२०८१ मंसिर ११ गते मङ्गलवार / Nov 26 , 2024 , Tuesday
२०८१ मंसिर ११ गते मङ्गलवार

मानव तस्करी प्रकरण : पूर्वमन्त्रीलाई क्लिन चिट, ११ जना प्रतिवादी

ADV
जानकी पाठक
२०८१ मंसिर ११ गते ०६:२५
मानव तस्करी प्रकरण : पूर्वमन्त्रीलाई क्लिन चिट, ११ जना प्रतिवादी

काठमाडौं : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले मानव तस्करी प्रकरणमा क्लिन चिट पाएका छन् । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मानव तस्करी प्रकरणमा निर्दोष रहेको ठहर गर्दै अधिकारीमाथि मुद्दा नचलाउने निर्णय गरेको हो । 

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रवक्ता सीताराम अर्यालका अनुसार आरोपका सम्बन्धमा अधिकारीको संलग्नताबारे पर्याप्त आधार, प्रमाण देखिएन । नक्कली कागजात बनाई जापान लैजाने अपराधमा अधिकारी संलग्न नरहेको प्रमाण नभेटिएकाले अधिकारीमाथि मुद्दा नचलाउने निर्णय भएको उनले बताए । 

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयबाट क्लिन चिट पाएसँगै पूर्वमन्त्री अधिकारी रिहा भएका छन् । 

अधिकारी गत २६ कातिकमा विराटनगरस्थित निवासबाटै पक्राउ परेका थिए । मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत नगराई अधिकारी जापान गएका थिए । उनीसँगै अन्य ३ जना पनि जापान गएका थिए । तर, जापानको अध्यागमनले उनीहरूलाई विमानस्थलबाटै फर्काइदिएको थियो ।

मानव तस्करको योजनाअनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । अधिकारीले भने आफूलाई फसाइएको दाबी गर्दै आएका थिए । सोमबार उनले काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयबाट क्लिन चिट नै पाएका हुन् ।

प्रहरीका अनुसार नेपालबाट जापान जाने क्रममा विमानस्थलमा नै तस्करी गरेर मान्छे ल्याएको थाहा पाएपछि नक्कली परिचयपत्र खिचेर अधिकारीले तत्काल नेपाल प्रहरीलाई जानकारी दिएका थिए । यो अनुसन्धानका क्रममा खुलेको थियो ।

आफूसहितको टोलीमा तस्करी गरेर मान्छे ल्याएको भन्ने थाहा पाएपछि अधिकारीले आफूलाई समेत डिपोर्ट गर्न भनेका थिए । यो पनि अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । यसरी नेपाल प्रहरीलाई गलत भइरहेको सूचना दिएको र अनुसन्धानमा सहयोग गरेको आधारमा समेत अधिकारीले क्लिन चिट पाएको प्रहरी अधिकारीहरू बताउँछन् । 

तस्करी गरेर लगिएकामध्ये कसैले पनि आफूलाई जापान लैजाने काममा अधिकारीको संलग्नता नपोलेको पनि प्रहरीले जनाएको छ । कल डिटेलमा पनि अधिकारीले तीमध्ये कसैसँग कुनै प्रकारको सम्पर्क गरेको देखिएको छैन । 

यीलगायतका आधार देखाउँदै पूर्वमन्त्री अधिकारीलाई क्लिन चिट दिँदै जिल्ला सरकारी वकिल कार्यालयले अन्य ११ जनाविरुद्ध भने मावन बेचबिखन कसुरमा मुद्दा दर्ता गरेको छ । ३ जना यसअघि नै पक्राउ परेका थिए । उनीहरूसहित फरार रहेका बाँकी ८ जनाविरुद्ध सोमबार नै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

१ महिनाअघि मन्त्री अधिकारीसँगै ३ जना जापान पुगेका थिए । नक्कली कार्ड बनाएर जापान पुगेको खुलेपछि टोकियो अध्यागमनबाट उनीहरू फिर्ता भएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise