२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

चितवनमा ‘द पोस्टकार्ड अन द राप्ती रिभर’ सञ्चालनमा आउने

Nada
२०८३ कार्तिक १८ गते २०:१०
Shares
चितवनमा ‘द पोस्टकार्ड अन द राप्ती रिभर’ सञ्चालनमा आउने

काठमाडौं : द पोस्टकार्ड होटलले नोभेम्बर २०२६ मा ‘द पोस्टकार्ड अन द राप्ती रिभर’, चितवन सञ्चालनमा ल्याउँदै नेपालमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । राप्ती नदीको सुन्दर घुम्तीमा अवस्थित यस होटलबाट वरपरका जंगल र पहाडहरूको सुन्दर दृश्य देख्न सकिन्छ । २२ वटा फराकिला कोठा तथा स्विट रहेको यो लक्जरी रिसोर्ट चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको छ । दक्षिण एसियाकै महत्त्वपूर्ण वाइल्डलाइफ गन्तव्यमध्ये एक मानिने चितवनमा होटल सञ्चालनसँगै द पोस्टकार्ड होटल भारत, भुटान र श्रीलंकापछि चौथो देशका रूपमा नेपाल प्रवेश गर्नेछ ।

सन् १९८४ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जले नेपालको तराई क्षेत्रका बाँकी रहेका महत्त्वपूर्ण प्राकृतिक पारिस्थितिक प्रणालीमध्ये एकको संरक्षण गर्दै आएको छ । द पोस्टकार्ड अन द राप्ती रिभर यस अनुपम प्राकृतिक वातावरणलाई पाहुनाको बसाइको अभिन्न हिस्सा बनाउने उद्देश्यले तयार गरिएको कम्पनीले जनाएको छ । द पोस्टकार्ड होटलका फाउन्डर तथा प्रमुख कार्यकारी अधिकृत कपिल चोपडाले भने, ‘विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यहरू चल्तीका ट्राभल म्यापभन्दा बाहिरका ठाउँहरूमा भेटिन्छन् भन्ने हामीले विश्वास गर्दै आएका छौं । हाम्रो उद्देश्य त्यस्ता गन्तव्यको मौलिक पहिचानलाई कायम राख्दै, तिनको विशेषता झल्काउने होटलमार्फत ती ठाउँलाई विश्वसामु चिनाउनु हो ।’

द पोस्टकार्ड अन द राप्ती रिभरकी फाउन्डर सवाना वैद्य बस्न्यातले भनिन्, ‘नेपालको नाम सुन्नासाथ धेरै मानिसले यहाँका हिमाल सम्झन्छन् । तर नेपालको तराईमा पनि जंगल, नदी, वन्यजन्तु र यहाँका मानिसको आफ्नै छुट्टै र अनुपम संसार छ ।’ चितवन त्यसैको सबैभन्दा अमूल्य हिस्सामध्ये एक भएको र यसको सुन्दरता विश्वसामु चिनाउन पाउनु आफ्ना लागि निकै महत्त्वपूर्ण रहेको उनले बताइन् । ‘मेरा बुबा सुरज र मैले द पोस्टकार्ड अन द राप्ती रिभरलाई साकार रूप दिन बर्सौंदेखि मिहिनेत गर्दै आएका छौं ।’

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर