२०८१ मंसिर २० गते बिहिवार / Dec 05 , 2024 , Thursday
२०८१ मंसिर २० गते बिहिवार

सोच्न नसकिएको पाटो

ADV
मध्यान्ह
२०८१ मंसिर १७ गते ०७:३६
सोच्न नसकिएको पाटो

–नारायण गाउँले

सोच्नुस् त, ६०–७० वर्षअघि एउटा विश्वविद्यालयलाई कीर्तिपुरमा त्यति धेरै जग्गा छुट्याउनुपर्छ भन्ने दूरदृष्टि कसरी आयो होला ? नेपालको दरबार क्षेत्रभन्दा विश्वविद्यालयको क्षेत्र ठूलो देखिन्छ । विश्वविद्यालय भनेको ‘बिल्डिङ’ मात्र होइन भन्ने त हामीले बुझेका रहेछौं नि ! आज क्रिकेटको क्षेत्रमा अलिकति भए पनि त्यसले लाज धानेको छ ।

स्मरण रहोस्, चितवनमा बन्दै गरेको धुर्मुस रंगशाला पनि यही विश्वविद्यालयको कृषि अनुसन्धानका लागि छुट्याइएको जग्गा मासेर बन्दै छ । दशरथ रंगशाला मात्रै नबनेको भए हाम्रो खेलकुद कहाँ हुन्थ्यो होला ? ६० वर्षअघि बनेका सरकारी स्कुल र कलेज सम्झिनुभयो भने बिल्डिङ सानो थियो होला तर खेलकुद र परेड खेल्नका लागि ठूलाठूला चौर थिए । वर–पीपल, समी, आँपका ठूलाठूला रूख थिए । युरोपमा ५० वर्षअघि विद्यालयसँग जस्तो चौर थियो, आज पनि त्यस्तै छ । तर, हामीले बिस्तारै लुछ्दै गयौं । सटर बनाएर भाडा लगाउने भन्दै रूख काटिए, खेल्ने चहुर मासियो । आज तपाईंले पढेको स्कुल उस्तै छैन । प्रजातन्त्र आउनु केही वर्षअघि मात्रै खुलेको महेन्द्र संस्कृत विश्वविद्यालयसँग मात्र १४ सय बिघाजति जग्गा थियो । धेरैले दान दिएका थिए । आज ४०० बिघा पनि छैन ।

माओवादीले झण्डा गाडेर जग्गा कब्जा गरेपछि आज राजनीतिक दलहरूको भोटर बैंक बनेको छ त्यो । त्रिभुवन विश्वविद्यालयको जग्गा त कति मिचिएको छ कति । दलहरू नै लागेपछि कसको के लाग्छ ? कीर्तिपुरकै जग्गा पनि सग्लो छैन । दुर्भाग्य के छ भने, प्रजातन्त्र आएपछि सरकारी स्कुल–कलेजका लागि जग्गा थपिएका उदाहरण विरलै पाइन्छ । मास्ने उदाहरण जति पनि छन् । कहाँ खेल्ने ? कहाँ सिक्ने ? कहाँ घुम्ने ? कहाँ सास फेर्ने ? गौचरनजति सबै मासिए, लुटिए । टुँडिखेल र खुला मंच कब्जा भयो । भृकुटीमण्डप कब्जा छ । खोला किनारजति सुकुम्बासीका नाममा लालपुर्जा बाँडियो ।

बेलायतको बकिंघम प्यालेस वरपर खुला रूपमा हिँड्न पाइन्छ, दरबारका विशाल पार्कहरू निःशुल्क छिर्न र घुम्न पाइन्छ । हाम्रो नाम मात्रको एक मुठी पार्क छिर्न पनि पैसा तिर्नुपर्छ । नारायणहिटी छिर्न पैसा लाग्छ । त्यहाँको खालि ठाउँमा ‘मर्निङ वाक’ गर्न सकिन्नँ । काठमाडौंमा ठूलो कन्सर्ट गर्नुपर्‍यो भने कहीँ ठाउँ छैन । आज निजी विद्यालय र कलेजले पैसा भएपछि सम्बन्धन पाउँछन्, अनुमति पाउँछन् । खेल्ने मैदान त छाडौं, भूकम्प जाँदा या आगलागी हुँदा बाहिर निस्किने खुला ठाउँ पनि तीसँग छैन । न पार्किङ छ, न हरियाली छ, जबकि सरकारले खुला ठाउँबारे एउटा नीति मात्रै बनाए पनि पुग्छ ।

आज विश्वविद्यालय बनाएको भए हामीले ४ बिघा जग्गा पनि नछुट्याउने रहेछौं । तल सटर, माथि विश्वविद्यालय ! कहाँ मैदान, कहाँ कृषि अनुसन्धान ? आज देश क्रिकेटमय भएको छ । हिजो सपना जस्तो लाग्ने इभेन्ट आज आफ्नै आँखा अगाडि सम्पन्न हुँदै छ । विश्वका उत्कृष्ट खेलाडी हाम्रो मैदानमा, हाम्रो स्थानीय जर्सीमा खेल्दै छन् ।

हिजो हाम्रो खेलाडीले आईपीएल खेलेर २० लाख कमायो भनेर गफ गर्ने हामी आज तिनलाई तलब र पारिश्रमिक दिँदै छौं ! कस्तो रोमाञ्चक ! देशका मुख्य शहरमा प्याराफिट, फ्लडलाइट र अन्य सामान्य पूर्वाधारसहितका ३ वटा मात्र स्टेडियम भइदिएका भए पनि यो क्रिकेटको माहोल र ती शहरको अर्थतन्त्र कस्तो हुँदो हो ! यो अकर्मण्यताको जिम्मा हाम्रो हो, दोष हाम्रो हो । हाम्रो पुस्ता वास्तवमै निकम्मा र जिन्दावाद–मूर्दावादमै तुहिएको पुस्ता बन्यो । अबको पुस्ता पक्कै सिर्जनशील बन्ने छ । (सामाजिक संजालबाट ।)

ADVADV

सम्बन्धित खबर

Advertise