सुर्खेत : आगामी १६ मंसिरमा स्थानीय तहका रिक्त ४१ पदका लागि चसनाव हुँदै छ । ४४ ठाउँमा चुनाव हुने भनिए पनि आइतबार मनोनयन भएका ३ ठाउँमा सर्वसम्मत चयन भइसकेकाले ४१ पदमा मात्र चुनाव हुने छ ।
कर्णालीका ८ स्थानमा उपचुनाव हुँदै छ । कर्णालीमा दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उपचुनाव हुन लागेको हो ।
यस्तै, कालीकोटको तिलागुफा नगरपालिका– ४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५, जाजरकोटको कुशे गाउँपालिका– ७, दैलेखको दुल्लु नगरपालिका– १३ र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ५ मा वडाध्यक्ष पदका लागि उपचुनाव हुन लागेको हो ।
कर्णालीमा सबैजसो ठाउँमा रोचक भिडन्त हुने देखिएको छ । दैलेखको महाबु गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका र हुम्लाको सर्केगाड गाउँपालिकामा दलहरूबीच विरासत जोगाउने र तोड्ने प्रतिस्पर्धा निकै बेजोडले चलिरहेको छ । २०७९ सालमा दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित हासिल गरेको नेपाली कांग्रेसलाई उपचुनावमा विरासत जोगाउनै मुस्किल देखिन्छ ।
जाजरकोटमा विरासतको लडाइँ
जाजरकोटको नलगाड नगरपालिकामा पनि विरासतकै लडाइँ छ । नलगाडमा २०७९ सालमा कांग्रेस–माओवादीबीच गठबन्धन भएको थियो । उक्त गठबन्धनको भागबन्डाअनुसार नगर प्रमुख माओवादीले पाएको थियो भने उपप्रमुख कांग्रेसको भाग परेको थियो । कांग्रेसबाट उपप्रमुखमा निर्वाचित भएकी सरिता सिंहले ५ हजार ४०६ मत प्राप्त गरी एमालेकी सुनिता बोहोरालाई हराएकी थिइन् ।
बोहोराले ३ हजार ३९३ मत प्राप्त गरेकी थिइन् । १३ वटा वडामध्ये माओवादीले ५, कांग्रेसले ४, एमालेले ३ र १ स्वतन्त्रले जितेका थिए । कांग्रेस–माओवादीको गठबन्धनलाई चुनौती दिएको एमालेले यस पटक दुवै दललाई हराउने रणनीतिका साथ चुनावी मैदानमा होमिएको छ ।
३ दल एक्लाएक्लै लड्दा कांग्रेस पुनः उपप्रमुख लिने दाउमा छ भने माओवादी प्रमुखसँगै उपप्रमुखमा जित निकाल्ने रणनीतिमा छ ।
एमाले दुवै दलको विरासत तोडेर पहिलो पटक जित निकाल्ने दाउमा लागेको छ । २०७४ सालको चुनावमा माओवादीका टेकबहादुर रावलले ३ हजार ४१८ मतका साथ कांग्रेसका छवि पन्तलाई नलगाडको प्रमुखमा हराएका थिए । पन्तले २ हजार ८८९ मत प्राप्त गरेका थिए ।
उतिबेला उपप्रमुख पनि माओवादीले जितेको थियो । १३ वडामध्य ७ माओवादी, ४ एमाले र २ वडामा कांग्रेसले जितेको थियो । २०७९ सालमा आइपुग्दा माओवादीले २, एमालेले १ वडा गुमाएको छ भने कांग्रेसले २ वडा थपेको छ । यो परिणामलाई विश्लेषण गर्ने हो भने नलगाडमा माओवादी बलियो देखिए पनि तीनै दलबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
नलगाडको उपप्रमुखका लागि ६ जना चुनावी मैदानमा छन्, जसमा कांग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहरा, माओवादीबाट देवका लामिछाने, राप्रपा नेपालबाट सुनिता पुन रावल, नेपाल समाजवादीबाट पवित्रा जैसी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन छन् ।
महाबुमा रोचक भिडन्त
महाबु गाउँपालिकाको अध्यक्ष पदमा एमालेले जंगबहादुर शाहीलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले झलककुमार भण्डारी र माओवादी केन्द्रले जंगबहादुर बराल मगरलाई मैदानमा उतारेका छन् । एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागेका शाहीलाई एमालेले पार्टीमा भित्र्याएर उम्मेदवार बनाउनुले कांग्रेसलाई यस पटक महाबु जोगाउन चुनौती देखिने अनुमान गरिएको छ ।
२९ मंसिर २०७९ मा सम्पन्न स्थानीय तहको चुनावमा महाबुमा राजनीतिक दलहरू एक्लाएक्लै चुनावी मैदानमा होमिएका थिए । अध्यक्षमा कांग्रेसका लछुमन गुरुङले २ हजार ९७९ मत प्राप्त गर्दै निर्वाचित हुँदा एमालेका हरिप्रसाद उपाध्याय २ हजार ५१९ मतसाथ दोस्रो भएका थिए भने समाजवादीका जंगबहादुर शाही तेस्रो स्थानमा रहँदै २ हजार २६८ मत प्राप्त गरेका थिए ।
तत्कालीन स्थानीय तहको चुनावमा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका शाही र एमालेबाट उम्मेदवार बनेका उपाध्यायले प्राप्त गरेको मतलाई हेर्ने हो भने कांग्रेसलाई यस पटक महाबु जोगाउन चुनौती रहेको सहजै अनुमान लगाउन सकिन्छ । २९ मंसिर २०७९ को स्थानीय तहको चुनावमा एमालेका उपाध्याय र समाजवादीका शाहीले प्राप्त गरेको मत ४ हजार ७८७ हुन्छ ।
कांग्रेसका तर्फबाट महाबुको उपचुनावमा चुनावी मैदानमा होमिएका झलकबहादुर भण्डारीको जनमतसमेत राम्रो रहेको कांग्रेस नेताहरूको भनाइ छ । युवामाझ लोकप्रिय रहेका भण्डारीले उपचुनावको मत परिणाम आफ्नो पक्षमा पार्न मजबुत जनपरिचालन गर्दै आएका छन् । एमालेले समाजवादीका नेतालाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाउनुले एमाले कार्यकर्तामा देखिएको निराशाको फाइदा कांग्रेसले लिन सक्ने देखिन्छ ।
यस पटकको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले समेत उम्मेदवारी दिएको छ । पुराना राजनीतिक दलले जनताको अवस्था बदल्न नसकेका भन्दै रास्वपाले युवामाझ लोकप्रिय रहेका प्रकाशकुमार बुढालाई उम्मेदवार बनाएको हो । माओवादी केन्द्रले जंबहादुर बराल मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्जे रावत, नेपाल मजदुर किसान पार्टीले दुर्गाबहादुर मगर र नेकपा एकीकृत समाजवादीबाट जगत्बहादुर हमाल उम्मेदवार छन् ।
सर्केगाडमा माओवादीलाई चुनौती
सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र रास्वपाका उम्मेदवार प्रतिस्पर्धामा छन् । अघिल्लो चुनावमा माओवादीका चन्द्रसिंह कार्की ३ हजार २६९ मतसहित विजयी हुँदा एमालेकी जुनकुमारी फडेराले १ हजार ६४ मत पाएकी थिइन् । यस पटक माओवादीको जनाधार जोगिने वा घट्ने भन्ने चासो छ । यहाँ माओवादीलाई कांग्रेस र एमालेका कारण चुनौती छ ।
कांग्रेस–माओवादी गठबन्धनबाट उपाध्यक्ष पदमा विजयी भएको माओवादीका लागि एक्लाएक्लै चुनावमा जाँदा कांग्रेस–एमाले नै चुनौती बनेका छन् । २०७४ सालको चुनावमा सर्केगाडमा एमाले–माओवादी गठबन्धन भएको थियो, जसमा एमालेले अध्यक्षमा माओवादीलाई र माओवादीले उपाध्यक्षमा एमालेलाई सघाएको थियो ।
२०७४ र २०७९ सालमा पालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धन भए पनि वडामा भने तीनै दलबीच प्रतिस्पर्धा भएको देखिन्छ । यद्यपि, २०७४ सालमा एमाले–माओवादीबीच गठबन्धन हुँदा माओवादी र कांग्रेसका उम्मेदवारले पाएको मत परिणामलाई हेर्ने हो भने सर्केगाडमा कांग्रेस बलियो देखिन्छ । सर्केगाडको उपाध्यक्षका लागि २ स्वतन्त्रसहित ७ जना चुनावी मैदानमा छन् ।
तिलागुफामा र सानीभेरीमा माओवादीको सम्भावना
तिलागुफा नगरपालिका– ४ मा माओवादी केन्द्रका परबहादुर शाही अघिल्लो पटक २३४ मतसहित विजयी भएका थिए । कांग्रेस र एमालेको कमजोर उपस्थिति देखिएको यस क्षेत्रमा यस पटक पनि माओवादीले अग्रता कायम गर्ने सम्भावना देखिन्छ । यस्तै, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ५ मा यसअघि कांग्रेसले अलबहादुर खत्रीलाई विजयी गराएको थियो ।
माओवादी केन्द्रले नजिकको चुनौती दिएको यस क्षेत्रमा यस पटक एमालेले पनि उम्मेदवारी दिएको छ । एमालेको सहभागिताले कांग्रेसलाई चुनौती थपिएको छ । यहाँ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बीचमा प्रतिस्पर्धा हुने भएको छ । वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका नेकपा (एकिकृत समाजवादी)का हंशराज पुरी र स्वतन्त्रबाट उम्मेदवारी दिएका वीरबहादुर बस्नेतले उम्मेवारी फिर्ता लिएपछि कांग्रेस र माओवादी केन्द्रकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो ।
नेपाली कांग्रेसका उम्मेदवारलाई नेकपा एमाले र जनता समाजवादी पार्टीको समर्थन रहेको बताइएको छ । त्यसैगरी माओवादी केन्द्रका उम्मेदवारलाई नेकपा (एकिकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टीले समर्थन गर्ने जनाइएको छ । यी ३ दलबीच समाजवादी मोर्चासमेत गठन भएर क्रियाशील छ ।