२०८३ मंसिर ३ गते बिहिवार / Nov 19 , 2026 , Thursday
२०८३ मंसिर ३ गते बिहिवार

नेपाल-भारत हवाई सहकार्य विस्तारबारे नयाँदिल्लीमा छलफल

Nada
२०८३ मंसिर ३ गते १३:२५
Shares
नेपाल-भारत हवाई सहकार्य विस्तारबारे नयाँदिल्लीमा छलफल

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल ‘गनेस’ र भारतका केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडु किन्जारापुबीच दुई देशको हवाई सहकार्य विस्तारबारे छलफल भएको छ ।

नयाँदिल्लीमा भएको शिष्टाचार भेटमा उनीहरूले नागरिक उड्डयन क्षेत्रको विकास र द्विपक्षीय सहकार्य बढाउने विषयमा कुराकानी गरेका हुन् ।

नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली राजदूतावासले बुधबार साँझ संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल कलिङ’ पर्यटन प्रवर्द्धन कार्यक्रमका क्रममा मन्त्री पौडेलले नायडुसँग भेट गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भारतीय पर्यटकको नेपाल भ्रमण सहज बनाउन हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार गर्नुपर्ने बताए उनले दुई देशका पर्यटन व्यवसायीबीच सहकार्य बढाउनुपर्नेमा पनि जोड दिए । नेपालका धार्मिक तथा आध्यात्मिक गन्तव्य, प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता, साहसिक गतिविधि र आरोग्य पर्यटन भारतीय पर्यटकका लागि आकर्षण बन्न सक्ने उनको भनाइ थियो ।

भारतका पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतले दुई देशको साझा सांस्कृतिक सम्पदाले पर्यटन प्रवर्द्धनमा खेल्ने भूमिकाबारे चर्चा गरे । उत्तराखण्डका पर्यटन मन्त्री सतपाल महाराजले नेपाल र उत्तराखण्डबीच पर्यटन सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले नेपालका विभिन्न पर्यटकीय गन्तव्य र गतिविधिबारे जानकारी दिँदै भारतीय पर्यटकलाई नेपाल भ्रमणको निम्तो दिए । कार्यक्रममा भारतीय टुर अपरेटर संघ (आईएटीओ) र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) सहित दुवै देशका पर्यटन व्यवसायी, सरकारी अधिकारी र कूटनीतिक प्रतिनिधि सहभागी थिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर