
युएई : ‘जेम्सी लाइभ इन दुबई एन्ड अबुधाबी’ सांगीतिक कार्यक्रमका लागि चर्चित नेपाली र्यापर जेम्सी दुबई आइपुगेका छन् ।
एनइयु इभेन्ट्स युएईको आयोजनामा दीपावलीको अवसर पारेर आयोजना हुन लागेको उक्त सांगीतिक कार्यक्रम शनिबार नोभेम्बर ७ मा दुबई र आइतबार नोभेम्बर ८ मा अबुधाबीमा सञ्चालन हुनेछ ।
आयोजकका अनुसार शनिबार दुबईको बरदुबईस्थित याक एन्ड यति एभरेस्टमा पहिलो कार्यक्रम हुनेछ । त्यसैगरी, आइतबार अबुधाबीस्थित डब्लुटिसी मलको छैटौं तलामा रहेको द हब, जी६ क्लबमा दोस्रो कार्यक्रम आयोजना गरिनेछ ।
कार्यक्रममा र्यापर जेम्सीले आफ्ना चर्चित र्याप तथा सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । जेम्सीको आगमनसँगै युएईमा रहेका नेपाली संगीतप्रेमीहरूमा कार्यक्रमप्रति उत्साह थपिएको छ ।
आयोजकले यस कार्यक्रमको विशेष पक्ष सामाजिक सहयोग पनि रहेको बताउँदै कार्यक्रमबाट प्राप्त कुल नाफाको २५ प्रतिशत नेपालमा आवश्यकतामा रहेका व्यक्तिहरूको सहयोगका लागि छुट्याउने घोषणा गरेका छन् ।
मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई समेत जोडिएको यस कार्यक्रमले युएईस्थित नेपाली समुदायमा सांगीतिक उत्साह ल्याउने आयोजकले जनाएको छ ।