२०८२ साउन १९ गते सोमवार / Aug 04 , 2025 , Monday
२०८२ साउन १९ गते सोमवार
Ads

छोराको मृत्युसँग जुधिरहेकी आमा, जीवनसँग लडिरहेका डिकेस

shivam cement
दिलमाया शाही
२०८२ साउन १८ गते २१:१८
छोराको मृत्युसँग जुधिरहेकी आमा, जीवनसँग लडिरहेका डिकेस

जुम्ला : ‘अब बाँच्ने सम्भावना छैन,’डाक्टरले भने । तर आमा अझै आशामा छिन् । १७ वर्षीय डिकेस नाथ योगीको कथा कुनै साधारण बिरामीको होइन । 

यो कथा हो दुर्गम गाउँबाट राजधानीको सपना बुनेको एक किशोरको, जसको जीवन अहिले अस्पतालको बेडमा मृत्यु र जीवनको दोभानमा अडिएको छ । डिकेस जुम्ला जिल्लाको हिमा गाउँपालिका–३, जोगीबाडाका बासिन्दा हुन् ।

उनले २०८१ सालको चैतमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका थिए । परीक्षा सकेपछि उनले काठमाडौं जाने र उच्च शिक्षा हासिल गर्ने सपना देखिरहेका थिए । तर ती सपना आज उनको शरीरबाट हराउँदै छन्, जसको कारण हो एक गलत शल्यक्रिया । 

२०८२ साल जेठ २६ गते पेट दुखेपछि उनलाई जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा भर्ना गरियो । चिकित्सकहरूले सामान्य एपेन्डिसाइटिसको शंका गर्दै शल्यक्रिया गरे, तर त्यसपछि अवस्था झन् जटिल बन्दै गयो । भोलिपल्ट नै दोस्रो शल्यक्रिया गर्नुप¥यो । परिवारले पीडामा डुबेर सहमति दियो । तर डिकेसको अवस्था सुधारिएन ।

त्रासदीको यात्रा : जुम्लादेखि नेपालगन्ज, फेरि जुम्ला

चिकित्सकहरूले डिकेसलाई नेपालगन्ज रेफर गरे, तर त्यहाँ पनि उपचार सम्भव नभएपछि पुनः जुम्ला फर्काइयो । बाबु जगत नाथ योगी भन्छन्,‘डाक्टरले भन्नुभयो, अब बाँच्ने सम्भावना छैन । मुख्य आन्द्रा नै छैन’ उनले थपे, ‘एसईईपछि छोरालाई काठमाडौं पढाउन पठाउने सपना देखिरहेको थिएँ । अहिले अस्पतालमा उसको मृत्यु कुरिरहेको छु ।’

औषधिमा अडिएको जीवनः ‘टिपिएन’ को भरमा आशा

शल्यक्रियामा आन्द्रा निकालिएपछि डिकेसको शरीरले खाना पचाउने र पोषण ग्रहण गर्ने प्राकृतिक क्षमता गुमायो । अहिले उनलाई नसाबाट पोषण दिने विशेष औषधि टिपीएन(टोटल पारानटेरल न्यूट्रेसन)को सहारामा जिवित राखिएको छ । तर यो औषधि दीर्घकालीन समाधान होइन । अन्ततः ‘साना आन्द्राको प्रत्यारोपण’ नै एक मात्र विकल्प हो, जुन विदेशमै मात्र सम्भव छ । खर्चिलो र जटिल प्रक्रिया भएकाले, डिकेसको परिवार त्यो खर्च थेग्न सक्दैन । आमा रोइरहेकी छन्, छोरा अझै सोधिरहन्छन् ‘आमा, म कहिले निको हुन्छु ?’ अस्पतालको बेडमा छटपटाइरहेका डिकेस आमालाई सोध्छन्,‘आमा, मेरो आन्द्रा कहिले पलाउँछ ? म कहिले निको हुन्छु ?’तर आमासँग जवाफ छैन । उनी केवल आँशु झार्छिन् । डिकेसकी आमाको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ । छोराको लागि गरेको प्रार्थनाले हजारौं नेपालीको मन छुँदैछ । उनले भनिन्,‘अब म बाँच्दिन होला ?’भनेको छ छोराले । तर म अस्पतालको बेडमा मृत्यु भएको हेर्न सक्दिँन । भगवान छन् भने, मेरो छोरालाई बचाइदेऊ । एक बालकको पीडा होइन, यो सिंगो स्वास्थ्य प्रणालीको असफलता हो । 

डिकेसको अवस्था कुनै एक बिरामीको मात्र पीडा होइन, यो देशको स्वास्थ्य प्रणालीमाथिको गम्भीर प्रश्न हो । सामान्य एपेन्डिसाइटिसको शल्यक्रिया किन यति जटिल बन्यो ? चिकित्सकको लापरबाही हो कि बिरामीको दुर्लभ स्वास्थ्य अवस्था ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो प्रतिष्ठित संस्थाबाट यस्तो गल्ती हुनु चिन्ताजनक हो ।

यता डिकेसको परिवारले अस्पतालको लापरबाही वा के कारण यस्तो भएको भन्ने  स्वतन्त्र छानबिनको माग गरेका छन् । 

ADV

सम्बन्धित खबर

Advertise