
काठमाडौं : गायिका ईश्वरी बराल यमन ग्लोबल म्युजिक अवार्ड २०८३ कि बिजेता बनेकी छन् । बराल अवार्डको उत्कृष्ट पाँचमा पर्दै विजेता बन्न सफल भएकी हुन् । उनको चर्चित गीत 'खानदानी छोरी'ले अवार्ड प्राप्त गरेको हो ।
गायन र नृत्यसँगै लामो समयदेखि पत्रकारिता क्षेत्रमा पनि सक्रिय बरालका 'खानदानी छोरी', 'नरिसाउन होई', 'माया छ कि छैन', 'दही दिन्छु मही दिन्छु' लगायत गीत चर्चामा छन् ।
निरन्तरको मिहिनेत र सक्रियताका कारण बरालले गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी छन् ।

यमन ग्लोबल म्युजिक अवार्ड २०८३ को सफलताले कलाकारिता यात्रामा थप उत्साह र नयाँ अवसरको बाटो खुलेको भन्दै गायिका बराल उत्साहित छिन् ।
यमन इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा गत शनिबार काठमाडौंको नयाँबानेश्वरस्थित आइएनआइ सिनेमाहलमा आयोजित यमन ग्लोबल म्युजिक अवार्ड–२०८३ मा विभिन्न विधामा योगदान पुर्याउने स्रष्टा तथा कलाकारलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो ।
सम्बाहाम्फे प्रपर्टी डेभलपर्स प्रा.लि.का अध्यक्ष पूर्णबहादुर सम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा सुश्मा प्रोडक्सन ग्लोबल, सिक्किमकी सञ्चालक सुश्मा गुरुङ विशेष अतिथिका रूपमा सहभागी थिइन् ।
समारोहमा वरिष्ठ गायिका तारा थापालाई ‘दीर्घसाधना सम्मान’ प्रदान गरिएको थियो । लामो समयदेखि नेपाली गीत–संगीत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै थापालाई उक्त सम्मान प्रदान गरिएको कार्यक्रम संयोजक तारावीर पाण्डेले बताए । यस्तै, महाकाव्यकार खेमनाथ दाहाललाई ‘महाकाव्य साधना सम्मान’ प्रदान गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ गीतकार अम्बिका गुरुङ, गायिका मिलन नेवार, राजनराज सिवाकोटी, फुर्बा खाण्डु गुरुङ, प्रेमचन्द्र गुरुङ, रिकि लेप्चा, सविना भण्डारी, खिमानन्द आचार्य, शीतल कात्मविनी, शिव पराजुली, सुशील नेपाल, तुलसी बास्कोटा, शर्मिला गौतम र सोमराज तामाङलगायतलाई विशेष सम्मान गरिएको थियो ।