रौतहट : रौतहटमा बिहीबार भोजपुरी कलाकार खेसारीलाल यादवले बेजोड प्रस्तुति दिएका छन् । रौतहटको गढीमाई नगरपालिका -४ संग्राम्पुर सुन्दरपुरमा गढीमाई मेलाको अवसरमा बिहीबार आयोजित सांस्कृतिक कार्यक्रममा भोजपुरी गायकसमेत रहेका कलाकार खेसारीलालले लाखौं दर्शकमाझ आफ्ना सान्दार प्रस्तुति दिए ।
गढीमाई नगरपालिका -४ मा ५ वर्षपछि यस वर्ष पञ्चवर्षीय गढीमाई मेला लागेको छ । बाराको बरियारपुरमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेलापछि सबैभन्दा दोस्रो ठूलो मेलाको रूपमा रौतहटको सुन्दरपुरमा गढीमाई मेला लाग्ने गर्दछ ।
उक्त मेलालाई सभ्य र भव्य बनाउन मेला आयोजक समितिले भोजपुरी कलाकार खेसारीलाललाई प्रस्तुति दिन ल्याएको हो । कलाकार खेसारीलाललाई हेर्न रौतहट, बारा, सर्लाहीसहित विभिन्न जिल्ला तथा भारतको बिहारबाट पनि उल्लेख्य संख्यामा दर्शक बिहीबार रौतहटको सुन्दरपुर पुगेका थिए ।
मेला समितिका अध्यक्ष एवम् गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवको निमन्त्रणा स्वीकार गरी खेसारीलालले दोस्रो पटक रौतहट आएका हुन् । यसअघि मौलापुर मधानी महोत्सवमा पनि खेसारीलाल आएका थिए ।