काठमाडौं : नेपाली कांग्रेसको अन्तरिक विवाद पुनः सतहमा आएको छ । महाधिवेशनको समय नजिकिँदै जाँदा पार्टीभित्र गुटगत मतभिन्नता र समानान्तर गतिविधि हुन थालेका छन् । कोशी प्रदेशमा देखिएको पछिल्लो विवाद यसैको उदाहरण हो ।
कांग्रेसको कोशी प्रदेशको पहिलो सम्मेलनलाई संस्थापनइतरका नेता डा. शेखर कोइरालाले बहिस्कार गरेका छन् । सम्मेलन शनिबार प्रदेश राजधानी विराटनगरमा भएको छ ।
विराटनगरमा पहिलो पटक भएको कोशी प्रदेश स्तरीय सम्मेलनमा इतर पक्षका नेता कोइरालाले बहिस्कार गरे । आसनग्रहणका लागि दोस्रो वरीयता नपाउने भएपछि कोइराला सम्मेलनमा सहभागी नभई चितवन गए ।
कोइराला शनिबार चितवनमा आयोजित २ वटा शोकसभामा सहभागी भए । पार्टीका पूर्वसदस्य उद्धव लोहनीका बुबा स्व. टेकबहादुर लोहनी र केन्द्रीय सदस्य दिनेश कोइरालाका बुबा स्व. भीष्मकान्त कोइरालाको शोकसभामा कोइराला सहभागी भएका थिए ।
गृहनगर विराटनगरमा हुने प्रदेश सम्मेलनमा सभापतिपछिको ‘पोर्टफोलियो’मा आफूलाई आसन ग्रहण गराउनुपर्ने प्रस्ताव कोइरालाको थियो । तर, प्रदेश समितिले केन्द्रीय समितिको ‘रोलक्रम’अनुसार आसन ग्रहण गराउने भनेपछि कोइरालाले बहिस्कार गरेका उनी निकट एक नेताले बताए ।
उनका अनुसार वरीयताका कारण सम्मेलनमा सहभागी नहुनु कोइरालाको बहाना मात्र हो । उनले कार्यक्रममा सहभागिता नजनाएर सभापति देउवालाई विराटनगरबाट चुनौती दिएका छन् ।
पार्टी सभापति देउवापछिको वरीयतामा उपसभापति पूर्णबहादुर खड्का छन् । १४औं महाधिवेशनमा सभापतिमा पराजित कोइरालाले खड्काभन्दा माथि आफ्नो वरीयता हुनुपर्ने बताउँदै आएका छन् ।
कांग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईले केन्द्रीय समितिले बनाएको ‘पोर्टफोलियो’लाई नै प्रदेश समितिले व्यवस्थापन गरेको बताए ।
कोइरालाले प्रदेश सम्मेलनअघि १८ मंसिरमा विराटनगरमा प्रदेशस्तरीय पालिका सभापतिको सम्मेलन आयोजना गरेका थिए । सम्मेलन १९ मंसिरमा बेलबारीमा सम्पन्न भएको थियो । भेलामा ११३ जना पालिका सभापति सहभागी थिए । शेखर समूहले गरेको कार्यक्रमलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
‘कार्यक्रम नराम्रो होइन तर यो कार्यक्रमलाई समानान्तर गतिविधिकै रूपमा केन्द्रले पनि हेरेको छ’, एक नेताले भने ।
यो भेला रोक्न संस्थापन पक्षले प्रयास गरे पनि सकेन । भेला नगर्न केन्द्रले जारी गरेको सर्कुलर कोइराला पक्षले अवज्ञा गरेको थियो । कांग्रेसको कोशी प्रदेश समितिमा संस्थापन पक्षको बहुमत छ ।
सम्मेलनमा उपसभापति खड्का, महामन्त्रीहरू गगनकुमार थापा, विश्वप्रकाश शर्मा, गुहमन्त्री रमेश लेखक, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेताहरू सहभागी थिए ।
कोइराला निकट नेताहरूका अनुसार विराटनगरमा पालिका सभापतिहरूको भेला गरेर कोइरालाले पार्टी संस्थापनमाथि दबाब बढाएका छन् ।
विराटनगरको चर्चा
कांग्रेसको राजनीतिमा विराटनगर सधैं चर्चाको केन्द्र बन्दै आएको छ । कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गृहनगर विराटनगर पुगेर महत्त्वपूर्ण घोषणा गर्थे । कोशी शेखरको गृह प्रदेश पनि हो । गृह प्रदेशमै नेता कोइरालालाई संस्थापन पक्षले निरन्तर ‘कर्नर’मा पार्ने काम भएकाले पनि घटनाक्रमले समानान्तर जस्तै देखिने कार्यक्रम गर्नुपरेको शेखर समूहका नेताहरू बताउँछन् ।
गिरिजाप्रसादकै सिको शेखरले गर्न थालेको निकटवर्तीहरू बताउँछन् । शेखरले प्रदेश सम्मेलन बहिस्कार गरे पनि पूर्वमहामन्त्री डा. शशांक कोइराला भने उपस्थित थिए । सभापति देउवा सम्मेलनपूर्व शनिबार बिहान शशांक निवास पुगेका थिए ।
कांग्रेसका कार्यकर्ताहरू २ कोइरालाको बेमेलको प्रभाव पार्टीको आगामी १५औं महाधिवेशनमा पर्ने बताउँछन् । ‘काठमाडौंमा उहाँहरू कोइराला परिवार एकै रहेको भन्नुहुन्छ तर बाहिर अलगअलग भूमिका देखाउनुहुन्छ’, शेखर निकट एक नेताले भने ।
सभापतिमा दाउ
शेखरले महाधिवेशनमा समयमै हुनुपर्ने दबाब सिर्जना गरिरहेका छन् ।
दोस्रो पटक सभापति बनेका देउवाको कार्यकाल ३ वर्ष पूरा भएको छ । विधानअनुसार वर्तमान कार्यसमितिको अवधि १ वर्ष बाँकी छ । विशेष परिस्थिति सिर्जना हुँदा मात्र थप १ वर्ष कार्यकाल लम्ब्याउन सकिने सुविधा विधानमा छ ।
तर, त्यो विशेष सुविधाको फाइदा देउवाले उठाउन सक्ने शंका नेता शेखरको छ । त्यसैले उनी समयमै महाधिवेशन हुनुपर्ने दबाब सिर्जना गरिरहेका छन् ।
गत साउनमा भएको केन्द्रीय समिति बैठकमा शेखरले महाधिवेशन लम्ब्याउने प्रपञ्च नगर्न देउवालाई ठाडै चेतावनी दिएका थिए ।
साउनमै शेखरले महानगरका सभापतिहरूलाई डाकेर महाधिवेशनबारे छलफल गरेका थिए । समयमा महाधिवेशन नभए पार्टी धरासायी हुने र त्यसको असर आगामी निर्वाचनहरूमा पर्ने निष्कर्ष कोइरालाको छ ।
शेखरले महाधिवेशन समयमै हुनुपर्ने दबाब सिर्जना गरेपछि देउवाले पटकपटक ‘महाधिवेशन नियमित समयमै हुन्छ’ भन्दै नेता तथा कार्यकर्तालाई आश्वस्त पार्दै आइरहेका छन् ।
विशेष गरेर नेकपा माओवादी केन्द्रसँगै सत्ता गठबन्धन हुँदा कोशीमा शेखर पक्षले विद्रोह गर्दै एमालेसँगको सहकार्यमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएको थियो । तर, एमालेसँग कांग्रेसको सत्ता सहकार्य भएपश्चात् शेखर समूह यहाँ पेलानमा पर्यो । यतिसम्म कि शेखरको समूहले कसैलाई पनि मन्त्री बनाएर पठाएन ।
यसबाहेक पनि पार्टीभित्र संस्थापन पक्षबाट निरन्तर कर्नरमा पारिनु, विभाग तथा विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थामा पनि भनेजति भाग नपाउनुलगायत कारणले कोशीमा प्रदेश सम्मेलन अघि ‘काउन्टर सम्मेलन’ गरिएको विश्लेषण गरिएको छ ।
शेखरले गरेको भेलामा सहभागीहरूले उनलाई १५औं महाधिवेशनबाट पार्टी सभापति बनाउने र २०८४ सालको आमनिर्वाचनपछि प्रधानमन्त्री बनाउनेसम्मको प्रतिबद्धता जनाएका थिए । उनीहरूले शेखरलाई वरिष्ठ नेताको मान्यता दिनुपर्ने, प्रदेश सम्मेलनमा उपसभापतिहरूभन्दा माथि आसन ग्रहण गराइनुपर्ने लगायतका विषय पनि उठाएका छन् ।
चितवनमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै शेखरले पार्टीको आगामी महाधिवेशनमा सभापतिका लागि आफू उम्मेदवार हुने स्पष्ट पारे । ‘सभापतिका लागि आफ्नो दाबीमा कुनै अन्योल छै्रन’, उनले भने । महामन्त्री गगन थापासँगको सम्बन्धबारे उनले स्पष्ट गर्दै भने, ‘गगनजीसँग मेरो खटपट छैन । उहाँ उठ्नुहुन्छ कि हुँदैन, त्यो उहाँलाई नै सोध्नुस् । तर, बाँकी सबै विषयमा छलफल गरेर अगाडि बढ्छौं ।’
उता, शनिबार नै विराटनगरको कार्यक्रममा महामन्त्री थापाले पार्टीभित्र भाग खोज्नेले जिम्मेवारी पनि लिनुपर्ने बताए । शेखरप्रति लक्षित गर्दै उनले भने, ‘पार्टीमा फरक विचार राख्ने मान्छेलाई पनि समेट्नुपर्छ भनेर अहिले पनि भनिरहनुभएको छ । जिम्मा पनि त लिनुपर्यो नि !’
पार्टीको १४औं महाधिवेशनमा शेखर समूहबाट महामन्त्रीमा विजयी भएका थापा अहिले देउवासँग नजिकिने प्रयासमा छन् । आगामी महाधिवेशनमा पार्टी सभापतिका दाबेदारसमेत मानिने थापा देउवासँग नजिकिएर संस्थापन पक्षको उम्मेदवार बन्ने कोसिस गरिरहेका छन् । उनले नेता कोइरालले गत मंगलबार कोशी प्रदेशमा गरेको भेलाको समेत विरोध गरे ।
विराटनगरमै पूर्वमहामन्त्री सिटौला पनि शेखरसँग रुष्ट देखिए । ‘मेरा साथी शेखरजीले यहीँ बसेर कुरा गर्नुभएको भए हुन्थ्यो । केन्द्रीय समितिमा राखे पनि हुन्थ्यो । अब यही विषयलाई दिएर धेरै उतारचढाव नगरौं’, उनले भने ।
संस्थापन पक्षले शेखर समूहले विराटनगरमा आफ्नो शक्ति प्रदर्शन गरेको टिप्पणी गर्छ । संस्थापन समूहले कोइरालालाई अरूले उचालेको र यसबाट देउवासँगको सम्बन्धमा पनि असर पर्ने बताउँछ ।
खासमा शेखरको एक मात्र नजर भनेको पार्टी सभापति हो । उनले आफ्नो समूह बनाएर १४औं महाधिवेशनमा सभापतिमा लडे । ‘एक पटक यसै पटक’ नारा दिएर १४औं महाधिवेशनमा सभापति लडेका शेखरले १५औं महाधिवेशनमा सभापति लड्ने घोषणा गरिसकेका छन् । त्यसमा महामन्त्री थापाले पनि आफूलाई समर्थन गर्ने कोइरालाको विश्वास छ ।
देउवालाई तेस्रो कार्यकालको सभापति हुन पार्टी विधानले रोकेको छ । त्यसबाहेक विधान संशोधन गर्ने सम्भावना नरहेको र तेस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा नआउने देउवाले घोषणा पनि गरेका छन् । त्यसैले पनि शेखर पार्टी सभापति हुनेमा ढुक्क छन् ।