२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

छाला उद्योगविरुद्ध आन्दोलनः प्रशासनकै अगाडि च्यातियो माइन्यूट

draupadi film
तेज बन
२०८१ पुष २ गते १९:५०
छाला उद्योगविरुद्ध आन्दोलनः प्रशासनकै अगाडि च्यातियो माइन्यूट

इटहरी : सुनसरी दुहबी–६ स्थित युनाइटेड टेयारिन प्रा.लि. र एसियन लेदर उद्योगले जनस्वास्थ्य मापदण्ड विपरित सञ्चालन गरेको भन्दै त्यहाँका स्थानीयहरू आन्दोलित भएका छन् । उद्योगबाट निस्कने दुर्गन्धका कारण गाउँ नै छाडनुपर्ने अवस्था आइसकेको बताउँदै स्थानीयहरू पुनःआन्दोलित बनेका हुन् ।

स्थानीयहरूको विरोध र आन्दोलनकै कारण सो उद्योग विगत ६ महिनादेखि बन्द अवस्थामा रहेको छ । उद्योग बन्द हुँदा करोडौं नोक्सान भइसकेकोले मंगलबार सञ्चालक समुह, जनप्रतिनिधि, पत्रकार र स्थानीयहरूको उपस्थितिमा सार्वजनिक सुनुवाइ राखिएको थियो ।

ईलाका प्रहरी कार्यालय दुहबी र ६ नं.वडाका वडाध्यक्ष लगायत पत्रकारहरूको उपस्थितिमा राखिएको सार्वजनिक सुनुवाइमा अधिकांश स्थानीयहरूले उद्योग बन्दको माग गरेका थिए । दुहबी ६ का अक्तर आलमले उद्योगको दुर्गन्ध दिउँसो भन्दा  साँझ र रातको समयमा सहनै नसक्ने गरी गाउँमा फैलिने गरेको, जसको कारण घरमा बस्नै नसकिने अवस्था आइसकेकोले सो उद्योग बन्द गरिनुपर्ने सुझाव दिए । त्यस्तै दुहबी ६ कै मनोज पास्वानले पनि उद्योगबाट निस्किने दुर्गन्धका कारण आफ्नो सन्तानहरू बस्दै गरेको ठाउँ बिक्री गर्न दबाब दिइरहेको र कोही आफन्तहरू पनि आउन छोडेको बताए । 

उद्योगको कारण गाउँमा ज्येष्ठ नागरिकहरूमा श्वास प्रश्वासको बिमारी बढेको बताउँदै उनले पनि सो उद्योग बन्द हुनुपर्ने अडान राखे । त्यस्तै स्थानीय मुचन शर्माले सुरूमा दाल फ्याक्ट्री खोल्ने भनेपनि छाला उद्योग सञ्चालन गरेको र सोही बेला देखिनै उद्योग बन्दको माग गर्दै पटक–पटक आन्दोलन गर्दा पनि राज्यको कुनै पनि निकायले आफुहरूको गुनासो नसुनेको बताए । उद्योगविरूद्ध सबै निकायमा मौखिक र लिखित दुवै उजुरी दिएपनि अहिलेसम्म कुनै सुनुवाइ नै नभएको दुहबी ६ का कुमारी सदाले बताइन् ।

सार्वजनिक सुनुवाइ चलिरहँदा उद्योग सञ्चालक सादाव अख्तरले स्थानीयहरूले भने जस्तो दुर्गन्ध र प्रदूषण नफैलिएको दाबी गरे । आसपासका स्थानीयहरूलाई उद्योगले कुनै पनि प्रकारको हानी नोक्सानी नगरेको तर वडा भन्दा बाहिर मान्छेहरू आएर यहाँ हुलदंगा मच्चाउने काम गरेको आरोप लगाए । सञ्चालकले आरोप लगाएपछि आक्रोशित स्थानीयहरूले प्रहरी प्रशासन, जनप्रतिनिधि र पत्रकारहरूकै अगाडि माइन्यूट च्यातेर उद्योगविरूद्ध नाराबाजी गरेका थिए । स्थानीयहरूले तीनै तहका सरकार, सम्बन्धित निकायहरूलाई उद्योगको अनुगमन गर्न माग समेत गरेका छन् ।

यता सार्वजनिक सुनुवाइमा उपस्थित दुहबी वडा नं.६ का वडाध्यक्ष घनश्याम हलुवाईले स्थानीयहरू उद्योगविरूद्ध आक्रोशित देखिएकोले यो छलफलबाट निस्कर्ष ननिस्कने र दुवै पक्षलाई नगरपालिकामा बोलाइ व्यापक छलफल गरी विवाद टुंग्याउन सुझाव दिएको बताए ।

यता छाला उद्योगका सञ्चालक सादाव अख्तरले भने विवाद मात्रै झिकेर समस्याको सामधान नहुने,स्थानीयहरू छलफलमा बस्नै नमान्दा समस्या झन् जटिल बनेको बताए । करोडौं लगानी गरेको उद्योग बन्द गर्नेतर्फ आफुहरू नरहेको तर प्रदूषणरहित ढंगबाट सञ्चालन गर्न सकिनेतर्फ अध्ययन गरेर पुनः सञ्चालन गर्ने पाउनुपर्छ भन्ने आफुहरूको माग रहेको बताए ।

ADV

सम्बन्धित खबर

Advertise