
दोहा, कतार : नेपाली संगीत क्षेत्रमा आफ्नो सुमधुर स्वर र गायन क्षमतामार्फत छुट्टै पहिचान बनाउन सफल भर्सटायल गायिका मेलिना राई कतार आउने भएकी छन्। सुनुवार सेवा समाज शाखा, दोहा–कतारको १७औँ वार्षिक उत्सवका अवसरमा आयोजना हुने बृहत् सांस्कृतिक कार्यक्रममा विशेष सांगीतिक प्रस्तुति दिन उनी कतार आउन लागेकी हुन्।
‘पहिचान र समानताका लागि प्रतिबद्धता’ भन्ने नारासहित आगामी नोभेम्बर २७ शुक्रबार कतारको अल वाकिरस्थित डीपीएस स्कुलको सभाहलमा कार्यक्रम आयोजना हुनेछ। कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।
कार्यक्रममा गायिका राईले आफ्ना चर्चित गीतमार्फत कतारमा रहेका नेपाली दर्शक तथा संगीतप्रेमीलाई मनोरञ्जन प्रदान गर्नेछिन्। ‘कुटुमा कुटु’, ‘कम्मरै भाँचिदेऊ’, ‘जालमा’, ‘शिरैमा शिरबन्दी’, ‘तिम्रो आँखामा’, ‘पिरतीको मिठो तिर्सना’, ‘नरिसाउ न माया’ र ‘हेर न हेर कान्छा’ लगायतका गीतबाट परिचित राईको प्रस्तुति हेर्न कतारवासी नेपाली उत्साहित छन्।
गायिका राईले भिडियो सन्देशमार्फत कतारमा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेकी छन्। उनले कतारमा रहेका नेपालीसँग सांगीतिक भेटघाट गर्न र आफ्ना गीतमार्फत मनोरञ्जन प्रदान गर्न आफू उत्साहित रहेको बताएकी छन्।
गायिका राईसँगै कतारमा सक्रिय नेपाली कलाकारहरूको विविध सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। प्रवासमा नेपाली समुदायलाई सांस्कृतिक गतिविधिमा जोड्दै आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ।
समाजका अध्यक्ष गंगा बहादुर सुनुवारले कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई १७औँ वार्षिक उत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम सफल बनाउन आग्रह गरेका छन्।
