काठमाडौं : नेपालको उत्तरी छिमेकी मुलुक चीनसँग पनि नेपालको व्यापार घाटा बढ्दै गएको छ । भारतपछि धेरै वस्तु आयात हुने दोस्रो मुलुक चीनसँग नेपालको व्यापार घाटा बढ्दो रहेको तथ्यांकले देखाएको छ । दुई छिमेकी देशमा निर्यात नबढ्ने तर, आयात निरन्तर बढ्दा नेपालको व्यापार घाटा चिन्ताजनक बन्दै गएको छ । अर्थविद् डा. चन्द्रमणि अधिकारीले निर्यातको लागि आवश्यक पूर्वधार नबन्दा चीनबाट आयात बढ्दापनि निर्यात नभएको बताउँछन्, उनले भने ‘भारतसँग १९९६ व्यापार सन्धि गर्यौं, दुई मुलुकबीच व्यापार अभिवृद्धि गर्ने र नेपालको निकासी बढाउन भन्ने नै थियो तर त्यो भएन, चीनसँगको व्यापार समझदारीमा पनि व्यापार विस्तार नै भनियो, चीनसँगको समझदारीले समेत भारतमार्फत् भएको आयातलाई मात्र ट्रान्सफर गर्ने भएको छ ।’
चीनले ८ हजार वस्तुमा भन्सारमा सुविधा दिएको छ तर, सुविधा दिएका वस्तु उत्पादन गर्न नै नेपालले सकेको छैन । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिकसम्म नेपाललाई चीनसँगको व्यापारमा १ खर्ब २ अर्ब ५० करोड १ लाख रुपैयाँ घाटा भएको छ । चार महिनाको अवधिमा चीनबाट १ खर्ब ३ अर्ब १८ करोडको वस्तु आयात हुँदा नेपालले मात्रै ६८ करोड २३ लाखको निर्यात गरेको छ । पछिल्लो केही वर्ष यता चीनसँगको व्यापार घाटा बढिरहेको छ । गत आर्थिक वर्षमा पनि नेपाललाई चीनसँगको व्यापारमा ठुलो घाटा भएको छ । गत आव २०८०/८१ मा २ खर्ब ९८ अर्ब ७७ करोड ४६ लाखको सामान आयात गर्दा नेपालले चीनमा २ अर्ब ५८ करोड ८६ लाखको वस्तु निर्यात गरेको थियो । गत वर्ष नेपालको चीनसँग व्यापार घाटा २ खर्ब ९६ अर्ब १८ करोड ६० लाख रहेको छ ।
हिमालय सिमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले नेपाल र चीनको व्यापार विस्तारको लागि सबै भन्दा पहिले दुई देशबीच रहेको नाकालाई व्यवस्थित गर्नुपर्ने बताउँछन् । उनले भने ‘सरकारले १३ वटा नाका खोल्ने घोषणा गरेपनि अहिलेसम्म २ नाका मात्र खुल्ला छ अरु खुल्न सकेको छैन, खुलेको नाकामा समेत व्यस्थित छैन, दुई देशबीचको कुटनीतिक तहबाटै चीनसँगको व्यापारमा देखिएका समस्यालाई समाधान गर्न आवश्यक छ, आयात धेरै छ तर निर्यात छैन ।’
उनले चीनबाट अहिले आयतमुखी व्यापार भएको र नेपालबाट निर्यात गर्नका लागि नाकामा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला बनाउन आवश्यक भएको बताए । त्यसले आयात निर्यात दुवैलाई सहज हुने उनको भनाइ छ । यस्तै नेपाल चीनबिचको व्यवसायी सन्धी पुराना भएको त्यसलाई पुनरावलोकन गर्न आवश्यक भएको उनले औंल्याएका छन् ।
यस्तै नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्ष कुमार कार्कीले चीनबाट सामान सहज रुपमा आइरहेको तर, नेपाली समान चीन लैजान निकै कठिन रहेको बताउँछन् । उनले भने ‘चीनसँग खुल्ला रहेको तातापानी र केरुङ नाका मात्र हुन्, चीनबाट सामान ल्याउन केही सहज भएपनि नेपाली समान निर्यात गर्न निकै कठिन छ, भन्सार नै महँगो छ, क्यारेन्टाइनमा समस्या छ, त्यसैले नेपालको व्यापार घाटा बढ्दो छ ।’
नेपालको कुल वैदेशिक व्यापारको करिब ८० प्रतिशत व्यापार भारतसँग छ भने बाँकी २० प्रतिशत मध्ये चीनसँग सबैभन्दा धेरै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारी भएको छ । यस्तै, प्रशोधित राँगाभैंसीको मासु निर्यातसम्बन्धी प्रोटोकल सम्झौताले दुई देश बीचको व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । तर, प्रधानमन्त्रीको सो भ्रमणमा नेपाल चीनबीचमा चुलिँदै गइरहेको व्यापार घाटालाई हटाउन ठोस पहल भने नभएको देखिन्छ ।