सल्यान : रैथाने बाली प्रवर्धन कार्यक्रमको प्रभावसँगै सल्यानमा परम्परागत अन्नबाली कोदोको खेती विस्तार हुँदै गएको छ । पछिल्लो समय किसानहरू नगदेबालीतर्फ आकर्षित भए पनि स्वास्थ्य लाभ र बजार माग बढ्दै जाँदा कोदोप्रति पुनः चासो बढेको देखिएको छ ।
कृषि विकास कार्यालय सल्यानका अनुसार कोदोको उत्पादन क्षेत्र र मात्रा दुबै वृद्धि हुँदै आएको छ । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा ६८० हेक्टरमा गरिएको कोदो खेती २०८०/८१ मा बढेर ६८५ हेक्टरमा पुगेको छ । सोही अवधिमा कोदो उत्पादन १ हजार २४५ मेट्रिकटनबाट १ हजार २७० मेट्रिकटन पुगेको बाली विकास शाखाले जनाएको छ ।
शाखाका प्राविधिक सहायक बसन्त रेग्मीका अनुसार दोलखाबाट ल्याइएको उन्नत मुल बीउ वितरणसँगै खेतीमा वृद्धि भएको हो । “दार्मा र बनगाडका किसानलाई ५५० किलो बीउ वितरण गरिएको थियो,” उनले बताए, “यसले उत्पादन क्षेत्र विस्तारमा मद्दत गर्यो ।”
हाल जिल्लाको दार्मा गाउँपालिका, बनगाड कुपिण्डे, शारदा नगरपालिकाका विभिन्न वडाहरू, साथै त्रिवेणी, छत्रेश्वरी, कुमाख र सिद्धकुमाख गाउँपालिकाका उच्च भू-भागमा कोदो खेती फस्टाउँदै गएको छ ।
यद्यपि सबै किसान भने कोदो खेतीतर्फ आकर्षित छन् भन्ने छैन । बागचौर नगरपालिका–८, कोटमौलाका कृषक कृष्णबहादुर चन्दले भने बजार अभावका कारण कोदो खेती छाडेर सुन्तला खेतीमा लागेका छन् । “पहिले खेतभरि कोदो फलाउँथे, तर मूल्य नपाउँदा निराश भइ सुन्तलातर्फ लागे,” उनले भने ।
कम पानी, कम लगानी र कमजोर माटोमै उत्पादन गर्न सकिने भएकाले कोदो खेती विशेषगरी उच्च पहाडी र ग्रामीण क्षेत्रका लागि उपयुक्त मानिन्छ । यही सम्भावनालाई ध्यानमा राख्दै सरकारले साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ । “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नारासहित देशभरका स्थानीय तहहरूमा विविध कार्यक्रम आयोजना हुँदैछन् ।
कोदोमा पाइने उच्च मात्राको फाइबर, प्रोटिन, क्याल्सियम, आइरन र म्याग्नेसियमले यसलाई पोषणयुक्त अन्नको रूपमा चिनाएको छ । चिकित्सकहरूका अनुसार कोदो मधुमेह, उच्च रक्तचाप र हृदयसम्बन्धी रोग नियन्त्रणमा पनि उपयोगी हुन्छ ।
विशेषज्ञहरू भन्छन्, “कोदो जस्ता रैथाने बालीले स्थानीय जैविक विविधता संरक्षण, माटोको गुणस्तर सुधार र वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुर्याउँछ ।”