–नन्दलाल आचार्य
नगर वरपरका गाउँका चुमन, फेकन र किसुन मुसहर निकै प्रख्यात थिए । विशेष गरी चुमन माटो काट्थ्यो । फेकन काठका टुन ट्रकमा लाद्थ्यो । किसुन लकडी चिर्न सिपालु थियो । उनीहरूका श्रीमतीहरू बिल्टी, बौरिया र जिरिया घरकै सुसेधन्दा गरेर बस्थे । एक्लैदोक्लै कतै पनि काम गर्न जाँदैनथे । धान रोप्ने बेलामा, गोड्ने बेलामा र काट्ने बेलामा भने टाढा–टाढाबाट महाजनहरू खेताला खोज्दै उनीहरूकहाँ आउँथे । त्यस बेलामा भने उनीहरू समूहमा काम गर्न टाढा–टाढासम्म पनि पुग्थे ।
चुमन, फेकन र किसुनहरूको साँझको नित्यकर्म बेग्लै हुन्थ्यो । दिनभरि कमाएर ल्याएको केही पैसा साँझ र बिहान गरी दुई छाककोे भात–तरकारीको जोहो गर्न श्रीमतीलाई दिन्थे । अरू पैसा लिएर भट्टीमा छिर्थे । पिउँदा पिउँदै कहिल्यै बाटामै रात गुजार्थे । कहिले भने घर पुगेर श्रीमतीसँग नचाहिँदो गनगन गर्थे । कहिलेकाहीँ चाहिँ जोईपोइ कुस्ती लड्थे । दुनियाँलाई सित्तैमा मनोरञ्जन दिन्थे ।
एक पटक मातेर जथाभावी बक्तै हिँडेको अवस्थामा डियुटीका प्रहरीसँग जम्काभेट भयो । उनीहरू उल्टै प्रहरीलाई जिस्काउन थाले । प्रहरी कमाण्डर नयाँ थियो, युवा थियो, अलिक झ्वाकी थियो । उसले तुरुन्तै आदेश दियो, ‘केटा हो, यी धतुरे मोराहरूलाई भ्यानमा कोच । हिराशतमा रातभर माघे ठण्डीको स्वाद चाखून् ।’
‘हैन, हैन सर ! यी यहीँका बासिन्दा हुन् । दिनभर ज्याला मजदुरी गर्छन् । पसिनाको कमाइ रक्सीमा बगाउँछन् ।’ पुरानो प्रहरीले भन्यो, ‘यिनिहरूलाई थुनेर केही फाइदा छैन । श्रीमतीहरू खाना पकाएर यिनको बाटो हेरिराख्या होलान् ।’
‘कसैको अर्ती–उपदेश सुन्ने बानी छैन मेरो’, कमाण्डर कड्कियो, ‘आदेशको पालना भयो भएन, हुन्छ, हुँदैन ? म त्यत्ति मात्रै जान्दछु यत्तिबेला ।’
फलतः तीनै जना कोचिए प्रहरी भ्यानमा ।
रातभर गाईघाट नगर प्रहरी हिराशतमा चुमन, फेकन र किसुन थुप्रिए । उज्यालो भएपछि प्रहरी कमाण्डरले भन्यो, ‘क्षमायाचना गर्दै यस्तो गलत कदम कहिल्यै नदोहोर्याउने विश्वास दिलाओ, घर जान पाउँछौ ।’
‘सरकार, हामी कमाउन जान्दछु, जोगाउन जान्दैनौं’, चुमनले हात जोड्दै भन्यो, ‘बचपनदेखि लागेको आदत छोड्छु भन्दा पनि छुड्दैन । के गरौं, सरकार !’
‘अरे सर, हाम्रो बाबुबराजेले कमायो, खायो, दुनियालाई खिलायो र विन्दास पाराले जियो । मर्यो त विन्दास पाराले नै मर्यो ।’ फेकनले अघि सर्दै भन्यो, ‘उदेर्कै सन्तान हामी लागेको आदत झट्टै छाड्न कहाँ सक्छु र !’
प्रहरी कमाण्डर किसुनतिर फर्कियो ।
‘कुरा के भने नि पुलिस सर, हामीहरू पढे लेखेको छैन । काम गरे माम खान पाउँछौं ।’ किसुन फलाक्तै गयो, ‘यहाँ पहाडिया भाइबहिनीको संगतमा लागेर हामीहरूले सत्य बोल्न सिखेको छु । एक्कै पल्ट दारूपानी छाड्न सक्दिन । मनमा डर मानेर रहन्छु त जथाभावी गर्दिनँ । यत्ति विश्वास सरलाई दिलाउन सक्छु । हामी गरिप मान्छेलाई दया गरेर एकचोटी छाडिदिनुस् । काममा जान बेर भइसक्यो । साहूले गाली गर्छ ।’
‘उसो भए ठीकै छ । तिमीहरूलाई यहाँ राख्दा हामीलाई नै बोझ थपिन्छ । उता तिमरूका छोराछोरी भोकै हुन्छन् । यस केसलाई अघि बढाउँदा तिमरूका परिवारलाई ठूलो चोट लाग्ने रहेछ ।’ कमाण्डर थप्दै गयो, ‘तिमरू एउटा काम चाहिँ गर न त ! हामी सन्तुष्ट हुन्छौँ ।’
तीनै जनाले कमान्डरको मुहारतिर आँखा दौडाए ।
‘आजैबाट कबुल गर ! दिनभरि कमाओ । कमाइको आधा रकम भविष्यका लागि बचत गर । आधा भने परिवारको खर्चका लागि छुट्याओ । बेलुका पिउन मन भए श्रीमतीलाई ल्याउन लगाओ । बेलुका खाना खाएपछि सुत्ने बेलामा सुटुक्क सीमित पिओ, खाओ । र, चुपचाप सुत ।’ चेतावनी दिँदै कमाण्डरले थप्यो, ‘याद राख ! तिमेरूले पिएको श्रीमतीबाहेक छिमेकीले त के आफ्नै छोराछोरीले पनि थाहा पाउनुहुन्न, नि !’
तीन जना वाल्ल परेर सुनेको सुन्यै भए ।
‘नियम पालना गर्ने भए, आ–आफ्नो कामधाममा जाओ । नत्रभने केस अघि बढ्छ । सार्वजनिक मुद्दा लाग्छ ।’ कमाण्डर भन्दै गयो, ‘अब जेलमा सडिन्छौ कि, बानी परिवर्तन गर्छौ । भकुण्डो तिमरूकै कोर्टमा छ । के गर्नु, ‘भीरबाट खस्ने गोरुलाई राम, राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न’ क्यारे !’ अन्ततोगत्वा सर्त स्वीकारेर नयाँ जोस र सोचका ६ वटा पाइलाहरू अघि बढे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies