२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी

Nada
२०८१ पुष ३ गते १०:२५
Shares
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी

सर्लाही : सर्लाहीको उत्तरी क्षेत्र तरकारी उत्पादनको हिसाबले निकै परिचित ठाउँ हो । यस क्षेत्रमा उत्पादित हरियो तरकारी सर्लाहीसहित देशका मुख्य बजारसम्म पुग्ने गरेको छ । 

ncell

यहाँका किसानले अन्य तरकारीसँगै टमाटर खेतीबाट मनग्य आम्दानी लिने गरेका छन् । त्यसैमध्येका एक हुन्, हरिवन नगरपालिका–४, गणेशचोक निवासी ५९ वर्षका कामिल मिकरानी । उनका अनुसार टमाटर खेतीबाट बर्सेनि रु पाँच लाखसम्म आम्दानी भइरहेको छ । 

कक्षा ८ सम्म औपचारिक शिक्षा लिएका मिकरानीले टमाटर खेती गर्नकै लागि व्यापार छाडेको बताए । “सुरुमा थोरै मात्र तरकारी र त्यसमा पनि टमाटर लगाउने गरेको थिए”, उनले भने, “धेरै समय कपडा व्यापारमा बिताएपछि कृषिकर्ममा लागेको हुँ ।”

मिकरानीले अहिले दुई बिघामा टमाटर खेती गरिरहेका छन् । एक बिगामा चिउरी र एक बिगामा कविता जातको टमाटर रोपेको उनले बताए । कात्तिकमा रोपेको टमाटर पुस अन्तिम तिर टिप्न मिल्ने हुन्छ । “पहिला अरुको खेत भाडामा लिएर चार बिघासम्म टमाटर खेती गर्ने गरेको थिए”, उनले भने, “उमेर ढल्कियो छोराछोरी खेतमा काम गर्न मान्दैनन् । आफैँले दुई बिघा लगाएको छु । छ महिनामा रु पाँच लाखको टमाटर आरामले बेच्छु ।” 

राम्रो भाउ आउने समयमा उत्पादन गर्न सक्दा टमाटरबाट पैसा हुने उनी बताउछन् । अन्य समयमा बालीको स्याहार राम्रो हुँदा उत्पादन बढ्ने भएकाले आम्दानी खासै नराम्रो नहुने उनको अनुभव छ । “किसानले उत्पादनको मूल्य राम्रो पाए हुन्थ्यो भन्नु सामान्य हो”,  मिकरानीले भने, “मैले खेती सुरु गरेको ३९ वर्ष भयो, खेरै गएर डुब्यो भन्नुपरेको छैन ।” 

उनले प्रतिक्यारेट रु तीन सयदेखि रु एक हजार दुई सयसम्म टमाटर बिक्री गर्दै आएका छन् । टमाटर एक वर्षमा छ महिना मात्र खेती हुने गरेकाले अन्य समय धान तथा मकै खेती गर्ने गरेको उनले जानकारी दिए । यसरी गरिने फरक–फरक खेतीले बाली चक्र पूरा हुने र खेत राम्रो हुने उनको भनाइ छ । 

“पहिलो तीन महिना खुब स्याहार गरे पछिको तीन महिना मज्जाले बाली टिप्न पाइन्छ”, मिकरानीले भने, “कहिले व्यापारी खेतमै आँउछन् । कहिले बजारसम्म लैजाने गरेको छु ।” टमाटर खेतीबाटै थोरै खेती समेत जोडेको उनले सुनाए । 

किसान लालबन्दी नगरपालिका–१, नवलपुरका दिनेश बैठाले टमाटर खेतीबाट मनग्य आम्दानी गरेको बताए । अहिले किसाने टमाटर रु एक हजार आठ सय क्यारेटसम्म बेच्न पाएको र  उत्पादन समयको  किसानले ख्याल गर्नुपर्ने उनको भनाइ छ । 

खेती गरेर आम्दानी हुँदैन भन्ने धारण आमसमाजमा व्याप्त भएका कारण नयाँ पुस्ता खेती किसानीमा आउन नचाहेको उनको बुझाइ छ । प्राविधिक ज्ञान लिएर खेती गर्ने हो भने, टमाटर मात्र नभइ मौसमअनुसार जुनसुकै हरियो तरकारी उत्पादनबाट राम्रो आम्दानी लिन सकिने उनले दाबी गरे। 

तीन वर्ष वैदेशिक रोजगारीको क्रममा दुबई बसेर र्आका बैठाले टमाटर खेतीबाट घरमै परिवारसँग बसेर रु चार लाखदेखि पाँच लाखसम्म वर्षमा आम्दानी गर्ने गरेको बताए । उनले आफ्नो एक बिघा र हुण्डामा लिएको १० कठ्ठा खेतमा कविता जातको टमाटर लगाएका छन् । 

सुरक्षित भण्डारणको समस्या
उत्पादन भएको तरकारी सुरक्षितसँग भण्डारण गर्ने व्यवस्था नहुँदा भने, किसान मारमा परेको उनीहरूको भनाइ छ । राख्ने ठाउँ नहुँदा व्यापारीको मूल्यमा सामान छाड्नुपर्ने बाध्यता रहेको मङ्गलबार लालबन्दीस्थित कृषि थोक बजारमा टमाटर बिक्रीका लागि आएकी रिता मगरले गुनासो गरिन् । 

“आज मूल्य नभए राखेर भोलि बेच्छु, भन्ने अवस्था छैन, बिग्री हाल्छ”, उनले भनिन् । सर्लाहीको बागमती, हरिवन, लालबन्दी, ईश्वरपुर, हरिपुर, चन्द्रनगर, बरहथवालगायत पालिकामा उत्पादन भएका हरियो तरकारी देशका मुख्य बजारसम्म पुग्ने गरेको कृषि थोक बजारका व्यापारी वीरेन्द्र महतोले बताए । 

ताजा खबर

सम्बन्धित खबर