इटहरी : राज्यले अपांगता भएका व्यक्तिहरूका लागि करोडौं रकम विनियोजन गरेपनि वास्तविक लाभार्थीको हातमा नपुगी दुरुपयोग भइरहेको इटहरीमा आयोजित एक कार्यक्रममा उठाइएको छ । सुनसरीको इटहरीमा मंगलबार ३३ औँ अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा आयोजित अपांगता अधिकारसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा सहभागी अपांगता भएका व्यक्तिहरूले राज्यबाटै ठगिएको गुनासो गरेका हुन् ।
सामाजिक अभियन्ता तथा अधिवक्ता रमेश पोखरेलले अपांग व्यक्तिहरूलाई परिवारभित्रैबाट भेदभाव हुने गरेको कटु यथार्थ व्यक्त गरे । उनले राज्यले अपांग व्यक्तिहरूको हकअधिकार संरक्षणका लागि लाखौं रकम विनियोजन गरे पनि कार्यान्वयन फितलो रहेको गुनासो गरे । इटहरीको सार्वजनिक शौचालयदेखि विद्यालय वा सरकारी कार्यालयसम्म पनि अपांगमैत्री वातावरण नभएको उनको भनाइ थियो ।
पूर्वाञ्चल अपांग तथा असाहाय वृद्ध सेवा केन्द्र इटहरीकी संस्थापक तृप्ता मगरले इटहरीको राजमार्गहरू अपांगमैत्री नभएको बताइन्। सार्वजनिक बसहरूमा अपांगता भएका व्यक्तिहरूलाई चढाउन नमानेको र अन्य सेवा–सुविधामा सरकारको चासो नदेखिएको गुनासो पनि उनले पोखेकी छिन् । सरकारले अपांगता भएका व्यक्तिहरूलाई दया र मायाभन्दा पनि अवसर दिनुपर्ने अधिकांस वक्ताहरूको धारणा थियो । कार्यक्रमकी अध्यक्ष अपांगता संरक्षण मञ्च सुनसरीकी अध्यक्ष दिलकुमारी राईले स्थानीय सरकारले अपांगता भएका व्यक्तिहरूका लागि छुट्याइएको बजेट अपुग भएको र कार्यक्रम ल्याउन ढिलाइ भइरहेको बताइन् ।
कार्यक्रमकी विशिष्ट अतिथि इटहरी उपमहानगरकी उपमेयर संगीता कुमारी चौधरीले अघिल्लो वर्ष ८०/८१ मा स्थानीय सरकारको दायित्वअन्तर्गत अपांगता भएका व्यक्तिहरूलाई आवश्यक सामग्रीहरू वितरण गरिएको जानकारी दिइन् । अपांगता भएका व्यक्तिहरूको विवरण संकलन गरी आवश्यक सामग्री वितरण गर्ने र समय समयमा सिपमूलक तालिमको व्यवस्था गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरिन् ।
कार्यक्रमकी प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य मिनाकुमारी श्रेष्ठले अपांगता भएका व्यक्तिहरूका लागि थप कानुन निर्माण प्रक्रियामा रहेको र आवश्यक सल्लाह सुझाव माग गरिरहेको बताइन् । बजेट र सीपमूलक तालिमका लागि सम्बन्धित पक्षसँग समन्वय गरी सक्दो सहयोग गर्ने वचन दिइन् । उनले अपांगता भएका व्यक्तिहरूलाई राज्यले नै व्यवस्थापन र रोजगारी दिनुपर्नेमा जोड दिइन् ।
‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा दुई जनालाई सम्मान गरिएको थियो । अपांगता भएर पनि समाजमा सकारात्मक सन्देश दिँदै सक्षम सरह काम गरी देशभर उदाहरणीय बनेकी तृप्ता मगर र सडक मानवको उद्धारमा तल्लीन रहँदै समाजमा प्रेरणादायक काम गरेकी माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेललाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरियो। सम्मानपछि दुवैजनाले आफ्नो क्षेत्रमा थप सक्रिय भएर काम गर्ने ऊर्जा प्राप्त भएको बताए ।