कपिलवस्तु : गोरखा जिल्लामा न्यून वर्गीय परिवारमा जन्मिएका केसर विश्वकर्मा सानै देखि सामाजिक सेवामा रुची भएका एक सरल स्वभाव र मिलनसार व्यक्ति हुन् । करिब एक दशकदेखि मानव बेचबिखनविरद्धको अभियानमा आवद्ध विश्वकर्मा आफन्त नेपाल नामक गैर सरकारी संस्थाका कपिलवस्तु जिल्ला संयोजक हुन् । मानव बेचबिखनको भयावह अवस्था र यसको नियन्त्रणका विषयमा मध्यान्ह संवाददाता इमरान खानले संयोजक विश्वकर्मासँग गरेको कुराकानीको सम्पादित अंश -
मानव बेचबिखन भन्नाले के बुझिन्छ ?
मानव बेचबिखन भन्नाले कुनै पनि व्यक्तिले मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा बेचबिखनको उद्देश्यका साथ लगि बेचबिखन गर्नुलाई मानब बेचबिखन भनिन्छ । चाहे यो आन्तरिक पनि हुन सक्छ , बाह्य पनि हुन सक्छ । चाहे त्यो श्रम शोषण हुन सक्छ, यौन शोषण शरिर बन्दक वा कुनै अङ्ग बेचबिखनको उद्देश्य नै किन नहोस ।
मानव बेचबिखन विरुद्धको अभियानमा लामो समय आवद्ध हुनुभयो । पहिले र अहिलेमा के फरक पाउनु भएको छ ?
सुरुमा महिला मात्र बेचबिखनमा पर्छन् भन्ने मात्रा थियो जसमा चेलिबेटि बेचबिखन भनिन्थ्यो पछि यो बिस्तारै पुरुषहरुलाई पनि विभिन्न प्रयोजनका लागि बेचबिखन भएका तथ्यहरु बाहिरियो र मानव बेचबिखन भएको पाइन्छ । सुरुमा मैले बुझ्दा भारतको विशेष बम्बईमा महिलालाई लगेर बेचबिखन गर्नु हो भन्ने बुझाई थियो । तर त्यसमा धेरै फरक रहेको छ अहिलेको सन्दर्भमा देश भित्रैका शहरहरुमा किन नहोस् वा भारतका विभिन्न शहर लगायत तेस्रो मुलुकमा समेत बेचबिखनमा परेका कयौं घटनाहरु बाहिर आएका छन् । यो अत्यन्त दु:खद कुरा हो ।
कस्ता खालका ब्यक्तिहरु बढी बेचबिखन पर्दछन् वा सम्भावना हुन्छ ?
मेरो ८ वर्षको यात्राामा मैले देखेको र साधारण बुझ्दापनि प्राय शिक्षाबाट बन्चित ब्याक्तिहरु जो जोखिमको विषयमा जान्न सक्दैनन, बेरोजगारको चपेटामा परेकाहरु जहाँ रोजगार पाउने आशामा भौतारिदै गर्दा गलत ब्याक्तिहरुको पहुँचमा पुग्दछन् । कयौं ब्याक्तिहरु साहारा पाउने आशामा विश्वासका कारण त्यो अवस्थामा पुग्दछन् । सामान्य बुझ्दा चेतनाको कमी, अशिक्षा, गरिबी, सामाजिक अपहेलना भएका पर्दछन् भने कयौं शिक्षित ब्यक्तिहरु पनि यसबाट अछुतो रहेका छैनन् ।
तपाईंले काम गर्दै गर्दा उद्धार गरिएका त्यस्ता उदाहरण दिनु पर्दा ?
मैले काम गर्दै गर्दा सयौं चेलीहरु जो बेचबिखनको जोखिमबाट उद्धार गरिएको छ । जसमा कसलाई उदाहरण दिउँ भन्ने म आफैं कन्फ्युज भएको छु । धेरै उद्धार गरिएका चेलीहरु जो आज आफन्त नेपालले सम्मानजनक जीवन जिउन सक्ने बनाएको छ । कयौं चेलीहरु जो साहारा विहीन थिए, बेचबिखनको सिकारमा थिए उनीहरुको जीवनमा आमुल परिवर्तन आएको छ । यहाँलाई भन्नु पर्दा म विराटनगरमा रहँदा, झापामा रहँदा त्यस्ता चेलीहरुलाई उद्धार गरिएको थियो जसको अवस्था देख्दा र सुन्दा म धेरै पटक रोएको छु । १४ / १५ वर्षका साना किशोरीहरु बेचबिखनको कहाली लाग्दो पारीबेशबाट उद्धार गरी अहिले आफन्त नेपालको संरक्षणमा रही खुशी र समाजलाई नै सचेत बनाउन सक्ने भएको देख्दा गर्व लाग्छ । यहीँ कपिलवस्तुमा रहँदै गर्दा दाङ, प्युठान, कपिलवस्तु लगायतका धेरै चेलीहरुलाई उद्धार गरी दर्जनौं त्यस्ता ब्याक्तिहरुलाई कानुनी कठघरामा ल्याउन सफल भएका छौं । कयौं चेलीलाई संस्थाले नै संरक्षण दिई उच्च शिक्षा दिइएको छ । ती चेलीहरु देख्दा धेरै ठुलो काम गरेको अनुभव हुन्छ । तर अझै गर्नु पर्ने धेरै छ ।
यस्तो काम गर्दा कत्तिको जोखिम आउन सक्छ ?
जोखिमको त कुरा नगरौं । यो आफैंमा सम्बेदनशिल कार्य हो । खुशी के लाग्छ भने सत्यको बाटो हिँड्दा कमजोर होइँदैन र राम्रो कामको लागि सबैको साथ सहयोग पाइन्छ ।
स्थानीय प्रशासन तथा स्थानीय सरकारको सहयोग कस्तो पाउनुभएको छ ?
वास्तवमा यो काम राज्यकै लागि गरिएको अभियान भएको कारण स्थानीय प्रशासनले सहयोग नगर्ने कुरै छैन, राम्रो सहयोग छ । स्थानीय सरकारले कृष्णनगरको हैसियतमा हेर्दा अत्यन्त राम्रो गरेको छ । सुरुदेखि महिला तथा बालबालिकाको क्षेत्रमा कृष्णनगर नगरपालिकाको सराहनीय भूमिका रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies