काठमाडौं : सरकारले गत आर्थिक वर्ष २०७५/७६ मा सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष्य लिएको थियो । घोषित समयमा गुज्रिएर चालु आर्थिक वर्ष २०७६/७७ को पनि ७ महिना सकिएको बेला प्रधानमन्त्रीको गाउँमा बल्ल बैंक शाखा पुगेको छ ।
प्रधानमन्त्रीको जन्म गाउँ तेह्रथुमको आठराई गाउँपालिकामा आइतबारदेखि नेपाल बैंक लिमिटेडको आठराई शाखा सञ्चालनमा आएको छ । जन्मदिन मनाउन जन्मघर पुगेका प्रधानमन्त्री ओलीले आइतबारसो शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ ।
बैंकका तर्फबाट प्रवक्ता प्रकाश अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीले आठराई शाखा उद्घाटन गरेको जानकारी दिए । शाखाको समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल बैंकको १७७औँ शाखाका रुपमा पुनःस्थापित आठराई शाखाले यस भेगमा नै बैंकिङ कारोवारमार्फत आर्थिक विकासमा मद्दत पुर्याउने विश्वास व्यक्त गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्ति अनुसार प्रधानमन्त्री ओलीले बैंकसँग कारोवार गरी आफ्नो आर्थिक उन्नति गर्न सबैलाई आह्वानसमेत गरेका छन् ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले अन्य प्रतिस्पर्धी बैंकको तुलनामा नेपाल बैंकमा कर्जामा कम व्याजदर हुनुका साथै निक्षेपको सुरक्षण र सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध भएकाले बैंकिङ कारोवारमार्फत आफ्नो व्यवसाय विस्तार गर्न र उद्यमी बन्न सबै वर्ग समुदायलाई आग्रह गरे ।
नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले आम नागरिकमा बैंकिङ पहुँच पुर्याउने लक्ष्यअनुरुप देशका विभिन्न स्थानमा विगतमा बन्द भएका शाखाको पुनःस्थापना तथा नयाँ शाखा कार्यालय स्थापना गर्दै बैंकिङ कारोवार गर्दै सबै नेपालीलाई बैंकिङ पहुँच पुर्याउने अभियानमा बैंक रहेको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले व्यावसायिक सभ्याव्यताका आधारमा विभिन्न कर्जा सुविधा तथा निक्षेप योजना ल्याई सबैसँग व्यावसायिक साझेदारीका रुपमा बैंक अगाडि बढेको बताउँदै बजारको मागअनुरुपका नयाँ कार्यक्रमका साथ अत्याधुनिक बैंकिङ सेवा सुविधासहित बैंकले आफ्ना सबैं सेवाग्राहीलाई सन्तुष्टि प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विसं १९९४ कात्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा स्थापना भई अविच्छिन्नरुपमा नेपालमा बैंकिङ सेवा प्रवाह गर्दै आएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८३ वर्षको इतिहास बनाएको छ । बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत शेयर हिस्सा कायम रहेको छ । बैंकले देशका ६३ जिल्लामा रहेका १७७ शाखा, २६ एक्स्टेन्सन काउण्टर तथा ११९ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies