काठमाडौं : विदेशीले हाइहाइ गर्दै सम्मान गर्दा हामी स्वदेशी दंग र गौरव गर्छौं, तर सुन्न, हेर्न र बुझ्न भने झर्को मान्छौं । बढ्दो आधुनिकीकरण र यसमा भुलेका स्वदेशीहरुसँग लोक संस्कृतिको जगेर्ना तथा प्रवर्द्धनको आशा गर्नु सायद एउटा भ्रम मात्र हो ।
प्रमिला रिजाल डेढ दशकदेखि लोक तथा शास्त्रीय नृत्य निर्देशन तथा संस्कृति जर्गर्ना गर्ने कार्यमा निरन्तर लागि परेकी छन् । लोक संस्कृतिलाई स्वदेशी दर्शकहरुले मात्र नभइ राज्यले समेत उपेक्षा गरेको उनको गुनासो छ ।
उनी भन्छिन्, ‘यतिका वर्ष नृत्य गरेता पनि म जस्तो लोक संस्कृतिलाई संरक्षण तथा सम्वर्द्धन गर्ने लोक कलाकारहरुलाई राष्ट्रले चिन्दैन । किनभने हाम्रो समाजमा नक्कल गरेर आधुनिकताका नाममा आफूलाई चिनाउनेहरुको चर्चा सर्वत्र फैलिएको हुन्छ । तर यही लोक नृत्य र कला संस्कृति विदेशमा प्रदर्शन गर्दा सधैं सर्वोकृष्ट हुने गरेको छ ।’
रिजाल राजधानीका विभिन्न सांस्कृतिक संस्थाहरुका साथै विद्यालयहरुमा नेपाली लोक तथा शास्त्रीय नृत्य शिक्षिकाको रुपमा कार्यरत छिन् । रिजाल नेपाली लोकसंस्कृतिलाई प्रत्येक नेपालीको मन मुटुसम्म पुर्याउने अभियानमा जुटेकी छन् । एभरेष्ट नेपाल कल्चरल ग्रुपसंँग आबद्ध रिजालले पूर्वी नेपालको लोकनृत्य तथा कलालाई सुदूरपश्चिम र सुदूरपूर्वको लोककला र नृत्यलाई पूर्व–पश्चिमसम्म पुर्याउने अभियान सञ्चालन गर्दै आएकी छन् ।
२० भन्दा बढी देशमा नेपाली लोक नृत्य र कला प्रस्तुत गरिसकेकी उनी मञ्जुश्री, बज्रयोगिनी, कुमारी, आर्यतारा, पञ्चबुद्घ जस्ता शास्त्रीय नृत्य तथा लोक नृत्यका अलवा सुदूरको देउडा, पूर्वको मारुनी झ्याउरेलगायतका गीत तथा नृत्य प्रस्तुत गर्छिन् ।
लोक संस्कृति तथा कला र नृत्यको संलकन तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याए बापत रिजाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नृत्य अवार्डलगायत स्वदेशी तथा विदेशी संघ संस्थाहरुबाट सम्मानित तथा पुरस्कृत भइसकेकी छन् । साथै उनी विभिन्न म्युजिक भिडियोमा मोडलको भूमिका निर्वाह गरी विभिन्न विधामा पुरुस्कृत पनि भइसकेकी छन् । रिजाल इन्टरनेशनल सोसाइटी फर द पर्फर्मिङ आर्ट्स (आईएसपीए)को सांस्कृतिक सम्मेलनमा सहभागी हुन अमेरिका प्रस्थान गर्न लागेकी छन् ।