन् ।
‘निर्णायक आन्दोलन’ भन्दै सहकारीपीडितहरू सडकमा उत्रिएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा उनीहरू सडकमा उत्रिएका हुन् । पीडितहरूले आफूसँग सरकारले गरेका सहमति कार्यान्वयन गर्न माग गरिरहेका छन् । उनीहरूले माग पूरा नभएसम्म सडक आन्दोलन जारी रहने बताएका छन् ।
काठमाडौंका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै प्रदर्शन भएको छ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समिति प्रदर्शनमा उत्रिएको हो ।
३ पुस २०८० मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बाग्मती, विष्णुमतीलगायत उपत्यकाका ठूला नदी तथा खोलाहरूमा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो । २०६५ सालमा सरकारले बाग्मती, विष्णुमतीसहित ठूला नदीहरूमा २० मिटर क्षेत्र छाड्नुपर्ने निर्णय गरेको थियो । पहिले २० मिटर छाड्नुपर्ने भनिएकामा खोलामा थप २० मिटर छाड्न सर्वोच्चले दिएको आदेश कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको थियो । महानगरको यो निर्णय कार्यान्वयन गर्दा उठिबास हुने भन्दै प्रदर्शन भइरहेको छ ।
मकवानपुरको सिस्नेरीमा गएको पहिरोमा मृत्यु भएका खेलाडीका आफन्त पनि अखिल नेपाल फुटबल फुटबल संघ (एन्फा)विरुद्ध प्रदर्शनमा छ ।
गत १२ असोजमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा गएको पहिरोमा वात्सल्यदेवी स्कुलमा रहेको एन्फा सिस्नेरी एकेडेमीमा रहेका ६ किशोर खेलाडीको मृत्यु भएको थियो ।
आज ३ स्थानमा प्रदर्शन
सरकारको नेतृत्व गरिरहेको एमालेसहित विभिन्न पक्षले शुक्रबार प्रदर्शनमा उत्रिँदै छ । शुक्रवार ३ पक्षले फरकफरक ठाउँमा एकै समयमा प्रदर्शनको तयारी गरेका हुन् ।
एमालेको प्रदर्शन दरबारमार्गमा हुँदै छ । बिहान ११ बजे एमालेको प्रदर्शन विभिन्न ठाउँबाट सुरु भएर दरबारमार्ग पुग्ने छ ।
सहकारी रकम हिनामिनाबाट पीडित भएकाहरू सोही समयमा माइतीघरमा प्रदर्शन जारी राख्ने छन् । यस्तै, दुर्गा प्रसाईंका समर्थकहरूले पनि शुक्रबार काठमाडौंको कोटेश्वरमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।