
रौतहट : रौतहटमा ७६औँ शहादत दिवस विशेष कार्यक्रमका साथ मनाइयो, गौर गोलीकाण्डका अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण
रौतहट : क्रूर राणाशासनविरुद्ध २००७ सालमा भएको ऐतिहासिक प्रजातान्त्रिक जनआन्दोलनका क्रममा रौतहटको गौरमा वीरगति प्राप्त गरेका अमर सहिदहरूको ७६औँ स्मृति तथा शहादत दिवस बिहीबार विविध कार्यक्रमका साथ भावपूर्ण रूपमा मनाइएको छ ।
शहादत दिवस समारोह समिति र सहिद समिति गौरको संयुक्त आयोजनामा तत्कालीन माल अड्डा परिसर (हाल रौतहट जिल्ला अदालतको प्राङ्गणस्थित सहिद स्थल) मा विशेष श्रद्धाञ्जली सभा तथा माल्यार्पण कार्यक्रम सम्पन्न भएको हो ।
२००७ साल मङ्सिर ३ गते (तदनुसार सन् १९५० नोभेम्बर १८) शान्तिपूर्ण जुलुसमाथि तत्कालीन राणाशासनका सैनिक कमान्डर गगनशमशेरको आदेशमा अन्धाधुन्ध गोली प्रहार हुँदा शहादत प्राप्त गरेका सहिद शिवप्रसाद कुँवर, नन्दु शाह, रति गिरीलगायत नाम नखुलेका ज्ञात–अज्ञात असङ्ख्य अमर सहिदहरूको स्मरणमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

बिहीबार बिहान ११ बजेदेखि सुरु भएको स्मृति सभामा सहभागीहरूले सहिदहरूको तस्बिर तथा सहिद स्थलमा पुष्पगुच्छा र माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै, दिवङ्गत सहिदहरूको सम्झनामा मौन धारणसमेत गरिएको थियो ।
कार्यक्रमका संरक्षक राजदेवप्रसाद चौधरीको विशेष उपस्थितिमा तथा शहादत दिवस समारोह समितिको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू अनिलकुमार सिंह, बाबुलाल साह, रामनारायण सिंह, पूर्वमाननीय बबन सिंहलगायत स्थानीय बुद्धिजीवी, नागरिक समाजका अगुवा, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
समारोहमा वक्ताहरूले गौर गोलीकाण्डको ऐतिहासिक महत्त्व र त्यस घटनाले निम्त्याएको मानवीय क्षतिको स्मरण गरेका थिए । सन् १९१९ अप्रिल १३ मा भारतको पञ्जाबस्थित जलियाँवाला बागमा भएको नरसंहारजस्तै नेपालको २००७ सालको प्रजातान्त्रिक आन्दोलनका क्रममा रौतहटको गौरस्थित तत्कालीन माल अड्डा परिसरमा पनि दर्दनाक घटना घटेको उनीहरूले उल्लेख गरे ।

प्रजातन्त्र प्राप्तिका लागि निस्किएको निहत्था तथा शान्तिपूर्ण जुलुसमाथि तत्कालीन शासकको आदेशमा गोली चलाइँदा अदालत परिसरमा दर्जनौँ देशभक्त नागरिकले ज्यान गुमाउनुपरेको थियो । त्यस समयमा सञ्चार तथा सूचनाको पहुँच सीमित रहेकाले रातभर खुला आकाशमुनि अलपत्र अवस्थामा रहेका सहिदका पार्थिव शरीरको पहिचानसमेत हुन नसकेको कारुणिक इतिहास वक्ताहरूले स्मरण गराएका थिए ।
समारोहमा मन्तव्य राख्ने नेता तथा सामाजिक व्यक्तित्वहरूले सहिदहरूको बलिदानले गौरको ऐतिहासिक भूमिलाई सधैँ गौरवान्वित बनाएको बताए । उनीहरूले अमर सहिदहरूले देखेको समतामूलक, लोकतान्त्रिक र समृद्ध समाज निर्माणको सपना साकार पार्न सबै राजनीतिक दल, नागरिक समाज तथा आम नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।