राजेश्वरी कार्की/मध्यान्ह
काठमाडौं : चालु आर्थिक वर्ष (आव) मा मानव बेचबिखनसँग सम्बन्धित मुद्दा दर्तामा कमी आएको छ । गत आर्थिक वर्ष ०७५÷७६ को ६ महिनाको तुलनामा मानव बेचबिखनसँग सम्बन्धित मुद्दा कम परेका हुन् । मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार, गत आवको ६ महिनामा ३ सय ५ मानव बेचबिखनका मुद्दा दर्ता भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा २ सय ५८ वटामात्रै दर्ता भएका छन् ।
ब्युरोको तथ्यांक अनुसार, गत आवको ६ महिनामा प्रदेश नं मा मानव बेचबिखनका ५१ मुद्दा दर्ता भएकोमा चालु आवमा ५१ मुद्दा मात्रै दर्ता भएका छन् । प्रदेश २ मा गत आवको ६ महिनामा २३ मुद्दा दर्ता भएको थियो । तर, चालु आवमा १९ वटा मुद्दा दर्ता भएको विभागले जनाएको छ ।
प्रदेश ३ मा पनि मानव बेचबिखनका मुद्दा कम परेका छन् । अघिल्लो आर्थिक वर्षको ६ महिनामा प्रदेश ३ मा २१ मुद्दा दर्ता भएकोमा चालु आवको सोही अवधिमा २२ वटा दर्ता भएका छन् । प्रदेश ४ मा भने मानव बेचबिखनका मुद्दा अघिल्लो वर्षको तुलनामा बढी परेका छन् । अघिल्लो आर्थिक वर्षको ६ महिनामा ६ मुद्दा दर्ता भएकामा यस वर्षको सोही अवधिमा भने ७ वटा मुद्दा परेका छन् ।
त्यस्तै ६ महिनाको अवधिमा प्रदेश नं ५ मा भने मानव बेचविखनाको मुद्दा दर्तामा कमी आएको देखिन्छ । गत आवको ६ महिनामा ९१ मुद्दा दर्ता भएकोमा चालु आवको सोही अवधिमा भने ४८ मात्रै परेको छ । प्रदेश ६ मा गत आवमा मानव बेचबिखनका ६ वटा उजुरी दर्ता भएका थिए । चालु आवमा भने यो संख्यामा थोरै वृद्धि भएर ८ पुगेको छ । मानव बेचबिखनका ३६ वटा घटना प्रदेश ७ मा दर्ता भएका छन् । यो अघिल्लो आर्थिक वर्षको ६ महिनामा परेको मुद्दाभन्दा १० वटाले बढी हो ।
त्यस्तै, उपत्यकामा गत आवमा ३९ वटा मुद्दा दर्ता भएको थियो भने चालु आवमा यो सङख्या १४ ले वृद्धि भई ५३ मा पुगेको व्युरोको तथ्यांकमा उल्लेख छ । मानव बेचबिखन अपराध व्युरोमा गत आवमा ४२ वटा मुद्दा दर्ता भएकोमा चालु आवको ६ महिनामा १४ वटा घटना आइपुगेका छन् ।
मानव बेचबिखनको मुद्दा दर्ताको प्रादेशिक अवस्था हेर्दा प्रदेश ४ र ६ मा सबै भन्दा कम मुद्दा दर्ता भएको छ । अघिल्लो वर्षको तुलनामा देश ७ मा यससँग सम्बन्धित बढी मुद्दा दर्ता भएका छन् । त्यस्तै उपत्यकामा पनि मानव बेचबिखनका मुद्दा दर्तामा वृद्धि भएको ब्युरोको तथ्यांकमा उल्लेख छ ।
मुलुकमा दर्ता भएका मानव बेचबिखन अपराधको मुद्दा दर्तामध्ये सबैभन्दा बढी संख्या प्रदेश नं ७ मा रहेको छ । तथ्यांक अनुसार, सबै भन्दा न्यून संख्यामा प्रदेश नं ४ र ६ मुद्दा दर्ता भएका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका तथ्यांक अनुसार गत आवको ६ महिनामा १ सय १९ पुरुष बेचिएका थिए भने चालु आवमा ७१ जना पुरुष बेचिएको ब्युरोको तथ्यांकमा उल्लेख छ । त्यस्तै महिला गत आवको ६ महिनामा ४ सय २६ महिला बेचिएकामा चालु आवको ६ महिनामा ३ सय १६ महिला बेचिएका छन् ।
त्यस्तै चालु आवमा मानव बेचबिखनमा संलग्नपश्चात फरार हुने पुरुषको सङख्यामा वृद्धि भएको छ । गत आवको ६ महिनामा १ सय ३२ फरार भएका थिए भने चालु आवको ६ महिनामा १ सय ५६ जना फरार भएका छन् ।
महिलातर्फ गत आवमा ४९ जना महिला फरार भएकोमा चालु आवमा ३४ महिला फरार रहेको ब्युरोको तथ्याङमा उल्लेख छ ।मानव बेचबिखन अपराधमा गत आवमा ३ सय ३१ पुरुष पक्राउ परेकोमा चालु आवमा २ सय ४९ जना पुरुष पक्राउ परेको छन् । त्यस्तै गत आवमा १ सय १७ महिला पक्राउ परेकोमा चालु आवमा ८४ जना महिला पक्राउ परेका छन् । त्यस्तै कारण नखुलेको तर्फ ३ जना रहेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक तथा प्रबन्धक गोविन्द्र थपलियाका अनुसार, पछिल्लो समय वैदेशिक रोजगारीको नाममा मानव बेचबिखनका घटना बढेका छन् । त्यसका लागि जो मान्छे विदेश जान चाहेको हो उसले विदेश जानुभन्दा पहिले विचार पुर्याउनुपर्ने र नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेर मात्र विदेश जान आग्रह गरेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले सातै वटा प्रदेशमा चेतनामूलक कार्यक्रम गर्ने र मानव बेचबिखन ऐनलाई सुधार गरी अघि बढ्ने योजना बनाएको छ । त्यस्तै विदेशमा भएका घटनाहरूको खोजी गरी पीडितको उद्धार गर्ने, मानव बेचबिखन ब्युरोलाई ७ वटा प्रदेशमा विस्तार गरी आफ्ना कामहरू अघि बढाउने सोच पनि व्युरोको छ । गरिबी, बेरोजगार,लैंगिक हिंसा, पारिवारिक झैझगडा, आर्थिक अवस्था कमजोरलगायतका कारण मानव बेचबिखन हुने गरेको थपलिया बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies