–रसुवाली कवि
भरतराज पौडेल नेपाली पत्रकारिता र भाषा–साहित्यको गगनमा सुपरिचित नाम हो । साहित्यिक क्षेत्रमा उनी भरतराज पीडित र धर्मानन्द भारवीका नाममा समेत लेखिरहेका छन् । मसँग भरतराज पीडितको शोककाव्य ‘आमा म पाऊँ कहाँ’ हातमा छ । लगनखेलदेखि नयाँ बसपार्कसम्मको यात्राका क्रममा म यस शोककाव्यका अनेकौँ शीर्षकहरूमा हराएको छु ।
मन्दाक्रान्ता र शार्दूलविक्रीडित छन्दको प्रयोग गरिएको शोककाव्यले पाठक मनलाई चसक्क छुन्छ । मलाई कुराकानीका क्रममा शोककाव्यकार भरतराज पीडितले यस शोककाव्यमा शार्दूलविक्रीडित छन्दको मूल प्रवाह रहेको बताएका थिए । भरतराजका श्लोकहरू पढ्दा उनले शार्दूलविक्रीडित छन्दलाई न्याय गर्न सकेका देखिन्छ ।
नेपाली कवितामा धेरै प्रयोग भएको छन्द शार्दूलविक्रीडितका अनेकौँ श्लोकहरू जनमानसले मन पराएका छन् । यस छन्दमा लेखिएका काव्यहरू सफल पनि भएका छन् । पूर्वीय वाङ्मय छन्दहरूले धनी छ । शोककाव्य ‘आमा म पाऊँ कहाँ’मा पनि भरतराज पीडितको काव्य प्रतिभा सलसल बगेको छ– करुण रसको प्रवाहमा ।
लामो समय अध्यापनमा सक्रिय भरतराज पूर्वीय वाङ्मयका एक जना अध्येता पनि हुन् । नेपाल महर्षि वैदिक फाउन्डेसनमार्फत आध्यात्मिक गतिविधिमा समेत भरतराजको सक्रियता छ । भावातीत ध्यान प्रशिक्षकका रूपमा उनले एउटा गहिरो र वैज्ञानिक महत्त्वको ध्यानलाई विस्तार गरिरहेका छन् । ज्योतिष शास्त्रमा पनि उनको अध्ययन रहेको छ । अनेकौँ विषयमा प्रवाहित भए पनि हरेक क्षेत्रमा आफूलाई अब्बल रूपमा प्रस्तुत गर्न सक्नुलाई भरतराज पीडितको खुबी हो भन्नुपर्छ । जोकोही मानिस बहुआयाममा फैलन कहाँ सक्छ र ?
आमा हरिकला पौडेलको निधन भएपछि कवि हृदयका भरतलाई गहिरो आघात परेको छ । यो आघातको चोटलाई उनले काव्यमा उनेका छन् । हरेक छोराछोरीले शोकलाई काव्यको भावमा उन्न सक्दैनन् तर भरतराजको जस्तो भावना सबैको हुन्छ । सायद यही कारण पढ्नेहरूले यस कृतिलाई रुचाएका छन् । यसका कृतिभित्र पाठकले आफूलाई पाएका छन्, आफ्नी आमालाई पाएका छन् । पाठकले रुचाएकै होला ‘आमा म पाऊँ कहाँ’को द्वितीय संस्करण बजारमा आइसकेको छ ।
छोटो शुभेच्छा प्रकट गर्दै कवि माधव घिमिरेले समेत यस कृतिलाई ‘आँसुका लहरले भिजेका फाँकीहरू’ भनेर प्रशंसा गरेका छन् । घिमिरेको ‘गौरी’ शोककाव्यलाई नेपाली काव्य जगत्मा निकै रुचाइएको थियो । भरतराजले पनि घिमिरेकै बाटो पछ्याएका छन् । त्यो उचाइतर्फको यात्राका लागि भने भरतराज पीडितले थुप्रै साधना गर्न बाँकी नै छ ।
नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष डा. दीपकप्रकाश बाँस्कोटाले यस कृतिले आमाप्रतिको ममता, प्यार, स्नेह र महिमाको सागरमा डुबुल्की मार्ने सूचना सञ्चार हुने विश्वास व्यक्त गर्नुभएको छ । बाँस्कोटाको विश्वासको मूर्त रूप विभिन्न श्लोकमा अभिव्यक्त गरेका छन् पीडितले ।
आमा ! कैले नभतिर झुमी हेर्छु देखिन्न केही
आमा ! कैले जलतिर पसी खोज्छु भैदिन्न कोही
आमा ! कैले वनतिर घुमी डुल्छु पाइन्न केही
आमा ! कैले घरतिर बसी रुन्छु पग्लन्न कोही ।
(आमा म पाऊँ कहाँ, पेज– ४)
एउटा छोराले आमाको बिछोडमा लेखेको भाव हो यो । ४ हरफको यो श्लोकभित्र बृहत् कथा लुकेको महसुस पाठकहरूले अवश्य गर्छन् । गुल्मी, हर्मिचौर– ६, भर्दाल्कोटमा जन्मेका भरतराज त्यही गाउँको शीतल पवनमा हुर्किए । आमा हरिकलाको अक्षरमा व्यक्त गर्न नसकिने ममताले भरतराजले वात्सल्य प्रेमको शक्तिलाई बुझ्दै गए । यसैले होला आमाको बिछोडमा उनी कहिले आकाशको तारा हेर्छन्, कहिले नदीको प्रवाहलाई हेरेर टोलाउँछन् । रनबन घुम्छन् र घरको चौघेराभित्र आमालाई खोज्छन् । कतै पनि भेटाउँदैनन् आमालाई । त्यही भावलाई उनले श्लोकमा उनेका छन् ।
मौरे रुन्छ, म रुन्छु एकरसले एकान्तमा गैकन
डाँडा रुन्छ, हिले छ माथि शिरमा आमा हरायौ किन ?
बेँसी फाँट छ मौन आज किन हो, आमा कता छ्यौ भन ?
मिर्जेतल्तिर शान्ति छैन मनमा गैगो मिठो रञ्जन ।
(आमा म पाऊँ कहाँ, पेज– १९)
भनिन्छ, आँसुमा शक्ति छ । पूर्वीय काव्य परम्परामा पनि आँसुमाथि थुप्रै काव्य÷खण्डकाव्य÷महाकाव्य लेखिएका छन् । मानिस आफ्नो दुःखलाई आँसुमार्फत व्यक्त गर्छ । यस पृथ्वी सागरमा सुखले भरिएका, खुसीमा रुने आँखाभन्दा दुःखको झरना बन्ने आँखाहरू धेरै छन् । कवि पीडित पनि आँसुको दहमा डुबेका छन् । आफ्नो गाउँको एकान्तमा गएर रोएका छन् । आमासँग बिताएको विगत र उनले गरेको त्याग र सम्झनाले उनलाई रुवाएको छ, मर्माहत पारेको छ । उनलाई लागेको छ– आमाबिना मिर्जेत रोएको छ, बेँसी फाँट रोएको छ । पूरै गाउँ रोएको छ ।
आमाभित्र विचित्र आत्मबलको खानी थियो, रत्न थ्यौ
तिम्रो भाव अभावमा पनि सधैँ साँच्चै दरिली थियौ
तिम्रा ती कर स्पर्शले धरणीमा सद्भावना छर्दथ्यौ
तिम्रा चिन्तनमा अपूर्व सपना हुर्काउँथ्यौ दिव्य थ्यौ ।
(आमा म पाऊँ कहाँ, पेज– ३१)
नेपालका पहाडी गाउँमा दुःखका भारी बोकी हिँड्ने आमाहरू साँच्चै आत्मबलका खानी हुन् । गीतकार अशोक सुवेदीले आमाको स्मृतिमा लेखेको ‘टहटह जून जस्तै शीतल हाम्री आमा’ गीत र कवि हितप्रसाद उपाध्यायको माधव घिमिरेको ‘गौरी’भन्दा १३ वर्ष जेठो ‘चन्द्रवदन’ शोककाव्य मैले पटक–पटक सुनेको छु, पढेको छु, भावना र विचारको गहिराइमा डुबेको छु । भरतराज पीडितले आमाको स्पर्श र सपनाको कुरालाई मज्जाले जोडेका छन् । आमा जस्तो विषयमा लेख्न गाह्रो छ, जुन गाह्रो साह्रोलाई सहजै छन्दमा उन्न सफल छन् शोककाव्यकार ।
आमाको आत्मविश्वास, आत्मबल र आत्मसम्मानका पक्षमा लेखिने साहित्य निश्चय नै दीर्घ महत्त्वका हुन्छन् । मलाई पनि ‘आमा म पाऊँ कहाँ’ शोककाव्यको महत्त्व दीर्घकालीन रहने विश्वास छ ।
भरतराज पीडित राम्रा वक्ता हुन् । पूर्वीय दर्शनमा उनको गहिरो ज्ञान रहेको छ । विभिन्न सञ्चार माध्यममा आउने अन्तरवार्ताहरू हेर्दा÷सुन्दा उनको गहिरो बौद्धिकता महसुस गर्न सकिन्छ । सरल भाषामा गहिरो विषय प्रस्तुत गर्न सक्नु भरतराजको वैयक्तिक चिनारी बनेको छ । यस कृतिमा पनि भरतराजले सरल ढङ्गले गहन विषयलाई विस्तार गरेका छन् । आफ्नो भावलाई ममताको लय प्रदान गरेका छन् ।
यस कृतिको कुनै मूल्य छैन । आमाको सम्मान श्रद्धासाथ पढिदिनुस् भन्ने अपेक्षा शोककाव्यकारको छ । वैश्विक व्यवस्थाले गाँजेको युगमा आमाको स्मृतिमा काव्य लेख्दै त्यो काव्य निःशुल्क वितरण गरेर पीडितले आमाको दूधको भारालाई केही मात्रामा भए पनि तिर्ने कोसिस गरेका छन् ।
यो वैश्विक युगमा आमाको मायालाई किनबेच गरिरहेका छोराछोरीहरूले यस कृतिमार्फत सिक्नुपर्ने कुरा र थुप्रै विषयहरू छन् । यति राम्रो कृति प्रकाशन गर्नुभएकामा डा. दीपकप्रकाश बाँस्कोटालाई पनि धन्यवाद छ ।