२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

नेतृत्वको आलोचना गर्नेलाई दण्ड

shivam cement
भावना पाठक
२०८१ मंसिर १२ गते ०६:३०
Shares
नेतृत्वको आलोचना गर्नेलाई दण्ड

काठमाडौं : लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बनमा परेका छन् । उनलाई नेकपा एमालेले नेतृत्वको विषयमा तथ्यहीन कुरा गरेको आरोपसहित निलम्बन गरेको हो । 

एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङले मंगलबार प्रदेश सांसद चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएका छन् । उक्त पत्रको बोधार्थ पार्टीको केन्द्रिय कार्यालयमा पठाएको छ । 

स्पष्टीकरण सोध्दासमेत पार्टीविरुद्ध जबाफ दिएको पत्रमा उल्लेख छ । पत्रमा भनिएको छ, ‘स्पष्टीकरणको जबाफ दिने सन्दर्भमा आफ्ना कमी कमजोरीप्रति महसुस गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरुद्धमा लिखित जबाफ दिनुभएको हुँदा तपाईंलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कारबाहीको व्यवस्थाअनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जानकारी गराउँदछु ।’ 

चैधरी २०७९ सालको चुनावमा बाँके क्षेत्र नम्बर– १ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । चौधरीले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललक्षित तथ्यहीन विषय बोलेका नेताहरू बताउँछन् । 

यो विषय पत्रमै समेत उल्लेख गरिएको छ । अगाडि भनिएको छ, ‘एमाले बाँकेले २०८१ कात्तिक ५ गतेका दिन पार्टीलाई हानि नोक्सानी पु¥याउने मनशायका साथ पार्टीका केन्द्रीय अध्यक्ष, महासचिवसमेतको मानहानि हुनेगरी पार्टीका मूल्य, मान्यताविपरीत सार्वजनिक रूपमा गाली गलौज गर्ने, समाजिक संजालमा, पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने, पार्टीका विरुद्धमा समाचार लेख्नेजस्ता गतिविधि निरन्तर गर्नुभएका कारण तपाईंलाई विधानको धारा ८ को (३) र (४) बमोजिम स्पष्टीकरण सोध्ने काम भयो ।’ 

स्पष्टीकरणको जबाफ चित्तबुझ्दो नरहेको भन्दै पार्टी सदस्यताबाट निलम्बन गरिएको हो । पार्टी सदस्यबाट निलम्बनमा परेका चौधरी यसअघि एमाले लुम्बिनी प्रदेश कमिटीका उपसचिव थिए । पार्टीको नीतिविपरीत गतिविधि गरेको भन्दै उनलाई प्रदेश कमिटीबाट हटाइएको थियो । 

नेताहरूका अनुसार पछिल्लो समय चौधरीले ७ मंसिरमा एमालेले काठमाडौंमा गरेको जागरणसभाको विरुद्ध फेसबुकलगायत सामाजिक संजालमा विरोध गरेका थिए । उक्त विरोध पार्टीको नीतिविपरीत रहेको, एमाले अध्यक्ष ओली र महासचिव पोखरेलको मानहानि भएको भन्दै कारबाही गरिएको छ ।

सम्बन्धित खबर