काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति तय नहुँदै संस्थापनइतर नेता डा. शेखर कोइरालाले महाधिवेशन केन्द्रित अभियान सुरु गरेका छन् । कोइरालाले सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमबाट महाधिवेशन केन्द्रित अभियान सुरु गर्न लागेका हुन् ।
कोइरालाले शुक्रबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट अभियान सुरु गर्न लागेका उनी निकट नेता गुरुराज घिमिरेले जानकारी दिए ।
धनगढीमा ९ जिल्लाका कार्यकर्तासँग भेटघाट र पार्टीका विभिन्न कार्यक्रममा कोइराला सहभागी हुने कार्यक्रम छ । ‘९ वटै जिल्लाका नेता तथा कार्यकर्ताहरूसँग छुट्टाछुट्टै भेटघाट र छलफल गरी उहाँले अभियानको औपचारिक सुरुवात गर्नुहुने छ’, घिमिरेले मध्यान्हसँग भने ।
यस्तै, शनिबार भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसँग भेटघाट र प्रजातान्त्रिक सेनानी संघको प्रथम प्रदेश अधिवेशनको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ । साथै, त्यहाँ स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया गर्ने पनि तयारी छ ।
कोइरालासँग हृदयराम थानी, प्रा. डा. गोविन्दराज पोखरेलसहितका नेताहरू सहभागी हुने छन् । धनगढीको कार्यक्रम सकेर कोइराला काठमाडौं फर्कने र छिट्टै कर्णाली प्रदेशमा अभियान चलाउने उनको सचिवालयले जनाएको छ ।
विधानतः कांग्रेसको महाधिवेशन २०८२ मंसिरमा हुने छ । लगातार २ कार्यकाल नेतृत्वमा रहिसकेका देउवाले विधानअनुसार अब फेरि सभापतिका लागि प्रतिस्पर्धा गर्न पाउँदैनन् । सोही कारण पार्टीको नेतृत्व कोइराला परिवारमा जान नहुने देउवाको चाहना र त्यसैको लाभ लिँदै नेतृत्व लिने कोइरालाबीच द्वन्द्व चलेको छ ।
पार्टीको १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका कोइरालाका पक्षमा माहोल बनाउन काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय खोलिएको छ ।
महाधिवेशन समयमै गर्न दबाब दिनु र सभापतिमा कोइरालालाई जिताउनेगरी माहोल बनाउनु अभियानको उद्देश्य रहेको घिमिरेले बताए ।
‘कांग्रेस केन्द्रीय समितिको कार्यकाल ४ वर्ष हो । त्यसमा हामी प्रवेश गरिसकेका छौं । अहिले म्याद थपका लागि कुनै विशेष परिस्थिति पनि नभएकाले ४ वर्षे अवधिभित्रै महाधिवेशनका लागि राजनीतिक र सांगठनिक पूर्वाधार तयार गर्नुपर्छ’, उनले भने । तर, महाधिवेशनका लागि केन्द्रीय समिति अग्रसर भएको र पार्टीले पनि पहलकदमी लिएको नदेखिएको उनको भनाइ छ ।
महाधिवशेन अर्को वर्ष हुनेमा कोइराला पक्षलाई आशंका छ । ‘व्यावहारिक तदारुकताबिना महाधिवेशन हुँदैन । विधानको व्यवस्थाअनुसार २०८२ मंसिरमा महाधिवेशन हुनुपर्छ’, उनले भने । सदस्यता वितरणदेखि अन्य गतिविधि कहिलेदेखि सुरु गर्ने भन्ने कार्यतालिका नबनेको उनले बताए । घिमिरेले भने, ‘कुनै तयारी नै नभई कसरी विश्वास गर्न सकिन्छ ? यसका लागि हामीले केन्द्रीय समितिमार्फत दबाब बढाउन लागेका छौं ।’
प्रवक्ता डा. प्रकाशशरण महतले केही नेताहरूलाई नेतृत्वमा छिटो पुग्न महाधिवेशन लागेको टिप्पणी गरे । उनले अहिले महाधिवेशनका लागि समय नै नआएको भन्दै एक वर्ष कार्यकाल थप्न सकिने सुविधा रहेकाले यही मिति र समयमा महाधिवेशन हुने भन्न सकिने अवस्था नरहेको बताए ।
आगामी महाधिवेशनबाट कोइराला र थापा मात्र होइन, पूर्णबहादुर खड्का, विमलेन्द्र नीधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतका नेता पनि सभापति बन्ने आकांक्षामा छन् ।
उनीहरूमध्ये कसैलाई पनि सभापति देउवाले साथ नदिए महाधिवेशनसम्ममा परम्परागत गुट भत्किने र नयाँ निर्माण हुँदै अर्को धुव्रीकरण हुने देखिन्छ ।
गगनबिनै अभियान
कोइरालाले महामन्त्री गगन थापाबिनै अभियान सुरु गर्न लागेका हुन् । २०७८ सालमा भएको १४औं महाधिवेशनमा कोइराला प्यानलबाट उम्मेदवार बन्दै महामन्त्री जितेका थापा पछिल्लो समय कोइरालासँग टाढिएका छन् ।
उनी टाढिएपछि आफूसँग निकट रहेका नेताहरूको साथ कोइरालाले खोजेका छन् ।
सभापतिमा देउवा दोहोरिँदा थापा पहिलो पटक पदाधिकारी बन्न सफल भएका थिए । फरक समूहबाट जितेका हुनाले देउवासँग भन्दा कोइरालासँग थापाको कुरा मिल्थ्यो । त्यही भएर थापाले उनैसँग राजनीतिक निकटता बढाए ।
केही विषयमा कोइराला र थापा मिलेर सभापति देउवालाई दबाबमा राखेका थिए । पार्टीमा देउवाले एकल निर्णय गर्न नसक्ने स्थिति उनीहरूले पैदा गरेका थिए । तर, दुवैको सहकार्य भने लामो समय चल्न सकेन ।
केही महिनायता थापा कोइरालासँग टाढिएका छन् । उनीहरूबीच छलफल र भेटघाट पनि हुन छाडेको छ । यसले कांग्रेसभित्रको राजनीतिक कोर्स फेरिन थालेको नेताहरू बताउँछन् ।
कोइरालाले १५औं महाधिवेशनमा सभापति उठ्ने घोषणा गरिसकेकाले र थापाले पनि आफूलाई आकांक्षी राखेका हुनाले साथ छाडेको हुन सक्ने चर्चा कांग्रेस वृत्तमा चलेको छ ।
थापाले पनि सभापतिमा उठ्ने बताइरहेका छन् । कोइराला समूहमै रहँदा उनलाई सभापति उठ्न सम्भव नरहेको हुँदा उनी कोइरालाबाट टाढिएका हुन् ।
थापाले देउवाको उत्तराधिकारी बन्न पाइन्छ कि भनेर क्याम्प फेरेका आँकलन गरिन्छ ।
थापाले सहकारी प्रकरणमा ठगी गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निरन्तर आवाज उठाइरहे । संसदीय छानबिन समितिबाट लामिछाने दोषी ठहर भए । यस प्रकरणपछि थापाले देउवाको विश्वास आर्जन गर्न सफल भएको नेताहरू बताउँछन् ।
बिदा हुन लागेका सभापतिसँग धेरै विवाद गरेर जानुभन्दा मिलेर र सहकार्य गरेर अघि बढ्नु ठीक हुन्छ भन्ने बुझाइ थापामा आएको हुन सक्ने एकथरि नेताहरूको बुझाइ छ ।
देउवा आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने छैनन् । उनको साथ पाउने व्यक्ति निर्णायक हुने बुझाइ थापाको छ । सोही कारण थापाले सभापति लड्ने आन्तरिक तयारी गरिरहेको उनी निकट नेताहरू बताउँछन् ।