काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याइएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानमा रहेका लामिछाने झण्डै डेढ महिनादेखि प्रहरीको हिरासतमा छन् ।
गत २ कातिकमा पक्राउ परेपछि पोखरा पुगेका रविले कास्कीको हिरासतमा ३९ दिन बिताए । २ दिन रुपन्देही प्रहरीको हिरासतमा बसेका लामिछानेलाई ४१ दिनपछि बयानका लागि काठमाडौं ल्याइएको हो ।
पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित मुद्दामा लामिछाने पक्राउ परेका थिए । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको हो । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट २ मंसिरमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको आरोपमा गोरखा मिडियाका पूर्वसंचालक एवं पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । जोशीको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिइसकिएको छ । जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ ।
कास्की जिल्ला अदालतले आइतबार मात्र लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । यहीबेला उनलाई काठमाडौं ल्याइएको हो ।
प्रहरीका अनुसार काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई फेरि कास्की लगिने छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रुपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो ।
प्रहरीका अनुसार बिहीबार साँझ काठमाडौं ल्याइएका लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा (भद्रकालीस्थित प्रहरी कार्यालयमा) राखिने छ । शुक्रबारबाट जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयान हुने छ ।
यसअघि प्रहरीले पहिले स्वर्णलक्ष्मी सहकारीमा छापा मारेर केही कागजातहरू बरामद गरेको थियो । त्यसक्रममा गाडी किन्न भनेर रवि लामिछाने र जीबी राईले २ पटक गरेर ४६/४६ लाख रुपैयाँ लिएको भेटिएको प्रहरीले जनाएको छ ।
लामिछानेलगायतविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । चितवनको सहारा सहकारीलगायतमा भएको रकम हिनामिनामा लामिछानेमाथि अनुसन्धान भइरहेको छ ।