२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

माया घरमा राधाकृष्ण सत्संग भजन तथा शिव पुराणको समापन

draupadi film
तेज बन
२०८१ मंसिर २४ गते २०:५८
माया घरमा राधाकृष्ण सत्संग भजन तथा शिव पुराणको समापन

इटहरी : सुनसरीको इटहरीस्थित माया घर नेपालमा  राधाकृष्ण सत्संग भजन तथा शिव पुराणको समापन गरिएको छ । ६ महिना अघि तनहुँबाट सुरू भएको पुराण आइतबार इटहरीस्थित मायाघरमा समापन गरिएको हो । पुराणसँगै आइतबार शिव गंगा आरती पनि गरिएको थियो ।

सामाजिक सञ्जाल टिकटकबाट लगातार ६ महिनासम्म प्रत्यक्ष प्रसारण गरिएको महापुराण सकारात्मक सुझावसहित समापन गरिएको राधाकृष्ण सत्संग भजन मालाका प्रगती पोख्रेलले बताए । 

‘मुलुकमा हिन्दु राष्ट्रको स्थापनासँगै दिगो विकास र शान्ति कायम होस्’ भन्ने मूल भावसहित आयोजना गरिएको महापुराण नेपालका विभिन्न जिल्लाहरू लगायत बाहिरका देशहरूमा पनि सञ्चालन गरिएको संस्थाका सचिव पोख्रेलले बताए । दिन दुखी असाहाय र असक्तहरूलाई सहयोग गर्नको निम्ती यो पुराण गरिएको माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले बताइन् । 

सडकमा बेवारिसे अवस्थामा रहेका मानिसहरूलाई उठाएर नयाँ जीवन प्रदान गरेको भन्दै सत्संग टोलीले माया घरको बेग्लै भजन बनाएर गितमार्फत प्रस्तुत गरेका थिए । दुई दिनसम्म चलेको पुराणमा एक हजार भन्दा बढी भक्तजनहरूको उपस्थिति रहेको थियो भने संकलित रकम तथा सामग्रीहरू सबै माया घरलाई नै जिम्मा लगाइएको पुराण आयोजकले जनाएको छ । 

माया घरले गरेको प्रशंसनीय कामको चर्चा विश्वभर पुर्‍याउने प्रसंग र यहाँ आश्रीत लिएकाहरूलाई थोरै भएपनि केही सहयोग जुटोस् भन्ने भावनाका साथ दुई दिने राधाकृष्ण सत्संग भजन तथा शिव पुराणको आयोजनासँगै समापन पनि गरिएको सत्संग टोलीले जनाएको छ । सो पुराणबाट  काम गर्ने थप प्रेरणा उत्प्रेरित भएको माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले बताइन् । 

पुराणमा कोशी प्रदेशकी सांसद मिना कुमारी श्रेष्ठ, विराटनगर महानगरका प्रमुख भिम पराजुली, इटहरी उपमहानगरकी उपप्रमुख संगीता चौधरी लगायतले शुभकामना मन्तब्य राखेका थिए । दाताहरूकै सहयोगबाट सञ्चालित माया घरमा हाल १४६ जनाले आश्रय लिइरहेका छन् । जसमा ज्येष्ठ नागरिक ९३, बालबालिका १४, अपाङ्ग १३ र युवा २६ जना रहेका छन् । 

ADV

सम्बन्धित खबर

Advertise