दोहा, कतार : वैधानिक बाध्यताका कारण गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारको प्रमाण पत्र वितरण तथा शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । पदम गिरी (तनहुँ) को अध्यक्षतामा सर्वसम्मत चयन भएको ३६ सदस्यीय कार्यसमितिले शपथग्रहण गरेको हो । निर्वाचन समितिका संयोजक कमलमणि गुरागाईंले सर्वसम्मत चयन भएको कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा रोशन अर्याल, द्वितीय उपाध्यक्ष सुवासबहादुर थापा, तृतीय उपाध्यक्ष लीला राई, महिला उपाध्यक्ष रामकुमारी तामाङ, युवा उपाध्यक्ष टंकबहादुर वि.क., महासचिव शिव भुजेल, सचिवहरूमा क्रमशः खेमराज सुबेदी, ईसिलाल पण्डित र शंकरमान राई, कोषाध्यक्षमा प्रेम कुमार बस्नेत, सह-कोषाध्यक्षमा मो. आजाद मन्सुर, महिला संयोजक अप्सना मिया, युवा संयोजक छम बहादुर चन्द (सुलभ) रहेका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा बलराम कौशल, शेख फैयाज, कृष्ण ढकाल, भानुभक्त शर्मा, निराज स्याङ्तान, मानसिंह बिक, किरण परियार, दीपेन्द्र गैरे, गुणराज कटुवाल, सुशील गौतम, ईशान रेग्मी, रबिन खत्री, प्रेम प्रकाश शाही, रबिन अधिकारी, शियाराम यादव, अर्जुन कुमार यादव, प्रतिमा शिवा, रमेश महर्जन, युवराज पोखरेल रहेका छन् । एनसीसीको लेखा समिति संयोजकमा पदमबहादुर रानाभाट, सदस्यद्वयमा साजिद एकवल, हेमराज रिजाल रहेका छन् । त्यस्तै आईसीसी सदस्यहरूमा झविन्द्र बेलबासे, ईश्वरराज पौडेल, शिव कुमार महतो र मीनराज वाग्ले रहेका छन् ।
शपथग्रहणपछि बोल्दै अध्यक्ष गिरीले विषम परिस्थितिबीच अधिवेशन गर्नुपरेको बताउँदै अदालतको फैसलाका कारण एनसीसी दुई वटा जस्तै बनेको बताए । उनले विधिको बाटो हिँड्न आवश्यक रहेको हुँदा एनसीसी कतारले आफ्नो अस्तित्व मेट्न नहुने बताए । गत हप्ता महाधिवेशन सम्पन्न गरेको अर्को एनसीसीप्रति लक्षित गर्दै व्याख्यामा फरक परे पनि कार्यगत एकता गर्न सकिने बताउँदै अदालतको फैसलापछि एक ठाउँमा रहेर कार्यसम्पादन गर्न सकिने स्पष्ट पारे ।
विधान संशोधन समितिका संयोजक तथा एनसीसी कतारका पूर्वअध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले संशोधित बुँदाहरु हलमा पेस गरेका थिए । मुख्यगरी पञ्जीकृत सदस्यताको बहुमतले परिषद् भेला रोक्न र नयाँ मिति कायम गर्न सकिने प्रावधान कायम गरिएको छ । त्यस्तै महाधिवेशनको स्थानमा अधिवेशन लेख्ने र एनसीसीको प्रवक्ता पञ्जीकृत सदस्यहरूबाट मनोनीत गर्न सकिने वैधानिक व्यवस्था कायम गरिएको र पञ्जीकृत सदस्यताबाट प्राप्त हुन कुल रकमको २० प्रतिशत छुट्याएर श्रमिक कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने वैधानिक व्यवस्था कायम गरिएको संशोधित विधान पेस गरेका थिए भने उक्त विधान पारित भएको थियो ।
शपथ कार्यक्रममा सीमित संघसंस्थाका प्रमुख, प्रतिनिधि तथा एनआरएनएका अभियान्ताहरुले आफ्नो शुभकामना मन्तव्य राखेका थिए । बधाई तथा शुभकामनासहित आफ्ना विचार राखेका वक्ताहरूले एनसीसीमा देखिएको विवादप्रति स्मार्ट एनआरएनएमार्फत गठित समिति नै वैधानिक तथा विधिसम्मत रहेको बताएका थिए ।
११औं राष्ट्रिय अधिवेशन आयोजक समितिका संयोजक केशव कार्कीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको समापन गर्दै कार्कीले आफूहरू गलत बाटोमा नरहेको हुँदा निर्वाचित कार्यसमितिलाई निर्धक्क रहन आग्रह गरे । उनले केन्द्रको विधान बमोजिम जुलाई ३१ मै शपथसहित नयाँ कार्यसमिति चयन गरी केन्द्रमा जानकारी दिनुपर्ने भएको हुँदा बिहीबारै साँझ शपथ गराइएको बताए । कार्कीले शुक्रबार अधिवेशन विभिन्न शुभकामना आदान प्रदान सहित सम्पन्न हुने बताए ।
आयोजक समितिका सदस्य सचिव रोशन अर्याल र निर्वाचन समितिका सदस्य हंसराज ढकालले मिलेर कार्यक्रममा सहजीकरण गरेका थिए भने शिव भुजेलले स्वागत मन्तव्य राखेका थिए । एमआईएस प्रणालीमार्फत ४ हजार ६ सय ३ जनाले पञ्जीकृत सदस्यता लिएका छन् । २५ कतारी रियाल पञ्जीकृत सदस्यता शुल्क रहेको थियो भने सदस्यतामार्फत १ लाख १५ हजार ७५ रियाल अर्थात् करिब ३८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
"११औं राष्ट्रिय अधिवेशन” आज शुक्रबार दोहामा अवस्थित क्राउन प्लाजा होटेलको सभा हलमा दिउँसो १ बजेबाट हुँदैछ । अधिवेशनलाई सम्बोधन गर्न नेपालबाट संघका केन्द्रीय अध्यक्ष बद्री केसी आज बिहान कतार आइपुगेका छन् ।