काठमाडौं : चीन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी थालेका छन् ।
प्रधानमन्त्री ओलीले १७ देखि २० मंसिरसम्म ४ दिन चीनको भ्रमण गरेका थिए । चीनबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले अब भारत भ्रमण छिट्टै हुने बताएका थिए । ‘भ्रमणको सुरुवात चीनबाट भए पनि छिट्टै भारत भ्रमण हुन्छ’, ओलीले भनेका थिए ।
यस्तै, झापाको दमकमा भ्यु टावरको उद्घाटन गर्दै पनि उनले भनेका थिए, ‘केही समयमा भारत भ्रमण हुन्छ ।’ प्रधानमन्त्रीको उक्त भनाइले उनी छिट्टै भारत भ्रमणमा जाने संकेत गरेको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी सुरु भएको छ । ‘अंग्रेजी नयाँ वर्ष २०२५ को जनवरी पहिलो वा दोस्रो हप्तातिर प्रधानमन्त्रीका भारत भ्रमण हुने सम्भावना छ’, मन्त्रालयका एक उच्च अधिकारीले भने ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत जाने भएकी छन् । हाल युरोपमा रहेकी परराष्ट्रमन्त्री देउवा उतैबाट ३ पुसमा सिधै नयाँ दिल्ली जाने तय भएको छ ।
मन्त्री राणा त्यतैबाट दिल्ली पुग्ने र ५ पुसमा दिल्लीमा आयोजना हुने इन्डो–नेपाल इकोनोमिक कन्फरेन्समा सहभागी हुने छन् । दिल्लीमा रहँदा मन्त्री राणाले विदेशमन्त्री एस. जयशंकरलगायतसँग उच्चस्तरीय भेटघाट पनि गर्ने छन् । मन्त्री राणाको भेटघाटलाई प्रधानमन्त्री ओलीको भ्रमणकै तयारीकै रूपमा लिइएको छ ।
अहिलेसम्म ठोस आधार तय नभइसके पनि नेपालले २५ पुस अर्थात् ९ जनवरीमा प्रधानमन्त्रीको भारत भ्रमण गर्ने मिति प्रस्ताव गरेको छ । यद्यपि, भ्रमणको मिति द्विपक्षीय कूटनीतिक माध्यमबाट तय हुने परराष्ट्रका अधिकारीले बताए ।
प्रधनमन्त्री ओलीका सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । ‘भारत जाने कुरा छ । तर, कहिले जाने र एजेन्डा के हुने भन्ने मलाई जानकारी छैन’, उनले भने ।
‘प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक तयारी सुरु भइसकेको छ, त्यसकै लागि परराष्ट्रमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ’, परराष्ट्रका एक अधिकारीले भने । उनका अनुसार नयाँ दिल्लीमा भारतीय समकक्षीसँग भेटवार्तापछि प्रधानमन्त्रीको भ्रमणको मिति र एजेन्डा तय हुने छ ।
परराष्ट्र मन्त्रालयले नेपालस्थित भारतीय दूतावाससँग समेत समन्वय गरी आन्तरिक तयारी सुरु गरेको छ । भ्रमणकै तयारीका लागि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव दिल्ली पुगेका छन् ।
प्रधानमन्त्रीसँगै चीन भ्रमणबाट फर्केको पर्सिपल्ट अर्थात् २२ मंसिरमा परराष्ट्रमन्त्री राणा नेदरल्यान्ड्स गएकी छन् । राणा युरोपका केही देशको भ्रमण गरेर उतैबाट भारत जाने छन् ।
प्रधानमन्त्री ओलीले यस पटक भारतभन्दा पहिले चीनबाट भ्रमण गरेका छन् । भारतले चासो नदिएपछि प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका थिए । चीन भ्रमणमा बीआरआई फ्रेमवर्क सम्झौतामा २ देशबीच महत्त्वपूर्ण हस्ताक्षर भएको छ ।
दिल्लीले भ्रमणका लागि आमन्त्रण नगरेपछि ओलीको बेइजिङ भ्रमण तय भएको थियो ।
विश्लेषकहरूले प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर नेपाल–भारतबीच अझै तनाव रहेको विश्लेषण गरेका छन् । दिल्लीले ओलीलाई भारत भ्रमणको निम्तो नदिनुले भारतसँगको विगतमा देखिएको तिक्तता समाधान नभएको छनक मिलेको टिप्पणी गरेका छन् ।
चौथो पटक सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले सत्ता सम्हालेको केही दिनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका थिए । ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका थिए । त्यसपछि मोदीलाई निम्तो गर्ने प्रयोजनसहित उनले परराष्ट्रमन्त्री राणालाई दिल्ली पठाएका थिए । तर, भारतले ओलीलाई भ्रमणको निम्तो दिएन ।
दिल्लीमा अभूतपूर्व स्वागत पाएकी राणाले भारतीय प्रधानमन्त्रीले नेपालको निम्तो स्वीकार गरे पनि ओलीलाई आमन्त्रण भने गरेन । त्यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाँदा गत सेप्टेम्बरमा ओली–मोदी भेट भएको थियो । सो भेटघाट पनि अन्तिम क्षणमा तय भएको थियो ।