२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रोल्पा जलजला समाज कतारको विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

ADV
तिलु शर्मा पौडेल
२०८१ असार ५ गते २१:३८
रोल्पा जलजला समाज कतारको विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

दोहा कतार : रोल्पा जलजला सेवा समाज कतारले विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा फूलबारी रेस्टुरेन्टमा सम्पन्न गरेको छ । 

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद अल अजाको पावन अवसरमा कतार तथा गृह जिल्ला रोल्पामा आपतकालीन अक्षयकोष सहयोगार्थको लागि कार्यक्रमको आयोजना गरिएको थियो ।

समाजका अध्यक्ष बलराम जैसीको सभापतित्व तथा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका संस्थापक संरक्षक कमलमणि गुरागाईँको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कतारमा आफ्नो प्रस्तुति दिन आइपुगेका हास्य कलाकार खडक बहादुर पुन (खबपु) ले तीन चरणमा फरक–फरक विधामा प्रस्तुति दिएका थिए ।

उनले मौलिक थाली नाच प्रस्तुत गर्दै सांगीतिक प्रस्तुतिको ढोका खोले ।  दोस्रो चरणमा आफ्नो कमेडी प्रस्तुति लिएर आए । उनले आफ्नो कमेडीमार्फत देश राजनीति र भ्रष्टाचारलाई प्रहार गरेका थिए ।

नेपाल देश आफैँमा सुन्दर रहेको र भ्रष्टाचारीहरूले देश बिगार्दा ४० लाख बढी नेपाली परदेश बस्नु परेको बताए । आफ्नो प्रस्तुतिमा स्टेजमा आसन ग्रहण गरेका अतिथिलाई लक्षित गर्दै भाषण गर्नेले देश बिगारेको भन्दै समाज मिलाउने नेताको आवश्यक रहेको औँल्याए । तेस्रो पटक स्टेजमा उक्लिएका खबपुले आफ्नो सांगीतिक प्रस्तुति राखे ।

कलाकारहरू हुकुम वि.क, नवीन बाबु, नबिना न्यौपाने, यज्ञ राउत, पूर्ण सिंह गौतम, ईश्वरी केसी, विष्णु भुजेलले गीति नाटकमार्फत छोरो सप्रिन्छ कि भनेर विदेश पठाएको र विदेशमा पनि खराब संगतले झन् बिग्रिएको र उनलाई खोज्दै श्रीमती नेपालदेखि विदेशसम्म आएर एक सामाजिक संस्थाको सहयोगमा उनलाई सुधार गरिएको कथाले सबैको मन जितेको थियो ।

कतारमा स्थापित विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिसँगै कलाकार पत्रकारहरूको बाक्लो उपस्थितिसहित मन्तव्य रहेको थियो ।

आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गुरागाईँले दुःख आपत् विपतमा परेका दिनदुखीहरुको सहयोगका लागि समाजले आयोजना गरेको आपतकालिन अक्षयकोषमा कतारमा रहेका नेपालीहरूलाई जोडिएर सहयोग गर्न आग्रह गरे । समाजका महासचिव गङ्गा बुढामगरले सहजीकरण गरेको कार्यक्रमलाई समापन गर्दै सभापति जैसीले समाजले थालनी गरेको मानवीय तथा परोपकारी आपतकालीन अक्षयकोषमा सबैलाई जोडिन आग्रह गरे ।

समाजका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक शिवलाल केसीले स्वागत मन्तव्य तथा कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए । विधिवत् उद्घाटन ब्यानर अनावरण, दीप प्रज्वलन गरेर अघि बढेको कार्यक्रममा कलाकार कोसेली रोका मगरले स्वागत नृत्य पेस गरेकी थिइन् । कलाकारहरू जिया हमाल, सुस्मिता रोका मगर, सुस्ती लामा, शान्ति ओली, प्रतीक्षा प्रधान, सुमित्रा नेम्बाङ, उर्मिला परियार, जीवन राई,सन्देश सोनी, सुमित्रा भट्टराई, सुरेश बिसी, बाबु कौशल, सुमन राई, कमला गुरुङले आफ्ना सांगीतिक प्रस्तुति राखेका थिए । 

कार्यक्रममा सांगीतिक प्रस्तुति दिएका कलाकारहरूलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise