काठमाडौंः सिरियाको दोस्रो शहर अलेप्पो राष्ट्रपति बसर अल असदको सरकारको नियन्त्रणमा नरहेको बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्थाले आइतबार जनाएको छ । ‘हयात तहरीर अल–शाम र सहयोगी विद्रोही समूहहरूले कुर्दिश सेनाद्वारा नियन्त्रित छिमेकहरू बाहेक ‘अलेप्पो शहरलाई नियन्त्रण गरेका छन्’, युद्ध अनुगमनकारी संस्था, सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जारी एक विज्ञप्तिमा भनिएको छ ।
‘सन् २०११ मा द्वन्द्व सुरु भएयता पहिलो पटक अलेप्पो सहर सिरियाली सरकारी सेनाको नियन्त्रणबाहिर पुगेको हो’, संस्थाका प्रमुख रामी अब्देल रहमानले एएफपीसँग बताए । सिरियाली सेनाले विद्रोहीहरू अलेप्पोको ‘ठूलो भागमा’ प्रवेश गरेको स्वीकार गर्दै ‘सरकार पक्षधर सशस्त्र बलका दर्जनौँ व्यक्ति मारिएको र अन्य घाइते भएको’ बताएको छ ।
दुई महिना लामो युद्धपछि इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच छिमेकी लेबनानमा युद्धविराम लागू भएकै दिन बुधबारदेखि लडाकुहरूले इरानी र रुसी समर्थित सिरियाली सरकारका सेनाविरुद्ध व्यापक आक्रमण सुरु गरेका थिए ।
सिरियाली सेनाले ‘सशस्त्र आतङ्कवादी सङ्गठनहरू’ले ‘अलेप्पो र इदलिब मोर्चामा विभिन्न कोणबाट व्यापक आक्रमण’ गरेको र ‘१०० किलोमिटर (६० माइल) भन्दा बढी दूरीमा भीषण युद्ध भएको’ पुष्टि गरेको छ । केही दिनयता भएको झडपमा मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ३११ पुगेको छ जसमा एचटीएस र सम्बद्ध समूहका १८३ एचटिएस लडाकू र १०० सरकार समर्थित सेनाका साथै २८ सर्वसाधारण रहेका छन् ।
सिरियामा सन् २०११ मा राष्ट्रपति बशर अल असदको सेनाले प्रजातन्त्र पक्षधर प्रदर्शनमा कडाइ गरेपछि गृहयुद्ध सुरु भएको थियो । त्यसयता सिरियामा पाँच लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ, लाखौँ मानिस विस्थापित भएका छन् र देशको पूर्वाधार र उद्योगधन्दामा व्यापक क्षति पुगेको छ ।
पछिल्ला वर्षहरूमा यो द्वन्द्व जिहादी र असदका सहयोगी रुस, इरान र हिजबुल्लाहलगायत विदेशी शक्तिहरूबीच जटिल युद्धमा परिणत भएको छ। सेनाले युद्धमा गुमेको अधिकांश भूभागमा पुनः नियन्त्रण कायम गरे पनि जिहादी र उनीहरूका सहयोगीहरू रहेको क्षेत्रमा सन् २०२० देखि युद्धविराम सुरु भएको थियो । सिरियासँगको छिमेकी र असद विरोधी विद्रोहलाई समर्थन गर्ने टर्की समर्थित जिहादी र अन्य समूहले यसै साता सरकारी सेनाविरुद्ध ठूलो आक्रमण सुरु गरेका थिए ।