२०८१ पुष २१ गते आइतवार / Jan 05 , 2025 , Sunday
२०८१ पुष २१ गते आइतवार
Ads

पोखरामा ‘अर्हत्’माथि चर्चा

ADV
मध्यान्ह
२०८१ मंसिर ३० गते १२:३०
पोखरामा ‘अर्हत्’माथि चर्चा

पोखरा : उपन्यासकार शैलेन्द्र अधिकारीको उपन्यास ‘अर्हत्’ माथि शनिबार पोखरामा चर्चा गरिएको छ । र्‍यान्डम रिडर्स सोसाइटीले आफ्नो नियमित कार्यक्रमको १११औं शृंखलामा 'अर्हत्'माथि परिचर्चा गरेको हो ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार दीपक सापकोटाले यो उपन्यास बुद्धको जीवनको गोरेटो पछ्याएर लेखिएको बताए ।

बुद्धलाई भगवान् भन्न सजिलो भएको तर उनलाई हामीले साँच्चै अँगालेका छौँ ? चिनेका छौँ ? भन्ने टड्कारो प्रश्न सबैलाई किताबले छाडेको उनको भनाइ थियो ।

बुद्ध र बुद्धहरूको कथाका रूपमा कृति आएको भन्दै सापकोटाले प्रत्येक पृष्ठमा अनोमा नदी झैँ प्रेमपूर्वक बुद्ध बगिरहेका धारणा राखे । उनले भने, 'अधिकारीको उपन्यास ‘अर्हत्’ ले बुद्धको जीवनीलाई प्राञ्जल भाषामा आख्यानीकृत गरेको छ, जसले अढाइ हजार वर्षअघिको समाज–समयसँग साक्षात्कार गराउँछ ।'

उपन्यासले सिद्धार्थ गौतम कसरी ‘गौतम बुद्ध’ बने भन्ने कथा भनेको स्पष्ट पार्दै साहित्यकारसमेत रहेका सापकोटाले बुद्ध, तत्कालीन समय, बुद्धगाथा, धर्मोपदेश, सामाजिक र राजनीतिक अवस्था, जीवन, कपिलवस्तु राज्यको उत्थान र पतन नै ‘अर्हत्’को विषय भएको बताए । बुद्धले आफैं गृहत्याग गरेका हुन् वा राजनीतिक कारणले घर छाड्नुपरेको हो भन्ने कुरालाई किताबले विमर्शको बाटो छाडिदिएको उनको भनाइ थियो ।

उपन्यासकार अधिकारीले आफूले बुद्ध दर्शन अध्ययनका क्रममा गुरुग्रन्थहरूबाट प्राप्त ज्ञानलाई उपन्यासमा समेटेको भनाइ राखे । पाठकले उठाएका प्रश्नको जबाफ दिँदै अधिकारीले आफूले दर्शनको वकालत नगरी बुद्धको वास्तविक जीवनी पाठकमैत्री आख्यानका रूपमा प्रस्तुत गरेको स्पष्टीकरण दिए ।

ऐतिहासिक विषयवस्तुका रूपमा बुद्धको जीवनका अनेकौं पाटालाई उपन्यासमा प्रस्तुत गरेको उनको दाबी थियो । पाली भाषा निकट भएर लेखिएका सन्दर्भ र करिब २५ सय वर्ष पहिलेको कथा उपन्यासमा भएकाले केही हदसम्म भाषा क्लिष्ट भएको हुन सक्ने उनको स्वीकारोक्ति थियो ।

साहित्यकार सरुभक्तले बुद्ध नेपालमा जन्मिएको भन्न पाउनु गौरवको कुरा भए पनि ‘बुद्ध वाज बोर्न इन नेपाल’ मात्र भनेर नपुग्ने बताए । बुद्धत्व स्थापनाका लागि बुद्ध दर्शनसम्बन्धी गतिविधि र सम्पदा संरक्षणका लागि विशेष पहल गर्नुपर्ने सरुभक्तको भनाइ थियो । बुद्धसम्बन्धी कृतिहरूमा फरक फरक मत पाइने गरेको भन्दै उनले हामीले बुद्धलाई मानेका छौं कि छैनौं भन्ने प्रश्नसमेत उठ्ने गरेको प्रसंग सुनाए । भिक्षुहरूले नै कहिले बुद्धलाई ‘भगवान्’ भन्ने र कहिले भगवान् होइनन् मानव नै हुन् भन्ने दोधारे प्रवृत्तिप्रति असन्तुष्टि उनले राखे । बौद्ध दर्शनसम्बन्धी प्राविधिक शब्दहरूको ज्ञानसमेत दिने अर्हत् उपन्यास पठनीय रहेको सरुभक्तको भनाइ थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise