२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

आज बालाचतुर्दशी, शिवालयमा शतबीज छरिँदै

Nada
२०८१ मंसिर १५ गते १०:५५
Shares
आज बालाचतुर्दशी, शिवालयमा शतबीज छरिँदै

काठमाडौं : आज मार्ग शीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी । पशुपतिनाथ क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर श्रद्धालुले शतबीज छर्ने पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको शतबीजारोपण मार्गमा उल्लेख छ । 

ncell

रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै वाग्मती नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । 

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवंगत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेका छन् । शुक्रबार रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् । 

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको शुक्रबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लागेको छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा बिहीबारैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीको शुक्रबार राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् । 

शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु(याउन अनुरोध गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम शतबीज भन्नाले हेमाद्री नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्न होइन भन्छन् । 

‘भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ,’ उनले भने ।  

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ । 

ताजा खबर

सम्बन्धित खबर