२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको संख्या बढ्दो

Nada
२०८१ पुष ३ गते १०:३२
Shares
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको संख्या बढ्दो

सिरहा : यहाँ चालु आर्थिक वर्षको प्रथम चौमासिकमा दुई सय ५५ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । यसमा चार सय ५७ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

ncell

यो तथ्याङ्क गत आर्थिक वर्षको प्रथम चौमासिकको भन्दा दुर्घटनामा कम भएको देखिन्छ । तर, मृत्यु हुनेको संख्या बढेको छ । गत आवको प्रथम चौमासिकमा १५ जनाको ज्यान गएको थियो । ट्राफिक प्रहरीका अनुसार गत आवमा जिल्लामा नौ सय ९७ सवारी दुर्घटना भयो । यसमा ६८ जनाले ज्यान गुमाएका थिए । एक हजार पाँच सय ७९ जना घाइते भएका थिए । दुर्घटनामा कमी ल्याउन साथै मृत्युदरमा कम गराउन जनचेतना कार्यक्रमलाई तीव्रता दिए तापनि मृत्यु हुनेको दरमा भने वृद्धि भएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक पोषणराज थपलियाले बताए ।

“दुर्घटनाको अनुसन्धान गर्दा जिल्लामा भएका अधिकांश सवारी दुर्घटनामा चालककै बढी गल्तीका कारण हुने गरेको देखिन्छ । यसका कारण वार्षिक धेरै मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ”, प्रहरी निरीक्षक थपलियाले भने। उनका अनुसार मापसे र लापसे गरी सवारी चलाउँदा, सवारीलाई उछिन्न खोज्ने, यान्त्रिक गडबडी, तीव्र गतिमा सवारी चलाउँदा, सडक चौपाया, क्षमताभन्दा बढी यात्रु बोकेर सवारी चलाउँदा, ट्राफिक नियम उल्लङ्घन, बढ्दो मात्राका अव्यवस्थित सिटी रिक्सालगायत कारण दुर्घटना हुने र दुर्घटनाबाट मानिसको मृत्यु हुने गरेको बताए ।

सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले मात्र सम्भव नहुने जनाउँदै प्रहरी निरीक्षक थपलियाले सरोकारवाला सम्पूर्ण निकायले सार्थक पहलकदमी लिनुपर्नेमा जोड दिए । -रासस 

ताजा खबर

सम्बन्धित खबर