
काठमाडौं : निरन्तर प्रसारण भइरहेको सिरियल ‘परिवेश’ ५२औं भागसम्म पुगेको छ । सिरियलले ५२औं शृंखलाको यात्रा पूरा गरेको अवसरमा आइतबार काठमाडौंको जरङखुस्थित साझा पार्टी प्यालेसमा कलाकार सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्र तथा संघसंस्थामा आबद्ध व्यक्तित्वहरूको उपस्थिति थियो । कार्यक्रममा सिरियलका कलाकार, प्राविधिक तथा निर्माण टिमको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि केसीले कलाकारिता क्षेत्रमा निरन्तर मेहनत, लगनशीलता र समर्पण आवश्यक रहेको बताए । स्थानीय कलाकारहरूलाई समेटेर ‘परिवेश’ सिरियल निर्माण गरिएकोमा खुसी व्यक्त गर्दै उनले कलाकार संघका तर्फबाट आवश्यक सहयोग र सहकार्यका लागि आफूहरू तयार रहेको धारणा राखे ।

त्यसैगरी, उद्योग वाणिज्य संघ काठमाडौं जिल्लाका सदस्य तथा व्यवसायी चन्द्रबहादुर थापाले ‘परिवेश’ सिरियलको सफलताको शुभकामना व्यक्त गर्दै सकारात्मक र सिर्जनात्मक कार्यमा आफ्नो सहयोग रहने बताए ।
सिरियलकी लेखक तथा निर्देशक दीपा घिमिरेले विभिन्न चुनौती र उतारचढावका बाबजुद ‘परिवेश’लाई ५२औं शृंखलासम्म पुर्याउन सफल भएको बताइन् । यस यात्रामा साथ, सहयोग र हौसला प्रदान गर्ने कलाकार, प्राविधिक, सहयोगी तथा दर्शकप्रति उनले आभार व्यक्त गरिन् ।
डिएस इन्टरटेन्मेन्टको प्रस्तुति तथा दीपा युट्युब च्यानलमार्फत प्रसारण हुँदै आएको ‘परिवेश’ प्रत्येक शुक्रबार साँझ ७ बजे दर्शकमाझ आउने गरेको छ । सामाजिक परिवेश, पारिवारिक सम्बन्ध र जीवनका विविध पक्षलाई समेट्दै अघि बढिरहेको सिरियलले ५२औं भागसम्मको यात्रा पूरा गर्नुलाई निर्माण टिमले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।

सिरियलमा दीपा घिमिरे, भगवान भण्डारी, रामप्रसाद महर्जन, देवराज लामिछाने, इच्छाराम दुलाल, योगेश्वरी श्रेष्ठ, सावित्रा भट्ट, लक्ष्मण भण्डारी, नीलु श्रेष्ठ, विकास श्रेष्ठ, अमृतमान श्रेष्ठ, सुशान फुयाँल, अम्बिका खतिवडा, दिलीप थापा, सुप्रीम राउत, सरला गौतम नमराज तिवारी, सलिना थापालगायत कलाकारले अभिनय गर्दै आएका छन् ।
सिरियलका निर्माता सुदर्शन घिमिरे रहेका छन् भने सम्पादन कविता राईले गरेकी छन् । मनोज मल्लले छायांकन र शर्मिला श्रेष्ठले मेकअपको जिम्मेवारी सम्हालेका छन् ।