
काठमाडौं : म्युजिक भिडियो र लघुचलचित्र राज्यको बेवास्तामा परेका सरोकारवालाले बताएका छन् । शुक्रबार परिवर्तन नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा लघुचलचित्र र म्युजिक भिडियो क्षेत्रका सरोकारवालाले राज्यले प्रभावकारी नीति र कानुन ल्याएर कार्यान्वयन गर्न नसकेको गुनासो गरे ।
पत्रकार तथा साहित्यकार घनेन्द्र ओझाले सञ्चार मन्त्रालयले राष्ट्रिय चलचित्र नीति बनाएको र त्यसमा लघुचलचित्र, वृत्तचित्र, साँस्कृतिक चलचित्रलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको तर त्यसको कार्यान्वयन हुन नसकेको बताए। ओझाले राष्ट्रिय संस्कृति नीति पनि बनिसकेको र त्यसमा पनि नेपाली कला, संस्कृति, पुरातत्त्वको विकास र पिस्तारका लागि काम गर्ने भनिएको बताउँदै तर उक्त नीतिअनुसार राज्यले आवश्यक ऐन, कानुन बनाउने/संशोधन गर्ने काम नगरिदिँदा लघुचलचित्रकर्मी र म्युजिक भिडियोकर्मी मारमा परेका बताए ।
ओझाले नेपाली मौलिक संस्कृतिको संरक्षण र विस्तारका लागि नेपाली संस्कृतिमा आधारित चलचित्र, लघुचलचित्र तथा गीतहरू र म्युजिक भिडियो निर्माण गरिनुपर्नेमा जोड दिए । ओझाले यस्ता विषयमा बनाइने चलचित्र र म्युजिक भिडियो व्यापारिक र व्यावसायिक मात्रफनहुने हुँदा राज्यले केही सहायता गर्ने नीति लिनुपर्ने पनि बताए ।
चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दिनेश डीसीले चलचित्र नीतिअनुसार ऐन संशोधन हुन नसक्दा धेरै काममा समस्या भएको बताए। उनले २ वर्षमा आफू अध्यक्ष हुँदा चलचित्र क्षेत्रमा केही महत्त्वपूर्ण काम गरेको पनि बताए ।
विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले लाखौं जनको रोजीरोटीको सम्बन्ध जोडिएका लघुचलचित्र र म्युजिक भिडियोको सुरक्षा र सम्बर्धनका लागि सरोकारवाला संस्था र राज्यका निकाय संवेदनशील र जिम्मेवार हुनुपर्ने उल्लेख गरे । श्रेष्ठले हाम्रा गीत/संगीत विकृत हुँदै गएकामा चिन्ता व्यक्त गर्दै त्यसको प्रभावकारी नियमनको खाँचो पनि औंल्याए ।
परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले चलचित्रकर्मी र म्युजिक भिडियोकर्मीका सीमितता भएका तर राज्यले त्यसमा नियमन गर्दै प्रोत्साहन र सहयोगका नीति, ऐन र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । निरौलाले लाखौं कलाकर्मी, संगीतकर्मी र प्राविधिकको बिचल्ली नहुनेगरी राज्यले कदम चाल्नुपर्ने धारणा पनि राखे ।
संस्थाका महासचिव म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेले अब यी विषयमा सरोकारवालासँग बसेर छलफल गरी सञ्चार मन्त्रालय, संस्कृति मन्त्रालय, चलचित्र विकास बोर्डलगायत निकायमा प्रस्ताव गर्ने बताए ।
कार्यक्रममा साहित्यकार राधेश्याम लेकाली, लोकप्रिय कलाकारहरू मदनदास श्रेष्ठ, मिथिला शर्मा, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीलगायत उपस्थित थिए ।