करिब २० वर्षअघि उच्चशिक्षा आर्जनका लागि राजधानी छिरेका पाँचथर नागीका नरेन्द्रप्रसाद ढकालको सुरुआती रुचि भूगोलमा थियो । भूगोल विषयमा उच्चशिक्षा हासिल गरेका ढकाल कालान्तरमा वैदेशिक रोजगार व्यवसायी बन्न पुगे । भनिन्छ, बगिरहेको खोलाले ठुल्ठूला ढुंगा काट्छ । त्यो उसको शक्तिले होइन, निरन्तरताले हो । यो आहान व्यवसायी ढकालको जीवनमा पनि लागू हुन्छ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको अध्यक्षमा आफ्ना अन्य ४ प्रतिष्पर्धीलाई उछिन्दै निर्वाचित भएर व्यवसायी ढकालले त्यही निरन्तर बगी रहने खोलाको क्षमता आफूमा देखाएका छन् । इमास्को नेपालबाट संस्थागत वैदेशिक रोजगार व्यवसायीमा प्रवेश गरेका ढकाल सुनौलो नेपाल हुँदै हाल नौकरी नेपालका सञ्चालक बनेका छन् ।
एसोसिएसनको अध्यक्षमा निर्वाचित भएपछि सबै क्षेत्रका वैदेशिक रोजगार व्यवसायीहरूलाई एउटै मञ्चमा उभ्याएर यस क्षेत्रमा रहेका समस्या समाधान गर्न वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई सहयोग गर्ने उनको प्रतिवद्धता छ । ढकाल एसोशिएसनको अध्यक्षमा निर्वाचित भएको दुई गुज्रिसकेको छ । प्रस्तुत छ, एसोएिनका अध्यक्ष ढकालसँग मध्यान्ह प्रतिनिधि रेशमराज पौडेलले गरेको कुराकानीको सम्पादित अंश ।
वैदेशिक रोजगार व्यवसायीहरूलाई एउटै मञ्चमा उभ्याएर वैदेशिक रोजगारका क्षेत्रमा रहेका समस्या समाधान गर्न वैदेशिक रोजगार व्यवसायी संघलाई सहयोग गर्ने तपाईंको प्रतिबद्धता थियो । दुई हप्ताको अवधिमा के–के काम भए ?
म नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रूपमा रहेको यस नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको अध्यक्षमा निर्वाचित भएको दुई हप्ता भयो । वैदेशिक रोजगार क्षेत्रका समस्याहरूको समाधानको पहल गर्ने त व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नै हो ।
यो दुई हप्ताको अवधिमा एशोसिएसनले नेपाली काँग्रेसका सभापति तथा प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री डा. प्रकाशशरण महत, नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभामा विपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँड, केन्द्रीय सदस्य शेखर कोइराला केन्द्रीय सदस्य पूर्वमन्त्री गगन थापा, छाया सरकारकी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डा. डिला संग्रौला, वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाललगायत वैदेशिक रोजगार क्षेत्रमा चासो राख्ने विभिन्न व्यक्तित्वहरूलाई भेट्यो । भेटमा हामीले शुभकाामना मात्र लिएका छैनौं ।
वैदेशिक रोजगारक्षेत्रको मुलुकको अर्थतन्त्रमा रहेको योगदान र यस क्षेत्रमा समाधान हुन नसकिरहेका समस्याहरूको बारेमा उहाँहरूको गम्भीर रूपमा ध्यानकर्षण गराएका छन् । समस्याबारे देशका नेताहरूलाई जानकारी गराउने विषयमा विगत दुई हप्ता महत्वपूर्ण रह्यो ।
के–के समस्या राख्नु भयो ? तपाईंहरूको भेटघाटले वर्षौंदेखि समाधान हुन नसकिरहेका समस्याले समाधान पाउलान् त ?
वैदेशिक रोजगारका क्षेत्रमा समस्या रहेका छन् भनेर सबैले स्वीकारेको विषय हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुधारका लागि विभिन्न पहल गरेको बताएको छ । ऐन कानून संशोधनका क्रममा रहेको बताइएको छ । तर सरकारले ती विषयमा हामी व्यवसायी र नेपाल वैदेशिक रोजगार व्यवसायी संघजस्ता सरोकारवाला निकायहरूसँग प्रर्याप्त छलफल गर्न चाहिरहेको छैन । सरोकारवाला निकायहरूसँग छलफल गरी उनीहरूलाई विश्वासमा लिएर काम नगरेसम्म समस्या समाधान हुँदैनन् ।
करोडौं लगानी गरेका हामी व्यवसायी सुधारका हिमायती नै हौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नक्कली मागपत्रका कारण हुने ठगी न्यून गर्ने र वैदेशिक रोजगारीलाई पारदर्शी बनाउने भन्दै वैदेशिक रोजगार मागपत्र प्रमाणीकरण सुरु गरेको हो । तर हाल परिणाम के भइरहेको छ ? सोही निर्देशिका कारण नेपाली कूटनीतिक नियोगमा अनुचित चलखेल देखिएको व्यवसायीहरूको गुनासो छ । सरकारले उक्त निर्देशिका जारी गर्दा कूटनीतिक नियोग र विदेशस्थित रोजगारदाताबीच सम्पर्क सुदृढ हुने बताएको थियो । तर कर्मचारीले थपेका अनावश्यक झन्झटले रोजगारदाता आजित भएका छन् । त्यसैले वैदेशिक रोजगारीमा जाने कामदार र नेपाल आउने रेमिट्यान्सलाई नै असर गरिरहेको छ ।
यस्ता विषयमा मन्त्रालय र राजनीतिक दलहरू पनि गम्भीर हुनु पर्छ भन्ने हाम्रो भनाइ हो । सरोकारवालाहरूलाई पन्छाएर कुनै पनि नयाँ कदम अगाडि बिढाइनु हुँदैन । खाडीका केही कूटनीतिक नियोगहरूले आफूखुसी तलब तोकेका कारण त्यसको कार्यान्वयनमा समस्या छ । तर दोष व्यवसायीहरूलाई मात्र लगाउने गरिएको छ । सरकार र केही गैर सरकारी संस्थाले वैदेशिक रोजगारका विषयमा हामी निजी क्षेत्रका वैदेशिक रोजगार व्यवसायीहरूलाई मात्र दोष देखाउने काम भएको छ । यसलाई परिवर्तन गरी देशमा रोजगारीको अवसर नहुँदासम्म वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नुपर्छ भन्ने भावनाको विकास गरिएमा समस्याको समाधान सहज हुनेछ ।
तपाईंले त वैदेशिक रोजगारको क्षेत्रमा रहेका राजनीतिकदेखि जातीय, भेगीय सबै संघ–सस्थासँग वार्ता गरेर सबैलाई एकै ठाउँमा ल्याउँछु भन्नु भएको थियो । के पहल भयो ?
एसोसिएसनको निर्वाचनपछिका दुई हप्तामा भएका कामबारे मैले बताइसकेँ । मुलुकको वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याले समाधान नपाउनुमा यहाँभित्र रहेको राजनीतिको पनि भूमिका छ भन्ने मेरो बुझाइ छ । गत हप्ता वैदेशिक रोजगार सामाखुशी एकता समितिका साथीहरूसँग सहकार्यका विषयमा छलफल गरेँ ।
आगामी हप्तादेखि सत्तारूढ दलनिकटका व्यवसायी तथा अन्य जातीय तथा भेगीय संघ–संगठनका साथीहरूसँग पनि छलफल गर्छु । सत्तारूढ दलनिकट व्यवसायीहरू र प्रतिपक्षी दलनिकटका व्यवसायीहरू समस्या समाधानका लागि एकै ठाउँमा उभिनुपर्छ भन्ने मेरो आग्रह छ ।
वैदेशिक रोजगारका क्षेत्रमा तत्कालका समस्या के–के देख्नु भएको छ ?
वैदेशिक रोजगार ऐन र नियमावलीमा रहेको वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरणका लागि राखिएको वार्षिक एक सय जना कामदार वैदेशिक रोजगारीमा पठाएको हुनुपर्ने भन्ने व्यवस्थाले सिर्जना गरेको अन्योल हट्नु पर्छ भनेर हामीले गत दुई हप्ता भेटघाट गरेका राजनीतिक दलका नेतादेखि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र वैदेशिक रोजगार विभागका महानिर्देशकज्यूलाई भनेका छौं ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रतिनिधिसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीलाई भेटेर ऐन र नियमावलीको अन्योलता हटाउनुपर्ने माग राखेको छ । कसैलाई पनि अनुचित बन्देज लगाएर पेसा–व्यवसाय गर्ने अधिकारबाट बेदख्खल गर्नु हुँदैन भन्नेमा एसोसिएशन रहेको छ । यो समस्याले तत्काल समाधान पाउनुपर्छ भन्ने अधिकांश व्यवसायीहरूको भनाइ छ ।
अनि दीर्घकालीन समस्या ?
सेवा शुल्कको विषय वैदेशिक रोजगार क्षेत्रको दीर्घकालीन समस्या रूपमा रहेको छ । यो विषय विगत केही वर्षदेखि कायम छ । वैदेशिक रोजगारीमा कामदार पठाउने दक्षिण एसियाको नेपालमात्र होइन, छिमेकी भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकादेखि फिलिपिन्स र भियतनामबाट एकै ठाउँमा कामदार गएका छन् ।
हामी नेपालमा पनि वैदेशिक रोजगारमा कामदार पठाउने व्यवस्था र व्यवसायीहरूले पाउने सेवा शुल्क ती देशसरह हुनुपर्छ भन्ने पक्षमा छौं । संघको वर्तमान नेतृत्वले यो विषय जोडदार रूपमा उठाएको छ । त्यसअघिको संघको नेतृत्वले पनि यो विषय उठाएको थियो । त्यसमा सरकारले ध्यान दिनु पर्छ भन्ने मेरो मान्यता छ । हामी व्यवसायी राज्यलाई कर तिर्न आतुर रहेका छौं । उचित सेवा शुल्क तोक्ने र व्यवसायीहरूलाई कारोबार सञ्चालनमा भएको नाफा अनुसार राज्यलाई कर तिर्न पाउने व्यवस्था गरियोस् भन्ने हाम्रो माग हो ।
तपाईंहरू कामदारका समस्याप्रति ध्यान नै दिनुहुन्न भन्ने गुनासो पनि सुनिन्छ । के भन्नुहुन्छ ?
नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये न्यून कामदारमात्र दक्ष छन् । अरू सबै थ्रीडी भनिने डर्टी, डेन्जरस र डिफिकल्ट काममा जानुपर्ने बाध्यता छ । वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई दक्ष बनाउन सरकारले सीप सिकाउन जरूरी छ । विदेशमा मान्छेका काम यन्त्रले गर्न थालेका छन् ।
सरकारले ठूला–ठूला तालिमकेन्द्र नखोलेसम्म हामी निजी क्षेत्रले दिने सानो अवधिको अभिमुखीकरणले वैदेशिक रोजगारका क्रममा कामदारले झेल्नुपर्ने समस्या समाधान गर्न सक्दैन । कूटनीतिक नियोगहरूलाई कामदारमैत्री बनाउनु प¥यो । देखिएका समस्या समाधान गर्दै आगामी दिनमा कन्स्ट्रक्सन (निर्माण) भन्दा सेवा क्षेत्रमा कामदार पठाउन पहल गर्नुपर्छ भन्ने हाम्रो माग छ ।
एसोसिएसनको गत निर्वाचनमा प्रतिष्पर्धा गरेका तर पराजित भएका साथीहरूलाई फोरममा जिम्मेवारी दिएर अघि बढाउनुपर्ने बाध्यता छ । यसलाई कसरी लिनुभएको छ ?
एसोसिएसनको गत निर्वाचनलाई लोकतन्त्रप्रति आस्थावान साथीहरूले प्रतिष्पर्धा भनेर बुझ्नु हुँदैन । हामी सबैले एसोसिएसनलाई प्रभावकारी नेतृत्व दिनसक्छौं भनेर उम्मेदवार भएको हो । फोरममा जित्ने वा हार्ने कोही भन्दा कसैको योगदान कम छैन ।
यो सामान्य प्रतिष्पर्धा हो । पद एउटै मात्र थियो निर्वाचन भएपछि एउटाले मात्रै जित्ने थियो । अब हामी नेपाली काँग्रेसमा आस्था राख्ने साथीहरू मात्र होइन विगतमा विभिन्न टाउँमा रहेका तर अल्मलिएका व्यवसायीहरूलाई पनि एसोसिएसनको व्यानरभित्र ल्याउन क्रियाशील हुनुपर्छ ।
एसोसिएसन वैदेशिक रोजगार क्षेत्रमा धेरै सदस्य रहेको ठूलो संस्था हो । हामीबीच एकता भयो भने क्रियाशील साथीहरूलाई थुप्रै अवसर आउने छन् । अबको डेढ वर्षपछि फेरि संघको निर्वाचन हुन्छ । पार्टीले पनि समन्वय समिति गठन कार्यअघि बढाइरहेको छ । योग्यता भएका र क्रियाशील साथीहरूले ती स्थानमा पनि भूमिका पाउनुहुने छ । त्यसैले एउटा निर्वाचनको परिणामलाई लिएर कसैले पनि मन खुम्च्याउनु पर्ने अवस्था छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies