२०८२ साउन १९ गते सोमवार / Aug 04 , 2025 , Monday
२०८२ साउन १९ गते सोमवार
Ads

करोडौं ठगेर रामधुनीका रमेन्द्र फरार !

shivam cement
तेज बन
२०८२ साउन १८ गते २०:४३
करोडौं ठगेर रामधुनीका रमेन्द्र फरार !

इटहरी : सुनसरीको रामधुनी नगरपालिका–३ का ४० वर्षीय रमेन्द्र पौडेलले झापा, मोरङ र सुनसरीका ३ दर्जन बढी व्यवसायीहरूबाट करोडौं रकम ठगी गरी फरार भएको आरोप लागेको छ । 

तीन जिल्लाका व्यवसायी, प्रहरी र सर्वसाधारणलाई योजनाबद्ध तरिकाले विश्वासमा पारी करोडौं ठगी गरेको आरोप लागेका पौडेल एक वर्षभन्दा बढी समयदेखि फरार भएका हुन् । 

निर्माण सामग्री खरिदका नाममा विभिन्न व्यवसायीहरूबाट सामान लगेर भुक्तानी नगरी बेपत्ता भएका पौडेलविरुद्ध पीडितहरूले गत २०८० भदौमै उजुरी दिएपनि हालसम्म फेला नपरेको पीडित व्यवसायीहरूले बताएका छन् ।  मोरङ विराटनगरका व्यवसायी टेकनाथ ढकालका अनुसार पौडेलले आधारशिला सप्लायर्स नामक कम्पनीमार्फत २०७८ देखि २०७९ सम्म विभिन्न मितिमा कुल १ करोड ३४ लाख ५८ हजार रुपैयाँको चेक दिएपनि ती सबै चेक बाउन्स भएका छन् । सुरूवाती समयमा राम्रो कारोबार गरेका पौडेलले पछि नराम्रोसँग धोका दिएर फरार भएको ढकाल बताउँछन् । 

ढकालका अनुसार पौडेलले सुरुवातमा थोरै परिमाणको सामान किन्ने र तुरून्त भुक्तानी गर्ने गरेका थिए ।  पछि एकै पटकमा ठूलो परिमाणको सामग्री लगेर फरार भएपछि पौडेलबाट आफु ठगिएको ढकालले बताए ।  ‘पौडेलले तीन पटक गरेर लगेको निर्माण सामग्रीको एक करोड ७५ लाख रुपैयाँ बुझाउन बाँकी छ, ढकालले भने । विराटगरका ढकाल जस्तै इटहरीका व्यवसायी गोपाल श्रेष्ठले पनि पौडेलबाट ठगीएको बताएका छन् । श्रेष्ठले विश्वासकै आधारमा केही दिनका लागि भनेर २ लाख २० हजार नगद पैसा दिएको तर पौडेलले ६ महिना पछि पैसाको सट्टा सोही रकम बराबरको चेक दिएपनि बाउन्स भएको बताए । पौडेलले राष्ट्रिय वाणिज्य बैंकको चेक दिएको तर दुई पटकसम्म जाँदा पनि चेकमा उल्लेखित रकम नभएपछि बाउन्स गरेको श्रेष्ठ बताउँछन् । 

पौडेलले नेपाल प्रहरीका एक कर्मचारीसँग पनि चिनजानको आधारमा ३ लाख रुपैयाँभन्दा बढी सापटी लिएर फरार भएका छन् । ‘साथी सम्झिएर सापटि दिए, अहिले सम्पर्क विहीन भइदिएपछि पारिवारिक समस्यामा परेको छु’ पीडित कर्मचारीले मध्यान्हसँग बताए । 

पौडेलबाट ठगिएका ९ जना व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय मोरङ र सुनसरी अदालतमा चेक बाउन्स मुद्दा दायर गरी पक्राउ पुर्जी समेत जारी गराइसकेका छन् । जिल्ला अदालत सुनसरीले पोडेलविरूद्ध २०८१ भदौ ३१ पक्राउ पुर्जी जारी गरेको छ भने जिल्ला प्रशासन कार्यालय मोरङले गत २०८२ असार १६ गते पक्राउ गर्न सम्बन्धित प्रहरी कार्यालयहरूलाइ पत्राचार गरिसकेको छ । 

लिखित रूपमा ९ जनाले चेक बाउन्सको मुद्दा लगाएपनि पौडेलबाट विशेष गरी इटहरी, रामधुनी र विराटनगरका सयौं व्यवसायीहरू ठगिएको पीडितहरूले उल्लेख गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार पौडेलले मोरङका पाँच जना व्यवसायीहरूबाट पटक–पटक गरेर ९ करोड बढी ठगेर बेपत्ता भएका छन् । सुनसरी अदालतका अनुसार इटहरी, रामधुनी, तरहरा र दुहबीका ५ जना व्यवसायीहरूबाट पौडेलले १ करोड ४६ लाख बढी रकम ठगी गरेको बताइएको छ । 

यता पीडित व्यवसायीहरूले अदालत र प्रशासन कार्यालयबाट पक्राउ पुर्जी जारी भइसकेपनि प्रहरीकै सेटिङमा पौडल उम्कीएको आरोप लगाएका छन् । पौडेलबाट अनगिन्ती व्यवसायीहरू ठगिएको र अब सामुहिक उजुरी दिने तयारीमा लागेको व्यवसायीहरूले बताएका छन् । 

यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिना व्यवसायीहरूले लगाएको आरोप कपोकल्पीत र प्रहरीविरुद्ध भ्रम छरेको दाबी गर्छन् । अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै फरार भएका रामधुनी निवासी रमेन्द्र पौडेलको तस्बिर सबै मातहतका प्रहरी कार्यालयहरूमा पठाइ व्यापक खोजबिन भइरहेको एसपी तिम्सिनाले बताए । 

ADV

सम्बन्धित खबर

Advertise