२०८१ मंसिर ११ गते मङ्गलवार / Nov 26 , 2024 , Tuesday
२०८१ मंसिर ११ गते मङ्गलवार

एकपछि अर्को समस्यामा नेपाली श्रमिक

ADV
२०८१ मंसिर ११ गते ०६:२०
एकपछि अर्को समस्यामा नेपाली श्रमिक

काठमाडौं : मुलुकको अर्थतन्त्रमा रेमिट्यान्समार्फत ठूलो योगदान दिइरहेका वैदेशिक रोजगारीमा जाने कामदार एकपछि अर्को समस्यामा पिरोलिएका छन् । राजनीतिक दलहरूले चुनावी घोषणापत्र र सरकारले नीति कार्यक्रम तथा बजेटमार्फत सुरक्षित र मर्यादित वैदेशिक रोजगारी भने पनि व्यवहारमा वैदेशिक रोजगारीमा जाने कामदारले निरन्तर रूपमा समस्याहरूको सामना गरिरहनुपरेको छ । 

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय श्रम गन्तव्यको हवाई भाडा दरमा न्यूनतम २ हजार ५०० रुपैयाँदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिइएको बताए पनि वैदेशिक रोजगार व्यवसायीहरूले ३ गुणासम्म बढेको हवाई भाडा नघटेको र बाध्यतावश भारतीय विमानस्थलबाट कामदार उडाउँदा चर्को आर्थिकभार बेहोर्नुपरेको बताएका छन् ।

काठमाडौंबाट कतारको दोहा, युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई, साउदी अरेबियाको दमाम, मलेसियाको क्वालालम्पुर जस्ता श्रम गन्तव्यमा दैनिक २ हजारदेखि २५ सय कामदार उड्ने गरेका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका सचिव तुलसी पुरीले हवाई भाडा बढ्नु नेपालको आन्तरिक मामिला भन्दै पन्छिने गरेको मध्यान्ह दैनिकलाई बताए ।

अत्यधिक बढेको हवाई भाडा दर घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विशेष निर्देशन दिई हवाई सेवा कम्पनीहरूले नियामक निकायसँग हवाई भाडा नियन्त्रणका लागि ५ बुँदे सहमति गरे पनि त्यसको कुनै सुनुवाइ भएको छैन ।

मन्त्रालयको विशेष निर्देशनपछि पनि हवाई भाडा नघटाइएपछि मन्त्रालयले हवाई सेवा कम्पनीहरूलाई कारबाही गर्नुपर्नेमा सोमबार बढी भाडा लिने हवाई सेवा कम्पनीविरुद्व उजुरी दिन सेवाग्राहीलाई आग्रह गरेको  छ । कतिपय मन्त्रालयको उजुरी आह्वानलाई हवाई भाडा घटाउन नसकेको असफलतालाई विषयान्तर गर्न खोजेको भनी टिप्पणी गरेका छन् । 

उता, कम्प्युटर प्रणाली भाइरस संक्रमणका कारण गत हप्तादेखि अवरुद्ध राहदानी सेवा असहज हुँदा वैदेशिक रोजगारीमा जाने र वैदेशिक रोजगारीमा रहेका दुवै क्षेत्रका कामदार पीडित बनेका छन् । राहदानी विभागले जिल्ला प्रशासन कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूबाट सेवा सुचारु ह्ुन कम्तीमा २ हप्ताको समय लाग्ने बताएको छ ।  गत हप्तादेखि प्रणालीमा समस्या देखिएको थियो । 

राहदानी विभागले समयमा राहदानी नदिँदा तत्कालै भिसा पाउने वैदेशिक रोजगारीको अवसरबाट बञ्चित हुनुपर्ने वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् । उता, विदेशस्थित नेपाली दूतावास र नियोगहरूले राहदानी सेवा अर्को सूचना नभएसम्म स्थगन गरिएको सूचना जारी गरेका छन् । नेपाली राजदूतावास दोहा, कतारले राहदानीको इनरोलमेन्टलगायत समग्र प्रणालीमा आकस्मिक प्राविधिक समस्या देखिएकाले अन्यत्र जस्तै उक्त दूतावासमा समेत राहदानी सेवा अवरुद्ध हुन पुगेको बताएको छ ।

खाडीमा रहेका सबैजसो नेपाली राजदूतावासले राहदानी सेवा तत्कालका लागि स्थगन भएको र राहदानी नवीकरण तथा वितरणका लागि जारी भएका सबै सूचना रद्द गरिएको उल्लेख गरेका छन् । १ वर्षभन्दा कम अवधि रहेकोे राहदानीमा भिसा नलाग्ने प्रावधानले राहदानी नवीकरण नहुँदा वैदेशिक रोजगारीमा जान लागेका र उतै रहेकाहरूले भिसाको समस्या  झेल्नुपर्ने त्रास रहेको बताएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise