काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिले सोमबार (आज) पदवहाली गर्ने भएको छ । सोमबार अपराह्न १ बजे संघको बत्तीसपुतलीस्थित कार्यालयमा पदवहाली गर्ने कार्यक्रम तय भएको नवनियुक्त महासचिव मेघनाथ भुर्तेलले मध्यान्हलाई जानकारी दिए ।
संघको २९ औं साधारण सभा अन्तर्गत दुई वर्षे कार्यकालका लागि शुक्रबार भएको निर्वाचनमा मिश्रित परिणाम आएको छ । व्यवसायीहरूले चार प्यानल बनाई संघको नेतृत्वका लागि प्रतिस्पर्धा भएकोमा तीन प्यानलबाट संघ कार्यसमितिमा प्रतिनिधित्व भएको छ ।
निर्वाचन परिणामअनुसार निर्वाचित १७ सदस्यीय कार्यसमितिमा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष, तीन उपाध्यक्ष र कोषाध्यक्ष गरी ५ पदाधिकारी तथा ४ सदस्यसहित ९ जना, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएशनका महासचिव र सचिव गरी दुई पदाधिकारी तथा ५ सदस्य गरी ७ जना र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको संयुक्त प्यानलकी एक सदस्य निर्वाचित भएका छन् ।
अध्यक्षमा अरोरा ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक राजेन्द्र भण्डारी निर्वाचित भए । उनी नेकपा एमाले निकट प्रगतिशील मञ्च नेपालका अध्यक्ष समेत हुन् । संघ निर्वाचनमा खसेको ६ सय ४६ मतमध्ये अध्यक्षमा निर्वाचित भण्डारीले १ सय ९९ मत ल्याएका थिए । संघको प्रथम उपाध्यक्षमा मञ्चका वरिष्ठ उपाध्यक्ष ओमेगा पावर माइण्डस प्रा.लि.का सञ्चालक डिक बहदुर खत्री (कुमार), द्वितीय उपाध्यक्षमा अलकरीम ह्युमन रिसोर्सेज प्रा.लि.का सञ्चालक सञ्जु गुरुङ र तृतीय उपाध्यक्षमा सिम्रिक ओभरसिज प्रा.लि.का सञ्चालक रोशन कटुवाल निर्वाचित भएका छन् । महासचिवमा नील कमल ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक मेघनाथ भुर्तेल, सचिवमा डाइनामिक स्टाफिङ सोलुशन प्रा.लि.का सञ्चालक कर्णराज कटुवाल र कोषाध्यक्षमा रिलायन्स रिक्रुटमेन्ट सर्भिसेज प्रा.लि.की सञ्चालिका सरिता घले निर्वाचित भएकी छन् ।
सदस्यहरुमा ग्रोथ प्रोसेस इन्टरनेशनल इम्प्लोइमेन्ट प्रा.लि.का सञ्चालक राजेन्द्र बस्नेत, शुभ हारती म्यानपावर प्रा.लि.का सञ्चालक विक्रम श्रेष्ठ, दि एक्वायर ग्रुप प्रा.लि.की सञ्चालिका देवी माया थापा, न्यू अल्फा एचआर सर्भिसेज प्रा.लि.का सञ्चालक बैकुण्ठप्रसाद पौडेल (वैभव), सिल्भर कर्नर इन्टरनेशनल प्रा.लि.का सञ्चालक कैलाश पाठक, माउन्टेन ग्रुप इन्टरनेशनल प्रा.लि.का सञ्चालक देउमान नेम्वाङ (डि.एम. सुब्बा) निर्वाचित भएका छन् ।
कार्यसमितिका अन्य सदस्यहरूमा अल हाया ओभरसिज प्रा.लि.का सञ्चालक आनन्दप्रसाद कोइराला, युरो एशिया म्यानपावर प्रा.लिका सञ्चालक नारायण भुषाल, फाइन जब रिक्रुटमेन्ट प्रा.लि.का सञ्चालक तोरणकुमार कार्की र उज्यालो ओभरसिज प्रा.लि.का सञ्चालक चन्द्रबहादुर लिम्बू निर्वाचित भएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies