काठमाडौं : नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्तराज लम्सालले साना किसानहरु राज्यले पाउने सेवा सुविधाबाट अझै बञ्चित रहेको बताएका छन् । विशेष गरेर लघुवित्त वित्तीय संस्थाहरुसँग आवद्ध भएका साना किसानहरु राज्यबाट पाउने अनुदान लगायतका सुविधाहरुबाट बञ्चित हुने गरेको अध्यक्ष लम्सालले बताए ।
बिहीबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लम्सालले साना किसानहरुलाई राज्यले ध्यान नदिएको गुनासो गरे । लघुवित्तले आधाभन्दा बढी रकम कृषि क्षेत्रमा लगानी गरेको भन्दै त्यसमा कृषकले अनुदान पाउन नसकेको बताए । ठूला किसानले करोडौँ ऋण रकमको ब्याजमा पाँच प्रतिशत अनुदान पाउने गरेको भए पनि लघुवित्तबाट ऋण लिएर कृषिकर्म गर्नेले अनुदान पाउन नसकेको उनको भनाइ थियो ।
त्यसैगरी कृषि बीमाको सरकारले दिने ७५ प्रतिशत अनुदान रकमबाट पनि साना किसान बञ्चित भएको उनले बताए । लम्सालले भने, “लघुवित्तबाट ऋण लिएका कृषकले ब्याजमा सहुलियत र बीमाको भुक्तानीमा पाउनुपर्ने अनुदान पाएका छैनन् ।” नेपालका लघुवित्तहरुले रु ९८ अर्ब ७५ करोड बचत सङ्कलन गरेका छन् । शेयर रकम रु २५ अर्ब हाराहारी रहेको भन्दै लम्सालले बाँकी सबै रकम बैंकहरुबाट महङ्गो ब्याजमा लिएर लगानी गरेको जानकारी दिए ।
लघुवित्तको ब्याजदर बढी हुनु स्वभाविक भएको भन्दै उनले अहिले बैंकबाट १३ प्रतिशतसम्ममा रकम लिएर १८ प्रतिशतमा लगानी गर्नुपर्दा ब्याजदर बढी भएको उनको भनाइ छ । यद्यपि विश्वका अन्य देशको तुलनामा यहाँका लघुवित्तको ब्याजदर कम भएको लम्सालले दाबी गरे । उनले देशका ९० लघुवित्त संस्थाले तीन हजार ८६१ शाखामार्फत रु दुई खर्ब ५६ अर्ब लगानी गरेको जानकारी समेत दिए । उनका अनुसार २८ लाख पाँच हजार ऋणीमार्फत ऋण प्रवाह भएको छ ।
सङ्घका महासचिव रामबहादुर यादवले राष्ट्र बैंकबाट सहुलियतमा लघुवित्त बैंकले रकम पाउन नसकेको भन्दै दुई प्रतिशतमा सरकारी पैसा ल्याएर महङ्गोमा ब्याज लगाउने गरेको हल्ला निराधार भएको बताए । सो अवसरमा कर्जाको दोहोरोपना, कर्जाको गुणस्तरमा ह्रास, कर्जाको स्रोतको अपर्याप्तता, कर्जा कोषको ब्याजदर महङ्गो र अस्थिरजस्ता समस्या लघुवित्तले भोग्नुपरेको महासचिव यादवको भनाइ थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies