२०८१ मंसिर १६ गते आइतवार / Dec 01 , 2024 , Sunday
२०८१ मंसिर १६ गते आइतवार

ग्रयान्ड महफिल तात्यो राधा, बिटु र रामका गजलले

ADV
मध्यान्ह
२०८१ मंसिर १५ गते १८:०६
ग्रयान्ड महफिल तात्यो राधा, बिटु र रामका गजलले

आज दिल यो चोर्ने जमर्को बढी छ 
दोष तिम्रो, मेरो नजरको बढी छ

अहिलेको समयकी लोकप्रिय गजलकार राधा कणेलले गजलका यी पंक्ति वाचन गरिरहँदा सर्वनाम थिएटरको हल तालीमय बनेको थियो । ‘वाह ! वाह !!’ले गुन्जायमान हलमा करिब २०० जना श्रोता मन्त्रमुग्ध बनिरहेका थिए ।

तत्काल उनले अर्को शेर सुनाइन् :

भन्नेहरू त भन्छन् तरबार भन्न लायक     
उनको नजर छ यौटा संसार भन्न लायक

यस्ता दमदार भावसहितका करिब ३२ वटा पंक्ति अर्थात् ८ वटा गजल सुनाइन् राधाले ।

राधासँगै अन्य २ गजल स्रष्टा बिटु के. सी. र राम अविरल बिष्ट पनि दमदार ढंगले गुन्जिए ।

हरेक २ महिनामा हुँदै आएको ग्रयान्ड महफिलको सिजन- २ १३औं शृंखला शनिबार सम्पन्न भएको छ । काठमाडौंको सर्वनाम थिएटरमा सम्पन्न महफिलमा यस पटक गजलकारहरू राधा कणेल, बिटु के. सी. र राम अविरल बिष्ट प्रस्तुत भए ।

गजलकार तथा अभियन्ता बाबु त्रिपाठीले सहजीकरण गरेको महफिलमा हरेक गजलकारले ८/८ वटा गजल प्रस्तुत गरेका थिए । प्रस्तुत गजलका हरेकजसो शेरमा उपस्थित श्रोताको ठूलो संख्याले ‘वाह ! वाह !!’ गरेको थियो ।

बाटो काट्यौँ बाटोले आँगन काट्यो
अनि देश काट्ने औंलाले रिबन काट्यो

गजलकार बिष्टले यस्ता करिब ३ दर्जन शेर सुनाए । उनका शेरमा समसामयिक विषय बढी देखिन्थ्यो । व्यंग्यमा तीव्रता र असन्तुष्टि रहेका शेर निकै सुन्दर थिए ।

अर्की गजलकार के. सी. यसरी बोलिन् आफ्ना शेरहरूमा :

आधा बाटो तय अब आधा हेर्नु छ
जिन्दगी ! तेरो पनि इरादा हेर्नु छ

समसामयिक, राजनीतिक–सामाजिक विसंगतिमाथि प्रहारसँगै शृंगारका दुवै रस संयोग तथा विप्रलम्भमा लेखिएका गजलहरू सुनेर श्रोताका कान र रौं ठाडा बनेका थिए ।

लामो समयदेखि गजल साधना गरिरहेका तीनै जना स्रष्टाले गजल प्रस्तुत गरिरहँदा हलमा देखिएको उत्साहले अब नेपाली गजलले नयाँ मार्ग खोजिरहेको आभास दिन्थ्यो ।

गजललाई लोकप्रिय बनाउन र आममान्छेबीच पु¥याउन महफिलले खेलेको भूमिका अतुलनीय रहेको सहभागीहरूले बताए ।

कार्यक्रममा कवि दीप दर्पणको नवीनतम कविता कृति ‘एक्लो पृथ्वी, एक्लो मान्छे’माथि परिचर्चा गरिएको थियो । कवि दर्पणले उक्त कृति आफ्नो समयको प्रतिबिम्ब भएको र आफ्नो कृति कसैको प्रतिस्पर्धी नभएको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise