काठमाडौं : दक्षिण कोरियास्थित नेपाली दूतावासले इ–७ भिसामा कामदार भर्नाको प्रक्रिया सुरु गरिएको बताएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इ–७ भिसा अन्तर्गत दक्ष नेपाली कामदारहरूलाई कोरिया पठाउने कार्यविधिलाई स्वीकृत गरेपछि नेपाली दूतावास सियोलले प्रक्रिया सुरु भएको बताएको हो ।
दूतावासले कार्यविधिमा उल्लेख गरिएका विशेष आवश्यकताहरू पूरा गरेका म्यानपावर कम्पनी इ–७ प्रणालीअन्तर्गत दक्ष कामदार पठाउन भर्ना प्रक्रिया सुरुवात गर्न योग्य रहेकोे बताएको छ ।
मन्त्रालयको स्वीकृत प्रक्रियाअनुसार इ–७ भिसामा कोरिया रोजगारीमा जान इच्छुक कामदारहरूलाई तालिम दिन पूर्ण समय प्रयोग गर्न सक्ने म्यानपावर कम्पनीहरूले आफ्नै तालिम केन्द्र वा तालिम केन्द्र भाडामा लिनुपर्ने बताएको छ ।
तालिम केन्द्रमा कम्तीमा दुई प्रमाणित कोरियाली भाषा प्रशिक्षक अनिवार्य गरिएको छ भने नेपाली कम्पनीहरूले इ–भिसा प्रणालीअन्तर्गत कामदारहरूको माग ल्याउन सम्बन्धित कोरियाली संघसंस्थाहरूसँग सम्झौता गर्नुपर्ने छ ।
त्यस्तै नेपाली म्यानपावर कम्पनीहरूले कामदारबाट कुनै शुल्क नलिने प्रतिबद्धता जनाएको हुनुपर्ने छ । कार्यविधिअनुसार इ–७ भिसा प्रणालीअन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जान चाहने नेपाली कामदारहरूले दक्षिण कोरियाली सरकारबाट मान्यता प्राप्त संस्था वा इजाजतपत्र प्राप्त संस्थाबाट सञ्चालन हुने कोरियाली भाषा परीक्षा र पेशागत सीप परीक्षण उत्तीर्ण गर्नुपर्ने प्रावधान छ । इजाजतपत्र प्राप्त संस्थाले भाषा र सीप परीक्षण उत्तीर्ण गरेका नेपाली कामदारहरूको विवरण वैदेशिक रोजगार विभागलाई उपलब्ध गराउनुपर्नेछ ।