प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आइतबार संघीय संसद सचिवालयमा आफ्नो पार्टी प्रमुख विपक्षी दल भएको दावी सहित सेवासुविधाको माग गरेको छ । जबकी संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सात दलीय गठबन्धनको सरकार बनेकाले कांग्रेस स्वतः प्रमुख विपक्षी दल हुनुपर्ने हो । किनकि संसद्को दोस्रो ठूलो दल नेकपा एमालेको समर्थनमा बनेको यो सरकारमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टी सहभागी छ । जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले पनि सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी छैन । जसपा र नागरिक उन्मुक्तिले प्रचण्डलाई प्रधानमन्त्रीको दावी गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको पत्रमै हस्ताक्षर गरेका थिए ।
तर कांग्रेसले प्रमुख विपक्षी दलको दावी नै पेश गर्नुपर्ने अवस्था भने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकाले सिर्जना भएको हो । २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा बाहेक २६८ सांसदले विश्वासको मत दिएका थिए । यही तथ्य अगाडि सारेर नेमकिपाका सांसद प्रेम सुवालले आफ्नो दललाई प्रमुख विपक्षी तोकिदिन सभामुख देवराज घिमिरे समक्ष निवेदन दिएको छ । त्यसको भोलिपल्टै कांग्रेसले आफ्नै दल प्रमुख विपक्षी भएकाले सेवासुविधा माग गर्दै निवेदन दिएको छ । कांग्रेसले सरकारलाई विश्वासको मत दिएपनि आफ्नो दल नै प्रमुख विपक्षी भएको तर्क गरिरहेको छ । २०५१ सालमा पनि एमालेको सरकारलाई विश्वासको मत दिएर सरकारमा सहभागी नभएको नजीर रहेको कांग्रेसले बताइरहेको छ ।
अब प्रमुख विपक्षी दल को बन्छ भन्ने अधिकार भने कानूनले सभामुखलाई दिएको छ । किनकि १० प्रतिशत सांसद संख्या नरहेको शक्ति मात्रै विपक्षमा रहे सभामुखले प्रमुख विपक्षी तोकिदिने प्रावधान छ । यही कानूनी प्रबन्धका कारणले कांग्रेस निवेदन लिएर आफू नै प्रमुख विपक्षी शक्ति भएको दावी गर्नुपर्ने अवस्थामा पुगेको छ । एकप्रकारले यो कांग्रेसका निम्ति दुखद् अवस्था हो । तर सत्तारुढ दलहरुसँग सरकार बनाउन आवश्यक भन्दा बढी सिट संख्या प्रष्ट हुँदाहुँदै कांग्रेसले दिएको विश्वासको मतबारे विश्वासिलो तर्क कांग्रेसले गर्न सकेको छैन । नेताहरुले भने राष्ट्रिय सहमतिमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख चयन गर्न प्रचण्डलाई विश्वासको मत दिएको बताइरहेका छन् । यदि यस्तो भनाइ नै सत्य हो भने कांग्रेसले हिडेको यो बाटो गलत छ । किनकि कांग्रेस संविधानतः प्रमुख विपक्षी शक्ति हो । सरकारको भन्दा कम भूमिका प्रमुख विपक्षी दलको हुँदैन । तर संविधानको व्यवस्था लत्याएर कांग्रेसले पदीय लोभमा गरेको निर्णयमै अडिने अनि प्रमुख विपक्षी दलको दावी गर्नु यसकै इतिहास र पार्टीको मान्यता बिपरीत छ । त्यसबाट कांग्रेस पछि हटेर संवैधानिक भूमिका निर्वाह गर्नु नै उचित हुनेछ । त्यसैपनि प्रमुख विपक्षी दल भनेको भावी सरकार हो, यो तथ्य कांग्रेसले बुझ्नुपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies